logo
२०८१ मंसिर ८ शनिवार



व्याकुल माइलाको पैतृक सम्पति प्रतिष्ठानलाई

कला |
खुला |


व्याकुल माइलाको पैतृक सम्पति प्रतिष्ठानलाई



शेरबहादुर राई
ओखलढुंगा, चैत १३ गते । राष्ट्रिय गानका सर्जक प्रदीपकुमार राई (व्याकुल माइला)ले आफ्नो नाममा रहेको घर जग्गाका भोगाधिकार प्रतिष्ठानलाई हस्तान्तरण गर्नुभएको छ । ओखलढुङ्गा जिल्ला मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानीमा रहेको व्याकुल माइलाको नाममा रहेको डेढ रोपनी जग्गा र एकतले कच्ची घर ब्याकुल माइलाले प्रतिष्ठानलाई दिनुभएको हो ।

आफू जन्मेको घरलाई पुरातात्विक सम्पदाको रुपमा संरक्षण, सांस्कृतिक केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले आफ्नो अंशमा रहेको घरजग्गा प्रतिष्ठानलाई हस्तान्तरण गरेको उहाँले बताउनुभयो । “आफू जन्मेको थलो, जीवनकालमा प्रयोग गरेको सामग्री सङ्ग्रहालयका रुपमा संरक्षण होस् भन्ने मेरो उद्देश्य हो ।” उहाँले भन्नुभयो “ब्याकुल माइला ओखलढुङ्गाको हिलेपानीमा जन्मेको चिनो रहिरहोस् भन्ने उद्देश्यले घर जग्गा प्रतिष्ठानलाई दिएको हुँ ।”

राष्ट्रिय गानका रचनाकार व्याकुल माइलासँग जोडिएका पहिचान तथा सम्पदालाई संरक्षण गर्ने उद्देश्यले व्याकुल माइला प्रतिष्ठान स्थापना गरिएको अध्यक्ष नानुकला राईले बताउनुभयो । व्याकुल माइला जन्मनुभएको घर ठाउँलाई पर्यटकको गन्तव्य, भाषा, साहित्य, सांस्कृतिक, प्राज्ञिक थलो तथा भविष्यमा ऐतिहासिक थलोका रुपमा विकास गर्ने प्रतिष्ठानको योजना रहेको अध्यक्ष राईले बताउनुभयो ।

व्याकुल माइला जन्मनुभएको ओखलढुङ्गा हिलेपानीमा रहेको ढुङ्गामाटोले बनेको कच्ची घरलाई प्रबलीकरण गरी तत्काल प्रतिष्ठानको भवन एवम् व्याकुल माइला सङ्ग्रहालयका रुपमा प्रयोग गरिने प्रतिष्ठान अध्यक्ष राईले जानकारी दिनुभयो ।

सङ्घीय भौतिक पूर्वाधार विकास मन्त्रालयबाट रुपियाँ १२ लाख बजेट विनियोजन भएर काम सुरु भएको छ । व्याकुल माइलासँग जोडिएका सम्पदालाई समुदायको स्वामित्वमा लैजाने प्रतिष्ठानले जनाएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?