logo
२०८१ बैशाख २५ मंगलवार



‘आवश्यकता र औचित्यका आधारमा मात्र विमानस्थल’

अर्थ |


‘आवश्यकता र औचित्यका आधारमा मात्र विमानस्थल’


लक्ष्मण दर्नाल

काठमाडौँ, पुस १७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आवश्यकता र औचित्यका आधारमा मात्र नयाँ विमानस्थलको निर्माण अगाडि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।
प्राधिकरणको २२औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित समारोहमा मन्त्री ढकालले अहिले पनि २० भन्दा धेरै आन्तरिक विमानस्थल चलाउन नसकेको चर्चा गर्दै भन्नुभयो, “हामीले आवश्यकता र औचित्यका आधारमा एयरपोर्ट बनाउँछौँ कि पहुँच र शक्तिका आधारमा बनाएका छौँ ? अनावश्यक ढङ्गले राजनीतिक हस्तक्षेपका कारण एयरपोर्ट बनाउनुभएन । ”
मन्त्री ढकालले सो अवसरमा औचित्यको आधारमा स्थापित हुने गरी व्यावहारिक र वस्तुनिष्ठ हुने गरी काम गर्न प्राधिकरणका कर्मचारीलाई निर्देशन दिनुभयो । कोरोना महामारीका कारण उड्डयन क्षेत्र निकै प्रभावित भएकाले संस्थाको बृहत् हितका लागि पारदर्शी ढङ्गले काम गर्नुपर्ने उहाँको भनाइ छ ।
समारोहमा संस्कृति, पर्यटन तथा नगारिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले ५५ वटा आन्तरिक विमानस्थल निर्माण भए पनि २० भन्दा बढी सञ्चालन हुन नसक्दा थप समस्या भएको बताउनुभयो । सचिव कोइरालाले प्रश्न गर्नुभयो, “आवश्यक नभएको भए किन विमानस्थल बने ? बनेपछि किन सञ्चालन हुन सकेनन् ? सञ्चालनमा आउन नसकेकालाई सञ्चालन गरौँ । ”
उहाँले नागरिक उड्डयन प्राधिकरण आफैँ कमाएर आत्मनिर्भर हुनुपर्ने भन्दै तर प्राधिकरण वा संस्थानमा केही नाफा भएको खण्डमा बोनसका नाममा पैसा बाँड्ने प्रवृत्ति ठीक नभएको उहाँले चर्चा गर्नुभयो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखे्रलले विमानस्थलका पूर्वाधार विकासलाई तीव्रता दिइएको बताउनुभयो । उहाँका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ९३ प्रतिशत सम्पन्न भएको छ भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ भित्र सम्पन्न गर्नेगरी काम भइरहेको छ ।
त्यस्तै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पहिलो चरणको काम रुख कटानदेखि जग्गा प्राप्तिका काम भइरहेको छ । तर कोरोना महामारीका कारण काम प्रभावित भइरहेको पोख्रेलको भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?