logo
२०८१ बैशाख १३ बिहीवार



पेट्रोलियम भण्डारण र पाइपलाइनको काम प्रभावित

अर्थ |


पेट्रोलियम भण्डारण र पाइपलाइनको काम प्रभावित


काठमाडौँ, फागुन ११ गते । पेट्रोलियम पदार्थमा निरन्तर घाटा भएपछि नेपाल आयल निगमले पाइपलाइन तथा भन्डारण निर्माणका काम अघि बढाउन सकेको छैन । वीरगञ्ज–लोथर, झापा–सिलगुढी पेट्रोलियम पाइपलाइन र सातै प्रदेशमा पेट्रोलियम भण्डारण निर्माण गर्ने तयारी थियो ।

एक सातालाई मात्रै पुग्ने पेट्रोलियम पदार्थको भण्डारण क्षमतालाई ९० दिनसम्मलाई पुग्ने बनाउन नीतिअनुसार पाँच वर्षअघिदेखि नै प्रक्रिया थालिएको थियो । सातवटै प्रदेशमा जग्गा खरिद गर्ने काम भए पनि गण्डकी र लुम्बिनी प्रदेशमा मात्र निर्माण प्रक्रिया अघि बढेको छ ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भन्नुभयो, “जहाँ काम सुरु भएको छ, त्यहीँ काम भइरहेको छ, अरू नयाँ ठाउँमा काम सुरु भएको छैन । ” पोखरा र भैरहवाको काम अन्तिम चरणमा रहेको बताउँदै उहाँले निरन्तरको घाटाले निर्माणका योजनाहरूमा पुनः विचार गर्नुपर्ने अवस्थामा निगम पुगेको बताउनुभयो । निर्देशक भट्टराई भन्नुहुन्छ, “केही कार्यक्रमहरू पुनः विचार गर्नुपर्ने भएको छ, अहिले ठूलो क्राइसिस छ, दोस्रो चरणको पाइपलाइन अगाडि बढाउँदै छौँ । ”

प्रवक्ता विनितमणि उपाध्यायले अहिले निगम आफैँलाई सर्भाइभ गर्न गाह्रो भइरहेको अवस्थामा भण्डारण निर्माणका कामले हाल गति लिन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “मूल्य घटेर नाफा घाटाको सन्तुलन भएपछि निर्माणका कामहरू अघि बढाउनुपर्छ तर तत्कालीन अवस्थामा अलि गाह्रो नै छ । ” पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार सहज भएर मूल्य नघ्दासम्म तत्काल थप काम गर्न नसकिने निगमले जनाएको छ ।

निगमका अनुसार गण्डकी प्रदेशको पोखरामा पेट्रोलियम पदार्थको भण्डारण निर्माणको काम ८० प्रतिशत सकिएको छ । गगनगौडास्थित निमगको प्रादेशिक डिपोमा पाँच हजार किलोलिटर क्षमताको दुईवटा भर्टिकल ट्याङ्की थप गरिएको छ । बजारको आवश्यकता र हरेक प्रदेशमा भण्डारण क्षमता वृद्धि गर्दै जाने सरकारको नीति अनुसार गण्डकी प्रदेशमा भण्डारण क्षमता विस्तार गरिएको हो । भैरहवामा डिपो थपको काम अन्तिम चरणमा छ । अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइनको सम्भाव्यता अध्ययन सकिएको छ । अध्ययन प्रतिवेदन स्वीकृतिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएको निगमले जनाएको छ । लोथरमा एक लाख केएल पट्रोलियम पदार्थ भण्डारण क्षमताको निर्माण गरिने योजना छ ।

चारआली–सिलगुडी पेट्रोलियम पाइपलाइनबाट आएको पेट्रोलिमय पदार्थलाई चारआलीमा भण्डारण गर्न भण्डारण क्षमता वृद्धि गरिने निगमले जनाएको छ । चारआलीमा ४१ हजार केएलको भण्डारण क्षमता निर्माण हुने प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो । चारआली–सिलगुडी पाइपलाइनको पनि लेआउटको काम सम्पन्न भएको छ ।

चारआलीमा मट्टीतेल, डिजेल, पेट्रोल र एपीएफको भण्डारणका लागि १५ वटा ट्याङ्की निर्माण हुनेछन् । तीनवटा अन्डरग्राउन्ड ट्याङ्की निर्माण गरिने छ । चारआलीमा रहेको निगमको २३ बिघा जग्गामा भण्डारणका संरचनाहरू निर्माण हुनेछन् । भण्डारण निर्माणका लागि प्रदेश पाँच, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सम्भाव्यता अध्ययन र जग्गा प्राप्ति लगायतका काम पनि हाललाई स्थगित छन् । निगम १५ दिनमा दुई अर्ब पन्ध्र करोड रुपियाँ घाटामा छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?