logo
२०८१ बैशाख २१ शुक्रवार



पेट्रोलियम पदार्थको चोरी निकासी रोक्न निगमले ग¥यो कडाइ

अर्थ |


पेट्रोलियम पदार्थको चोरी निकासी रोक्न निगमले ग¥यो कडाइ


लक्ष्मण दर्नाल

काठमाडौँ, फागुन ८ गते । भारततर्फ पेट्रोल, डिजेलको चोरी निकासीका घटना बढ्न थालेपछि नेपाल आयल निगमले अनुगमनमा कडाइ गरेको छ ।
निगमले चोरी निकासी रोक्नका लागि आफ्ना प्रादेशिक कार्यालयहरूलाई स्थानीय प्रहरीसँग समन्वय गरेर अनुगमन तथा रेखदेखमा कडाइ गर्न शुक्रबार निर्देशन पठाएको छ । नेपाल र भारतको सीमा क्षेत्रबाट भारततर्फ पेट्रोलियम पदार्थको चोरी निकासी बढिरहेको निगमले जनाएको छ ।
निगमका अनुसार भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३५ रुपियाँ र डिजेल प्रतिलिटर ४१ रुपियाँले नेपालतर्फ सस्तो रहेकाले नेपालबाट सस्तोमा किनेर भारततर्फ महागोमा बेच्नका लागि चोरी निकासी बढेको हो ।
फागुन २ गते नेपालबाट डिजेल चोरी गरी भारततर्फ लैजाँदै गर्दा ट्याङ्कर र संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । वीरगञ्ज महानगरपालिका–२२, जगरनाथपुरस्थित जय श्वेता आयल ट्रेडर्सबाट अवैध रूपमा डिजेल भारततर्फ निकासी गर्ने क्रममा ना. ७ ख १५११ नम्बरको ट्याङ्करका चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको थियो ।
निगमले सीमा क्षेत्रमा सञ्चालित पेट्रोल पम्पमा निगरानी बढाएको छ । पम्पहरूको दैनिक खरिद बिक्रीको तथ्याङ्क राख्न प्रादेशिक कार्यालयलाई निगमले निर्देशन गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुुभयो । उहाँका अनुसार पम्पहरू निगरानीमा राख्ने काम सुरु भएको छ ।
निगमका अनुसार प्रादेशिक कार्यालयहरूले सीमा क्षेत्रमा दैनिक पाँचवटा पम्पको निरीक्षण गरी आवश्यक विवरण सङ्कलन गरिने भएको छ । पम्पहरूले दैनिक बिक्री वितरणको विवरण राख्नुपर्ने व्यवस्था गरिएको छ ।
ड्रम, जर्किन, बोतलजस्ता भाँडामा पेट्रोलियम पदार्थ बिक्री वितरण पूर्णतः बन्देज लगाउन निगमले निर्देशन गरेको छ । भारततर्फ जाने ठूला सवारीसाधन बस, ट्रक तथा ट्याङ्करलाई अधिकतम एक सय लिटरभन्दा बढी तेल बिक्री नगर्न निर्देशन गरिएको छ । निगमले सीमा क्षेत्रमा चेकजाँच कडाइ गरिएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?