logo
२०८१ बैशाख २४ सोमवार



साहित्यकार आचार्यका चार वटा कृति लोकार्पित

कला |
खुला |


साहित्यकार आचार्यका चार वटा कृति लोकार्पित
तस्विर : सुजन गुरुङ/गोरखापत्र


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १४ गते । लेखक तथा साहित्यकार खिमानन्द आचार्यका विभिन्न विधाका चार वटा कृति शनिबार लोकार्पित भएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगाप्रसाद उप्रेतीले यहाँ आयोजित कार्यक्रममा सो कृतिको लोकार्पण गर्नुभयो ।

अर्घाखाँचीको डिभर्ना निवासी साहित्यकार आचार्यले लेख्नुभएको नयाँ कृति पागल साथी (कथा संग्रह), मनका तरङ्गहरु (गीति संग्रह), पश्चाताप (लघुकथा संग्रह) र आस्थाका विम्बहरु (कविता संग्रह) कुलपति डा. उप्रेतीले सार्वजनिक गर्नुभयो ।

लेखक तथा साहित्यकार आचार्यले यसअघि दुई वटा कृति प्रकाशन गरिसक्नुभएको थियो । उहाँका अब ६ वटा कृति पुगेका छन् । यसअघि प्रकाशित कृतिमा धर्तीका माकुरा (कविता संग्रह २०४३) र अनेक डायस्पोराका कविता (कविता संग्रह २०६९)  छन् । अमेरिकामा बस्दै आउनुभएका साहित्यकार आचार्यले नेपालको जनजीवनबारेमा कृतिहरु प्रकाशन गर्नुभएको छ ।

कुलपति डा. गंगाप्रसाद उप्रेतीले लेखक तथा साहित्यकार आचार्यको लेखनीले नेपाली साहित्यिक वाङ्मय क्षेत्रमा इँटा थपिने बताउनुभयो । अमेरिकामा रहेर पनि नेपाली जनजीवन र यहाँको माटोप्रतिको गहिरो आस्था र माया कृतिमा झल्किएको उहाँले चर्चा गर्नुभयो । आगामी दिनमा पनि उहाँका सिर्जनाहरु यसैगरी प्रस्फुटन हुँदै जाउन् उहाँले शुभकामना व्यक्त गर्नुभयो ।

वरिष्ठ साहित्यकार तथा समालोचक डा. तुलसी भट्टराईले साहित्यकार आचार्य अमेरिकामा बस्ने भए पनि आत्मा र श्वास नेपालमै रहेको बताउनुभयो । विदेशमा बस्ने अधिकांश नेपाली साहित्यकारहरु त्यहाँ मुढो भएर बस्दैआउनुभएको उहाँले चर्चा गर्नुभयो । भौतिक शरीर विदेशमा भए पनि आत्मा र श्वास नेपालमै रहेकाले विदेशमा भएका नेपाली साहित्यकारलाई उहाँले मुढोको संज्ञा दिनुभयो ।

लघुकथा समाजका अध्यक्ष तथा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठले साहित्यकार आचार्यको संग्रहमा समाजलाई दिने सकारात्मक चेत रहेको चर्चा गर्नुभयो । साहित्यको जुनसुधै विधामा पनि उत्कृष्ट रचना सिर्जना गर्न निकै कठिन काम भए पनि आचार्यको कृति पठनीय रहेको उहाँले बताउनुभयो ।

संस्कृतिविद तथा इतिहासकार राजाराम सुवेदीले लेखकका कृतिमा समाजमा विद्यमान विकृति, विसंगतिप्रतिको कडा प्रहार र त्यसको अन्त्यको सन्देश बोकेको बताउनुभयो । पागल साथी कथा संग्रहमा २४ वटा कथा समेटिएको भएपनि सबै कथामा गाउँ तथा शहरको परिवेश बोकेको र सामाजिक चेतको सन्देश दिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार विष्णु प्रभात, लेखक आचार्यसहित लेखक तथा साहित्यकारहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा वरिष्ठ लेखक, साहित्यकारहरुको सहभागिता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?