logo
२०८१ बैशाख ६ बिहीवार



'अमेरिकामा दबाब दिएर आफ्नो देश फर्काउने भन्ने सुनेको छैन '

अर्थ |
पढ्नै पर्ने |


'अमेरिकामा दबाब दिएर आफ्नो देश फर्काउने भन्ने  सुनेको छैन '


विश्वको शक्तिशाली मुलुकको रुपमा हेरिने अमेरिकामा व्यापार, अध्ययन र कामको सिलसिलामा धेरै नेपालीहरू त्यहाँ रहेका छन् । महामारीको रुपमा फैलिँदैगएको कोरोनाको असर सबैभन्दा बढी अमेरिकालाई पारेको बताइन्छ । यो महामारीले विश्वको अर्थतन्त्रमा ठूलो हलचल ल्याउने आकलन गर्न थालिएको छ । कोरोनाको कारण अमेरिकामा रहेका नेपालीलाई कस्तो असर गरेको छ ? त्यहाँको पछिल्लो अवस्था कस्तो छ ? र, आगामी दिनमा नेपालीहरूको अवस्था कस्तो रहला ? भन्ने विभिन्न खालका जिज्ञासासहित समसामायिक विषयमा केन्द्रित रहेर गोरखापत्र अनलाइनका लागि मुकुन्द गैरेले अमेरिका– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा श्री पशुपतिनाथ फाउण्डेशन (यू.एस.ए) का अध्यक्षसमेत रहनुभएका गोकुल पौड्यालसँग गर्नुभएको अन्तर्वार्ताको सम्पादित अंश ।

अहिले सिङ्गो अमेरिकाको अवस्था कस्तो छ ?
– म विगत ३५ वर्षदेखि अमेरिकाको क्यालिफोर्निया राज्यमा बस्दैआएको छु । मेरो घर झापा हो । सुरुमा अमेरिकामा अध्ययनको सिलसिलामा आएको थिएँ । हाल थोक वितरकको रुपमा व्यापार गर्छु । साथै, अहिले नेपाललाई भाषा, कला, संस्कृति, पशुपति र बुद्धको देश भनेर अमेरिकामा चिनाउने उद्देश्यले हामी सामाजिक काममा पनि त्यतिकै मात्रामा सक्रिय हुँदैआएका छौँ । यहाँ धेरै नेपाली बसोवास गर्दैआएका छन् । अहिले दैनिक खाद्यान्नलगायत (अत्यावश्यक पर्ने पसलबाहेक) सबै बन्द छन् । क्यालिफोर्निया अमेरिकाको औद्योगिक राज्य हो । अमेरिकामा आ–आफनो व्यवस्थापन गर्ने अधिकार राज्यलाई दिइएको हुन्छ ।
यस राज्यमा विभिन्न मापदण्ड तोकेर कोरोना सङ्क्रमण थप फैलन नदिन प्रयास भएको छ । त्यसैले होला, हामी बस्ने ठाउँमा अरु ठाउँमा जस्तो कोरोनाको कारण ज्यान गुमाउनेको सङ्ख्या अलि कम छ । तर सङ्क्रमण भने फैलिरहेको छ । यो महामारी कहिले नियन्त्रण हुन्छ भन्ने कुरा अहिले नै भन्ने अवस्था देखिँदैन ।

कोरोनाको कारण अमेरिकामा रहेका नेपालीले के–कस्ता समस्या भोग्नु परेको छ ?
कोरोनाको कारण म बस्ने ठाउँमा कुनै पनि नेपालीको ज्यान नगएको कुरा तपाईंलाई जानकारी गराउन चाहन्छु । कोरोनाको कारण यस ठाउँमा बस्ने नेपालीलाई कुनै समस्या आएको छैन । हामीले जानकारी पाएअनुसार यस ठाउँमा दुई परिवारका नेपालीलाई कोरोना सङ्क्रमण देखापरेको छ । उहाँहरूको उपचार भइरहेको छ र ठिक हुँदैछ ।

अमेरिकामा खानबस्न गाह्रो भएका र रोजगार गुमाएका नेपालीको तथ्याङ्क कति छ ?
अमेरिकामा व्यापार व्यवसायमा कोरोनाले असर गरेको छ । तर पनि सरकारले राहत प्याकेज ल्याएर सहयोग गरिरहेको छ ।
ठूला व्यवसायीलाई त्यही अनुरुपको ठुलो राहत प्याकेज ल्याएको छ भने साना उद्योगी व्यवसायीको लागि पनि त्यस्तै किसिमका कार्यक्रम ल्याएर सम्बोधन गरेको अवस्था छ । साना व्यापारीलाई पनि कारोबार, बिल, र विगतमा तिरेको करको आधारमा सुलभ दरमा ऋण दिनेदेखि तत्कालको लागि आर्थिक राहत दिएको अवस्था छ ।

कस्तो अवस्थामा रहेका नेपाली अमेरिकामा बढी समस्यामा परेका छन् ? नेपाली विद्याथीहरूको अवस्था के छ ?
अमेरिका अध्ययनको लागि आएका र उनीहरूमध्ये कागजात नबनेका अर्थात ग्रिन कार्ड बनाउन बाँकी रहेकालाई समस्या परेको पक्कै हो । तर पनि त्यस्ता नेपालीको लागि यहाँ रहेका नेपाली सङ्घसंस्थाले राहत स्वरुप सहयोग गरिरहेको यो मिडियामार्फत् जानकारी गराउन चाहन्छु । साथै, हाम्रो श्री पशुपतिनाथ फाउण्डेशन (यू.एस.ए.) ले क्यालिफोर्निया राज्यमा रहेका त्यस्ता समस्या परेका विद्यार्थीलाई तीन सय डलरको दरले सहयोग गरेका थियौँ । कागजात नभए पनि काम गर्ने नेपाली पनि अमेरिकामा छन् । कागजात भएका र ग्रिन कार्ड बनाएका, सामाजिक सुरक्षा कार्ड भएका सबैलाई बेरोजगारी भत्ता दिइएको छ । छ महिनासम्म हप्ताको छ सय डलरको दरले दिइएको थियो । विभिन्न सङ्घसस्थाले रोजगारी गुमाएका राहत नपाएका नेपालीलाई कोही पनि भोक–भोकै नपरुन् भनेर विभिन्न संस्थाहरूले खाद्यान्नलगायत सामग्री र नगद पैसासमेत सहयोग गरेको छ । बाहिर आएजस्तो समस्या यहाँ छैन । अमेरिकामा खाना बस्न समस्या भएको अवस्था छैन । राज्यले विभिन्न तवरले राहत दिएको छ ।
साथै, कागजात भएकाको हकमा जागिर गुमाएकाहरूको लागि बेरोजगारी भत्ता दिएको छ । घरको ऋण तिर्न नसकेका व्यक्तिलाई पनि सरकारले छ महिनासम्म बैङ्कलाई कुनै ताकेता नगर्न अनुरोध गरिएको छ । सबै कुरा सहज भएपछि कारोबार मिलाउने भनेको छ ।

 उद्योग व्यवसायमा कोरोनाले कस्तो असर पारेको छ ?

विश्वका अरु देशमा जस्तै अमेरिकामा पनि कोरोनाले प्रत्यक्ष वा अप्रत्यक्ष असर गरेको पक्कै हो ।
सरकारले ठुला उद्योगीदेखि साना उद्योगी, व्यवसायीको लागि सहुलियत दरका ऋणको व्यवस्था गरेको छ । यसको अलावा नेपाली उद्योगी, व्यवसायीले पनि त्यसको फाइदा लिएका छन् । स–साना व्यवसायीलाई सहुलियत दरमा ऋणको व्यवस्था गरेकोमा जसमा एक वर्षसम्म कुनै किसिमको शुल्क तिर्न पर्दैन । साथै, ३० वर्षसम्मको लागि पनि सहुलियत दरमा कुनै पनि धरौटी नराखी अर्थात् पुरानो कारोबार र कर तिरेको आधारमा ऋण दिने भनेको अवस्था छ ।
यो व्यवसायीको लागि राम्रो कुरा हो र हामी नेपाली व्यवसायीलाई पनि ठूलो राहत पुगेको छ ।

कोरोनाको सङ्क्रमण बढ्दै जाँदा रोजगारीमा कस्तो प्रभाव पर्छ जस्तो लाग्छ ?
अमेरिकामा नेपाली गार्मेण्टको ठूलो व्यापार थियो अहिले कुनै काराबार छैन । हस्तकला, बुटिक पसलमा पनि असर गरेको नेपाली व्यवसायीहरू बताउने गरेका छन् । व्यापारीले व्यापार गर्ने घरको भाडा तिर्नुपर्ने हुन्छ । यस्तै तरिकाले कोरोना सङ्क्रमण नियन्त्रण नहुने हो भने पक्कै पनि नेपालीको रोजगारी र व्यवसायमा असर गर्ने देखिन्छ । धेरै राज्यमा सामाजिक दूरी कायम गरेर, सेनिटाइजर, मास्क प्रयोग गरेर सावधानी अपनाएर व्यवसाय सञ्चालन भएका छन । अनिवार्य रुपमा मानिसहरूले मास्क लगाएर सामाजिक दूरी कायम गर्नैपर्ने अवस्था छ । यसको साथै खाद्यान्न सामान बेच्ने कर्मचारीले नियमित कोरोना परीक्षण गराउनुपर्ने र सामाजिक दूरीलगायत सबै सुरक्षाका मापदण्ड पूरा गर्नुपर्ने हुन्छ ।

 विभिन्न देशमा कार्यरत नेपालीलाई आफ्नो देशमा जानको लागि दबाब दिइएको सुन्नमा आएजस्तै अमेरिकामा के छ ?
अमेरिकामा दबाब दिएर आफ्नो देश फर्काउने भन्ने कुरा मैले कुनै समाचार सुनेको छैन र देखेको पनि छैन ।
विद्याथीहरूलाई कोरोनाको कारण जागिर गुमाउनुपरेको र बेरोजगारी भएर आर्थिक समस्या भोग्नुपरेको यथार्थ पक्कै हो । तर पनि समस्यामा परेका यस्ता नेपालीको लागि विभिन्न सङ्घसंस्थाले निरन्तर सहयोग गरेको अवस्था छ । यसमा पनि इन्जिनियर, हेल्थ सेक्टरमा काम गर्नेको रोजगारी गुमेको छैन । केही अन्य क्षेत्रमा समस्या आएको हो । समस्यामा परेका नेपालीलाई पैसा सापटी दिने, सहयोग गर्न काम भएका छन् । यहाँको एनआरएनए र श्री पशुपति फाउण्डेशन मिलेर हामीले क्यालिर्फाेनिया राज्यमा समस्यामा परेका नेपालीलाई सहयोग गरिरहेका छाैँ।

आर्थिक गतिविधि चलायमान बनाउन अमेरिकामा के कस्ता नीति ल्याइएका छन् ?
यहाँको सरकारले आत्मनिर्भर बन्न अमेरिकामै बनेका सामान प्रयोग गर्न अनुरोध गरेको छ भने बाहिरबाट आउने सामानमा बढी भन्सार लगाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप