हरिप्रसाद कोइराला
उर्लाबारी, चैत २२ गते । हातमा सीप छ भने कोही पनि बेरोजगार भएर बस्नुपर्दैन । यो उखान चरितार्थ गर्दै हुनुहुन्छ, उत्तरी मोरङको मिक्लाजुङ —४ जरुवाका सुवास विश्वकर्माले । उहाँ १७ वर्ष अघिदेखि ढुङ्गामा कला भरेर जीविकोपार्जन गरिरहनुभएको छ ।
शहर बजारमा मात्र होइन, गाउँघरमा पनि ख्यातिप्राप्त विद्वान, राजनेता, साहित्यकार र कलाकारका शालिक राख्ने चलन सुरु भएसँगै उहाँको क्षमतामा निखार अाएको छ ।
एक दशक अघिसम्म एउटा ढुङ्गामा महिनौं छिनो चलाएर निर्माण गरेको मूर्ति वा शालिक विक्री गर्न वर्ष दिन ग्राहक कुर्नुप¥थ्यो । तर अहिले समय बदलिएको छ, ग्राहक आफैँ सुवास खोज्दै आइपुग्छन् ।
उहाँको कला देख्नेहरू टोलाएर हेरिरहन्छन्, शुभेच्छुकहरू भन्छन्– ‘बोल्छ कि जस्तो मूर्ति र शालिक बनाउने सीप छ ,सुवासमा ।’ सुवास तस्विर वा स्वयम् व्यक्तिलाई अगाडि उभ्याएर दुरुस्त मूर्ति बनाउन सक्नुहुन्छ ।
अचेल उहाँलाई भ्याइनभ्याई छ । यही पेशाबाट गुजारा चलिरहेको ४१ वर्षीय विश्कर्मा बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘साढे तीन सयभन्दा बढी मूर्ति बनाइसकेँ । पूर्वाञ्चलका विभिन्न स्थानबाट मूर्ति बनाउन अर्डर आउने उहाँले सुनाउनुभयो ।
एउटा मूर्ति बनाएको १५ हजारदेखि ३० हजार रुपियाँसम्म पाउने गरेको उहाँको भनाइ छ । मूर्तिकार मञ्जुल मितेरीको प्रेरणाबाट यस क्षेत्रमा हात हालेको बताउने उहाँ पित्तल र तामालगायत धातुका मूर्ति पनि बनाउनुहुन्छ । यो पेसाबाट नाम र दाम दुवै प्राप्त भइरहेको उहाँ बताउनुहुन्छ ।