logo
२०८१ बैशाख १४ शुक्रवार



आन्ध्र प्रदेशमा औद्योगिक दुर्घटना, ग्यास चुहिदा सात जनाको मृत्यु

अर्थ |
अन्तर्राष्ट्रिय |


आन्ध्र प्रदेशमा औद्योगिक दुर्घटना, ग्यास चुहिदा सात जनाको मृत्यु


अमरावती, वैशाख २५ गते। भारतको आन्ध्र प्रदेशको भिजागस्थित एक पोलिमर उद्योगबाट ग्यास चुहिएर भएको दुर्घटनामा सात जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु १२० जना घाइते भएका छन् ।
बिहीबार बिहान विशाखापटनमको आरआर वेन्कटपुरममा रहेको एलजी पोलमर्सबाट स्टेराइन नामको ग्यास चुहिएको अधिकारीहरुले बताएका छन् । आन्ध्र प्रदेशका मुख्यमन्त्री वाइएस जगन मोहन रेड्डीले भिजाग ग्यास दुर्घटनाका बारेमा विशेष रुपमा अनुगमन गरिरहनु भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । उहाँले ग्यास दुर्घटनाबाट पीडितको तत्काल उपचारको व्यवस्था गर्न तथा अरु क्षति हुनबाट जोगाउन जिल्लास्थित सम्बन्ध अधिकारीहरुलाई निर्देश पनि गर्नु भएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मुख्यमन्त्री जगन मोहनलाई फोन गरी दुर्घटनालाई नियन्त्रणमा ल्याउन र उद्धार गर्न केन्द्र सरकारले सम्पूर्ण सहयोग गर्ने वचन दिनु भएको छ । आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले एक विज्ञप्ति प्रकाशन गरी ग्यासको सम्पर्कमा आएका व्यक्तिहरु र गाईवस्तु बेहोस अवस्थामा रहेको बताउँदै ग्यासका कारण रुखबिरुवाका पातको रङ समेत परिवर्तन भएकाले ग्यासको विषाक्तता सहजै अनुभव गर्न सकिने उल्लेख गर्नु भएको छ । उहाँले स्थानीयवासीलाई युद्ध स्तरमा उद्धार गर्नु पर्ने खाँचो रहेको बताउँदै पीडित सबैलाई विशिष्ट उपचारको खाँचो रहेको औंल्याउनु भयो ।
भारतमा सन् १९८४ मा मध्यप्रदेशको भोपालमा पनि यस्तै औद्योगिक ग्यास चुहिएर ठूलो संख्यामा मानिसहरुको मृत्यु हुनुका साथै कैयौं व्यक्तिहरु सख्त घाइते भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?