शिवा तामाङ
काठमाडौँ, भदौ ९ गते । गाईबस्तुलाई सोत्तर बनाउने तीतेपातीबाट राम्रो आम्दानी हुन्छ भन्ने कमैलाई थाहा छ । त्यो पनि जापान निर्यात गरेर । तीतेपातीलाई प्रशोधन गरेर १२ वर्षदेखि जापान निर्यात गर्दै आएका एक व्यवसायीको कमाइ प्रतिरोपनी ५० हजार रुपियाँ रहेको बताइएको छ ।
१२ वर्षदेखि सुुकेको तीतेपातीको पातबाट एक प्रकारको भुवा ‘मोक्जा’ बनाएर जापान निर्यात गर्दै आउनुभएका यामासो प्रालिका निर्देशक ईश्वरराज बलामीको उद्यम फस्टाएको छ । उहाँले आफँैले मात्र नभई स्थानीयलाई समेत तीतेपाती आम्दानीको स्रोत बनाइदिनुभएको छ ।
नागार्जुन नगरपालिका–४, सरनपुरमा स्थापना गरिएको यामासो प्रालिले निर्यातका लागि प्रशोधन गर्न कच्चा पदार्थका रूपमा तीतेपातीको सुकेको पात प्रतिकेजी ५० रुपियाँमा किनिदिन्छ । अकुपञ्चरिस्टसमेत रहनुभएका बलामीले सन् १९९४ मा अकुपञ्चरसम्बन्धी तालिमका लागि उहाँ जापान जाँदा तीतेपातीको महŒव थाहा पाउनुभएको हो ।
उहाँले भन्नुभयो, अकुपञ्चरको तालिम लिँदा उपचार पद्धति मोक्जुवेसन, त्यसमा प्रयोग हुने जडीबुटीसम्बन्धी पनि जानकारी दिने गरिन्थ्यो । त्यस उपचार पद्धतिमा बिरामीको उपचार गर्दा मोक्जाको प्रयोग गर्ने विधि र मोक्जाको उत्पादनसम्बन्धी पनि बलामीले जानकारी लिनुभयो ।
तीन महिनाको तालिमपछि स्वदेश फर्केर सो उपचार पद्धतिसँग बलामी जोडिनुभयो । हाल दिव्य सञ्जीवनी हस्पिटलमा सेवारत उहाँले जापानमा सिकेको सीपमध्ये मोक्जाका लागि प्रयोग हुने कच्चा पदार्थ तीतेपाती नेपालको प्रायः सबै भूभागमा पाइन्छ भने यसको उत्पादन किन नगर्ने ? भनेर काम थालेको बताउनुभयो । त्यसका लागि जापानी साथीभाइलगायत विज्ञहरूको सहकार्यमा वैदेशिक ऋणको स्वीकृति गराएर नेपालमा मोक्जाको उत्पादन थालेको उहाँले जानकारी दिनुभयो । यामासोमा हाल प्रत्यक्ष १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने अप्रत्यक्ष रूपमा पात टिपेर सुकाएर बेच्ने धेरैले आम्दानी गरिरहेका छन् ।
तीतेपाती कसरी चिन्ने ?
बलामीको अनुसार नेपालमा तीतेपातीका दुई प्रजाति पाइन्छ । एकथरी तीतेपातीमा भुवा हुँदैन भने आर्टिमिसिया भल्गरिस जातबाट मात्र मोक्जा उत्पादन हुन्छ । यस प्रजातिको तीतेपातीको पातको पछाडि भागमा सेतो भाग हुन्छ र पातलाई च्यातेर हेर्दा त्यसको भुवा वा रेसालाई स्पष्ट देख्न सकिन्छ ।
माग बढी उत्पादन कम
यामासो प्रालिले कच्चा पदार्थ (तीतेपातीको पात)को अभावमा माग पूरा गर्न सकेको छैन । जापानमा यस पद्धतिमा उपचार गर्नेको सङ्ख्या धेरै छ । माग ६० टनको भए पनि वार्षिक २० टन मात्र पठाउन सकिएको बलामी बताउनुहुन्छ । करिब ३५ लाख रुपियाँभन्दा बढीको निर्यात हुँदै आएको जानकारी दिँदै उहाँले तीतेपातीको व्यावसायिक खेती प्रशस्त गर्ने हो भने नेपालबाट वार्षिक छ सय टन निर्यात गर्न सकिने बताउनुभयो ।
विश्वास दिलाउन गाह्रो
नेपालमा मोक्जाको उत्पादन गर्न थालेको १२ वर्ष भए पनि तीतेपातीको पात बेचेर आम्दानी गर्न सकिने कुराको विश्वास दिलाउन निकै कठिन भएको अनुभव सुनाउँदै बलामीले केही वर्षदेखि मात्र किसानले यसको व्यावसायिक खेती थालेको बताउनुभयो ।
हाल चितवनको ठोरीमा चार बिघा, पाँचथर फिदिम नगरपालिका–६ मा तीन सय रोपनी र सङ्खुवासभामा ६० रोपनीमा आर्टिमिसिया भोल्गारिस जातको तीतेपातीको व्यावसायिक खेती सुरु भएको छ । बहुवर्षीय, हाँगाबिँगाबाट पनि सार्न सकिने तीतेपातीको खेती गर्न सरल, बीउका लागि आर्थिक भार नपर्ने, कीरा, बाँदरले नसताउने र समयसमयमा मल र पानी केही गोडमेल गरेपछि वर्षको पाँचपटक दुई÷दुई महिनाको अन्तरालमा उत्पादन लिन सकिने ज्यादै किफायती खेती रहेको उहाँले बताउनुभयो ।
हाल काठमाडौँ वरपर चोभार, रामकोट, भीमढुङ्गा, नैकाप, विष्णुदेवी, सतुङ्गल, लुभु, इमाडोल, खोकना, गोकर्ण र सुन्दरीजल क्षेत्रमा प्राकृतिक रूपमै उम्रिएका तीतेपातीको पात सङ्कलन भइरहेको छ । अन्य स्थानबाट पात सुकाएर करिब तीन टन जति सङ्कलन भएको बताइएको छ ।
देशको जुनसुकै स्थानमा पुगेर पनि यामासोले तीतेपाती किन्ने बताउँदै निर्देशक बलामीले ढुवानीसमेत गर्ने ग्यारेन्टीसमेत दिने बताउनुभयो ।