logo
२०८१ बैशाख २१ शुक्रवार



पुरानो पाइप लाइनबाट पनि मेलम्चीको पानी

अर्थ |


पुरानो पाइप लाइनबाट पनि मेलम्चीको पानी



लक्ष्मण दर्नाल

काठमाडौँ, फागुन २१ गते । मेलम्चीको पानी काठमाडौँ आएपछि नयाँ र पुरानै वितरण प्रणालीबाट वितरण गरिनेछ । तत्काल नयाँ पाइप लाइनबाट मात्रै सम्भव नहुने भएपछि आयोजना निर्देशनालय पुरानो वितरण प्रणालीबाट पनि वितरण गर्ने तयारीमा छ ।
मेलम्चीको सुरुङ परीक्षणका लागि पानी पथान्तरण भइरहेको छ । परीक्षण सफल भए दुुई महिनापछि काठमाडौँ उपत्यकामा पानी आउनेछ । सुन्दरीजलमा आएको पानी प्रशोधन केन्द्रबाट चक्रपथका विभिन्न पानी ट्याङ्कीहरूमा पु¥याएर वितरण प्रणालीबाट ग्राहकका धारामा पठाइनेछ । मेलम्चीको पानी आएपछि पहिलो चरणमा प्रसारण लाइन र पाइप लाइन परीक्षण गरिने मेलम्ची खानेपानी उपआयोजना–२ आयोजना निर्देशनालयले जनाएको छ ।
करिब एक हप्ताको परीक्षणपछि नियमित रूपमा पानी वितरण हुनेछ । मेलम्चीको पानी घरघरमा वितरण गर्ने पाइप लाइन विस्तार तथा मर्मत गरी तयारी अवस्थामा राखिएको निर्देशनालयका उपनिर्देशक उज्ज्वल प्रजापतिले जानकारी दिनुुभयो । उहाँका अनुसार नयाँ पाइप लाइन र पुरानै वितरण प्रणालीबाट तत्कालका लागि मेलम्चीको पानी वितरण गरिने ।
मेलम्ची खानेपानी उपआयोजना–२ आयोजना निर्देशनालयले एक हजार १० किलोमिटर पाइप लाइन निर्माण गर्नुपर्नेमा ९८० किलोमिटर सम्पन्न गरेको छ । थोक वितरण प्रणालीको ७७ किलोमिटरमध्ये ७५.५ किलोमिटर सम्पन्न भइसकेको छ । थोक वितरण प्रणालीको परीक्षण सकिएको छ ।
चक्रथपभित्रको वितरण प्रणाली पहिलो चरणमा सम्पन्न गरिएको छ । दोस्रो चरणको वितरण प्रणाली चक्रपथबाहिरको क्षेत्रमा हुनेछ । चक्रपथबाहिरको क्षेत्रलाई याङ्री र लार्के खोलाको पानी थप हुँदासम्म पाइप लाइन विस्तार गरिनेछ । हाल मेलम्ची आउनासाथ आफूहरू पानी वितरण गर्न सकिने अवस्थामा रहेको उपनिर्देशक प्रजापतिको भनाइ छ । पुरानो वितरण प्रणाली पनि मर्मत गरी तयारी अवस्थामा राखिएकाले हालकै अवस्थामा मेलम्चीको पानी वितरण गर्न सकिने उहाँको भनाइ छ ।

बनिसके नौवटा ट्याङ्की
सुन्दरीजलमा आएको मेलम्चीको पानी विभिन्न स्थानमा निर्माण भएका पानी सङ्कलन केन्द्रका ट्याङ्कीमा भण्डारण गरी वितरण गरिनेछ । यसका लागि उपत्यकामा १० वटाको निर्माण सकिएको छ भने नौवटा निर्माणको अन्तिम अवस्थामा छन् । मेलम्चीको पानी आएपछि ती ट्याङ्कीकोपरीक्षण गरिनेछ ।
आरुबारी, महाँकाल चौर, बाँसबारी, पानीपोखरी, बालाजु र ललितपुरको खुमलटारको ट्याङ्की सम्पन्न भएका छन् । भक्तपुर कटुन्जेको ट्याङ्की निर्माण भइरहेको छ । १० वटा पानी पोखरीमा ७४ हजार पाँच सय घनमिटर पानी सङ्कलन हुनेछ । यी पोखरी तीन हजारदेखि नौ हजार पाँच सय घनमिटर क्षमताका छन् ।
भल्भ च्याम्बर एकदेखि चारसम्मका प्याकेजमा २२२ मध्ये २१० वटा निर्माण भइसकेका छन् भने १२ वटा बाँकी छन् । निर्देशनालयले एक लाख दुई हजार ५७४ धारा जडान गर्नुपर्नेमा हालसम्म ७५ हजार धारा जडान गरिसकेको छ ।

एक प्रशोधन केन्द्र सम्पन्न
फोहोर पानी प्रशोधन गर्न करिब छ अर्ब २९ करोड रुपियाँ लगानीका प्रशोधन केन्द्रहरू निर्माण भइरहेका छन् । आयोजना निर्देशनालयले पाँचवटा प्रशोधन केन्द्रमध्ये एउटा सम्पन्न गरेको छ । बाँकी चारवटाको काम करिब ५० प्रतिशत सम्पन्न छ । प्रशोधन केन्द्र निर्माणको काम करिब तीन वर्षअघि सुरु भएको थियो ।
गुह्येश्वरीको प्रशोधन केन्द्र सम्पन्न भएको छ तर ग्यासबाट बिजुली निकाल्ने काम भने बाँकी रहेको प्रवक्ता प्रजापतिले जानकारी दिनुभयो । सल्लाघारी, बालकुमारीको प्रशोधन केन्द्रको काम करिब ५० प्रतिशत मात्र सम्पन्न भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?