logo
२०८१ बैशाख ८ शनिवार



पर्यटन बोर्डको प्राङ्गणमा विस्काः जात्राको फोटो प्रदर्शनी

कला |
खुला |


पर्यटन बोर्डको प्राङ्गणमा विस्काः जात्राको फोटो प्रदर्शनी
तस्विरः सुजन गुरुङ/गोरखापत्र


शिवा तामाङ
काठमाडौँ, चैत २३ गते । मध्यपुर थिमिको प्रसिद्ध बिस्काः जात्रासम्बन्धी तीन दिने एकल फोटो प्रदर्शनी राजधानीमा सुरू भएको छ । फोटो पत्रकार रत्न श्रेष्ठले विगत ६ वर्षदेखि सङ्कलन गर्नुभएको बिस्काः जात्राको फोटोले मध्यपुर थिमिको उल्लासमय पर्वको कथा वर्णन गरेको छ ।

पर्यटन बोर्डको प्राङ्गणमा राखिएको फोटो प्रदर्शनीको मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गर्नुभयो । फोटो पत्रकार श्रेष्ठले पर्यटन वोर्डको प्राङ्गणमा राखिएका फोटोहरू थिमिमा चैत मसान्त, बैसाख १ र २ गतेसम्म तीनदिन भव्यताका साथ मनाईने पर्वका फोटोहरूको सङ्कलन हुन् भन्दै फोटो अवलोकन गरेर सुझाव, प्रतिक्रिया दिन आग्रह गर्नुभयो ।

राष्ट्रिय समाचार समितिमा कार्यरत श्रेष्ठले मध्यपुर थिमिको पहिचानसँग जोडिएको बिस्काः जात्रा अर्थात बालकुमारीको जात्रा गरिने स्थान बालकुमारी, चपाचो, नगदेश, बोडे र तिगनी क्षेत्रमा गरिने जात्राका झलक फोटोमा समेटिएको फोटो पत्रकार श्रेष्ठले बताउनुभयो । त्यसैगरी विभिन्न टोलमा तीन दिनसम्म मनाइने जात्राको अर्को विशेषता ३२ वटा खट एकै स्थानमा जम्मा भएर सिन्दुरे जात्रा गरिने परम्परा पनि हो ।

यस जात्रा मृत्युपछि पनि हेर्न पाउँ भन्ने कामनासहित गुठि राख्ने व्यक्तिको प्रतिमा पनि परिवारको सदस्यले बोकेर जात्रामा सहभागी हुने परम्परा अन्यत्र नपाइने गरेको उहाँको भनाई छ । तीन दिनसम्म चल्ने प्रदर्शनीमा सहभागी भएर मध्यपुर थिमिको पर्वलाई तस्वीरमा अवलोकन गर्ने अवसर नछुटाउन आयोजकले आग्रह गरेको छ ।

तस्वीरमा थिमि महत्वपूर्ण परम्परा, संस्कारका कार्यक्रम गुँसी छ्व्येकेगु जात्रादेखि बालकुमारीलाई लाय्कुबाट मन्दिरमा ल्याइने चान्हसिया (राती) को जात्रा, दिउँसोको जात्रालगायत थिमिको नगदेशको सिद्धि गणेश जात्रा, बोडेको जिब्रो छेड्ने जात्रा र टिकनीको निलबाराही जात्राको समेत फोटोले बिस्का जात्राका सम्पूर्ण गतिविधी एकै स्थानमा हेर्ने अवसर जुरेको छ । फोटो प्रदर्शनी उद्घाटन समारोहमा बिस्काः जात्रा सम्वन्धी वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?