बसन्त पराजुली,शालिग्राम नेपाल
भरतपुर चैत ११ गते । रुघा खोकी र उच्च ज्वरो आई उपचार गराइ रहेका एक विरामीको भरतपुरस्थित कोरोना विषेश अस्पतालमा मंगलवार मृत्यु भएको छ ।
भरतपुर स्थित कोरोना बिशेष अस्पतालमा निधन भएका बीरगञ्ज महानगरपालिका २२ का जगन्नाथपुरका ३० वर्षीय सन्तोष यादव लुपस रोगका बिरामी भएका खुलेको छ ।
अस्पतालले आज दिउसो जारी गरेको बिज्ञप्तीमा यादवलाई लुपस रोगले मृगौला कमजोर बनाएर ज्यान गएको जनाइएको छ । उनलाई ज्वरो र निमोनिया समेत देखिएपछि चैत ९ गते राती १० बजे चितवन मेडिकल कलेबाट रिफर गरी कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालका प्रवक्ता डाक्टर भोजराज अधिकारीका अनुसार यादवलाई आज बिहान ९ः३० बजे मृत घोषित गरिएको थियो ।
उनको स्वावको नमुना सोमवार परिक्षणका लागि काठमाण्डौ पठाइएको छ । स्वावको रिपोर्ट आउन वाँकी रहेको छ । मृत शरिरलाई अहिले आइसोलेसनमा राखिएको अस्पतालले जनाएको छ ।