logo
२०८१ बैशाख १६ आईतवार



निर्माण सामग्रीको मूल्य अस्वाभाविक वृद्धि

अर्थ |


निर्माण सामग्रीको मूल्य अस्वाभाविक वृद्धि


लक्ष्मण दर्नाल

काठमाडौँ, मङ्सिर २२ गते । निर्माण सामग्रीको मूल्य अस्वाभाविक वृद्धि भएपछि साना निर्माण व्यवसायी मर्कामा परेका छन् । कोरोना बन्दाबन्दीको मारमा परेका निर्माण व्यवसायीले काम सुचारु गर्न बेला एक्कासि मूल्य वृद्धि भएपछि समस्यामा परेका हुन् । यसबाट छ महिनादेखि एक वर्षे सम्झौताका आयोजना प्रभावित हुने नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार प्रतिकिलो ६२ रुपियाँ पर्ने डण्डी हाल ८० रुपियाँ पुगेको छ । २२ हजार रुपियाँ पर्ने गिट्टीलाई ३५ हजार रुपियाँसम्म पु¥याइएको छ । ग्याबिन वायर प्रतिकेजी १८५ रुपियाँबाट २१५ रुपियाँ पगेको छ । २४ हजार पर्ने बालुवालाई ३५ हजार रुपियाँसम्म भनिएको छ ।
कोरोना महामारीबीच निर्माण कार्य सुरु हुने समयको गलत फाइदा उठाउँदै निर्माण सामग्रीहरूमा एकतर्फी रूपमा कार्टेलिङ गरी अत्यधिक रूपले मूल्य वृद्धि गरिएको भन्दै महासङ्घले सरकारको ध्यानाकर्षण गराएको छ । महासङ्घका अध्यक्ष रवि सिंह भन्नुहुन्छ, “फलामजन्य निर्माण सामग्री उत्पादक कम्पनीबाट अन्तर्राष्ट्रिय मुद्रा डलरको दरमा र फलाम ब्लेडको मूल्य थोरै मात्रामा बढेको अवस्थामा पनि अनुपातभन्दा अत्यधिक वृिद्ध गरियो । ”
मूल्य वृद्धिले एकातिर निर्माण कार्यको लागत बढ्न जाने र अर्कोतिर तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्नैपर्ने व्यवसायीको बाध्यताको फाइदा उठाउने कालोबजारीका कारण निर्माण कार्य तोकिएको समयमा सम्पन्न हुन नसक्ने सम्भावना रहेको महासङ्घका महासचिव रोशन दाहालको भनाइ छ ।
नदीजन्य सामग्रीको उत्खनन र बिक्री वितरण गर्न नपाइने गृह मन्त्रालयको हालैको निर्णयले पनि निर्माण कार्यमा समस्या थपेको बताइएको छ । गृहको निर्णयबमोजिम निर्माणाधीन परियोजनाहरूमा ढुङ्गा, गिट्टी, बालुवाको चरम अभाव भई परियोजना नै ठप्प हुनसक्ने अवस्था देखिएको दाहालको भनाइ छ । जसले गर्दा कालोबजारी मौलाउने महासङ्घले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?