logo
२०८१ बैशाख ६ बिहीवार

  ठेला व्यापारमा नै किन सबैको प्रहार ?  



बन्दाबन्दीको ठूलो मारमा, गरिखानेलाई निषेध नाजायज

अर्थ |
पढ्नै पर्ने |


बन्दाबन्दीको ठूलो मारमा, गरिखानेलाई निषेध नाजायज
तस्बिर: कविता थापा


मुकुन्द गैरे
काठमाडौँ, भदौ २९ गते । फुटपाथ र ठेलामा व्यापार गर्नेलाई सडकबाट हटाउन नहुने सरोकारवालाहरुले बताएका छन् । काठमाडौँ महानगरपालिकाले फुटपाथ र ठेला व्यापारमा प्रतिबन्ध लगाउन खोज्नु जायज नभएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठ बताउनुहुन्छ । काम गरिरहेकालाई हटाएर समाधानको विकल्प रोज्नु भन्दा स्वास्थ्यका मापदण्ड अपनाएर काम गर्न दिनुपर्नेमा उहाँको सुझाव छ ।
ठेला, फुटपाथमा व्यापार गर्ने भनेका कतै केही विकल्प नभएर अन्तिममा पेटको गुजार गर्नको लागि गरिने व्यापार भएको अध्यक्ष श्रेष्ठको बुझाइ छ ।

यी क्षेत्रमा काम गर्नेको अत्यन्तै नाजुक अवस्था रहेको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । कोरोनाको कारण देखाएर उनीहरुलाई हटाउन खोज्नु जायज नभएको उहाँ बताउनुहुन्छ । फुटपाथ पसललाई हटाएर विस्थापित गर्न खोज्नु गलत हुने अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । उनीहरुलाई उक्त ठाउँहरुमा व्यापार गर्ने नदिने हो भने दीर्घकालीन नीति बनाएर निश्चित ठाउँ तोकेर काम गर्ने वातावरण मिलाउन महानगरलाई उहाँले आग्रह गर्नुभयाे  

नेपाल अटो रिक्सा ई रिक्सा तथा रिक्सा ठेला सम्बद्ध श्रमिक संघका अध्यक्ष खिलानाथ बस्नेत आफूहरुको व्यापारमा जबरजस्ती हटाए आन्दोलन गर्न पछि नपर्ने बताउनुहुन्छ । फुटपाथमा व्यापार गरेर आ–आफनो दैनिकी चलाउनेमाथि जबरजस्ती हटाउने कुरा आफूहरुलाई मान्य नहुने अध्यक्ष बस्नेत बताउनुहुन्छ ।

अहिले लकडाउन, निषेधाज्ञाका कारण कोठा भाडा तिर्न नसकेर घरबाट यस क्षेत्रका धेरै व्यापारी निकालिएको समेत उहाँ बताउनुहुन्छ । महानगरले व्यापारीलाई सहयोग गर्नुको सट्टा गरिखान नै दिन बन्देज गर्नु बेरोजगारी बढाएर थप समस्यामा पार्नु भएको बस्नेत बताउनुहुन्छ । नेपालभर फुटपाथ, ठेला गाडा, रिक्सामा व्यापार गर्नेहरुको संख्या धेरै रहेको उहाँको भनाइ छ । काठमाडौँ उपत्यकामा ५० हजार र काठमाडौँमा मात्रै २५ हजार भन्दा बढी यो क्षेत्रका व्यापार गर्नेको संख्या रहेको अध्यक्ष बस्नेत बताउनुहुन्छ ।

महानगरपालिकाले हामीलाई हटाउने हो भने हामी यस क्षेत्रमा व्यापार गर्नेको तथ्याङ्क दिन्छौ काम गर्ने उचित ठाउँ गाँस, वासको ग्यारेन्टी गर्नु गर्नेमा उहाँको माग छ । गरिखाने व्यवसायलाई जवरजस्ती हटाए आफूहरुको भोकले मर्ने स्थिति आउने श्रमिक नेता बस्नेत बताउनुहुन्छ ।
यस क्षेत्रका काम गर्नेहरु विहान होलसेलमा गएर उधारो सामान ल्याउने बेलुका उक्त सामानको पैसा साहँुलाई दिने र नाफाको पैसाले आफनो दैनिकी चलाउने गरेको उहाँ बताउनुहुन्छ ।

धेरै पैसा हुने भए यो सडकमा व्यापार गर्ने कसैको रहर नहुने बस्नेत दु:खेसो पोख्नुहुन्छ । रोजगार विज्ञ डा. गणेश गुरुङ सबैभन्दा मारमा परेको फुटपाथमा व्यवसाय गर्ने नै हुन्, त्यसैले यिनीहरुलाई हटाउन नहुने बताउनुहुन्छ ।

रोग र भोकमा परेका वर्गलाई सरकारले थप सहयोग गर्ने आवश्यक रहेको रोजगार विज्ञ गुरुङको भनाइ छ । धनीहरु आफनो आम्दानीबाट खाइरहेको भए तापनि गरिव भने कोरोनाको सबैभन्दा मारमा परेको उहाँको बुझाइ छ ।  सरकारले फुटपाथका व्यापारीलाई सुरक्षाका मापदण्ड अपनाएर काम गर्न वातावरण बनाउन आवश्यक रहेको उहाँ बताउनुहुन्छ । ज्यालादारी र मजदुरी गरेर खाने वर्गलाई काम गर्न नदिएर देशको अर्थतन्त्र राम्रो र कोरोना संक्रमण कम नहुने रोजगार विज्ञ गुरुङको तर्क छ ।

गरिव जनताको आवाज सिंहदरवार सम्म नपुग्ने भएकोले पनि उनीहरु सँधै मर्कामा पर्ने गरेको उहाँ बताउनुहुन्छ । काठमाडौँ महानगरपालिकाले फुटपाथ र ठेलागाडा व्यापारमा प्रतिबन्ध लगाउन जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गरेको छ ।

शुक्रबार कामपाका उपप्रमुख हरिप्रभा खड्गीले काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई भेटी उक्त व्यापारीहरुलाई हटाउन ध्यानाकर्षण गराउनुभएको थियो । शहरमा संक्रमण फैलिँदो अवस्थामा रहेको वेलामा फुटपाथ पसल र ठेला व्यापार खोल्ने हो भने महामारी नियन्त्रण बाहिर जान सक्ने उपप्रमुख हरिप्रभा खड्गी बताउनुहुन्छ ।

काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले यही भदौ २४ गते जारी गरेको आदेशको सञ्चालन गर्न सकिने क्रियाकलाप अन्तर्गत बुँदा १० मा ‘फुटपाथ पसल, ठेला व्यापार, विहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिने भनिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप