काठमाडौं, पुस १० गते । चिसो मौसममा जल्दै गरेका कोइलाको तातो राप । भुङ्ग्रोमा लस्करै दर्जन बढी साना माटोका भाडा । साइडमा भुङ्ग्रोको राप बढाउन राखिएको फ्यान, माटोका भाडा छोपेका प्लेट बाफले उफ्रिदा आएको खटखट आवाज । दैनिक सयौँ भाडामा यसरी पाक्छ कटिया ।
काठमाडौं तीनकुनेबाट कोटेश्वरलाई दाहिने छाडेर विमानस्थलतर्फ तीन सय मिटर अगाडि बढ्दा गैरीगाउँ पुगिन्छ । गौरी गाउँको उकालो नपुग्दै बाँयापट्टी देखिन्छ, ‘लेकाली किचन एण्ड कटिया हाउस’ । जहाँ, हिमाल, पहाड र तराईका विभिन्न स्वादका परिकार पाइन्छ । यहाँको विशेषता भनेको ‘कटिया’ अर्थात् माटोको भाडोमा पाकेको मासु हो ।
कटिया हाउस प्रवेश गर्दा चिसो मौसमसँगै गेटमै चौकीदारले न्यायो स्वागत गर्छन् । अतिथि प्रवेश गर्ने र स्टाफ मेनु लिएर ओहोर–दोहोर गर्नेक्रम बाक्लै देखिन्छ । त्यही भीडमा भेटिनुहुन्छ
कटिया हाउसका सञ्चालक मधुसुदन ढकाल । सबै आगन्तुकलाई नमस्कार गर्दै सेवा गर्न अगाडि सर्नु उहाँको दैनिकी हो । जसरी स्वागत गर्नुहुन्छ त्यसैगरी ‘जय होस्’ भन्दै बिदा गर्न आफैँ गेटसम्म पुग्नुहुन्छ ।
रौतहटमा पाइने रैथाने कटिया पछिल्लो समय काठमाडौंका मासु पारखी माझ लोकप्रिय बन्दै गएको छ । कटिया चर्चित भए पनि थकाली खाना, कोदोको ढिडो, फापर, च्याङ्ग्राको सुकुटी, पालेको कालिजको मासु, बँदिया कुखुरा (खसी पारेको कुखुरा)को परिकार पनि पाइन्छ ।
कटिया हाउस नपुग्नेलाई यो कसरी बनाइन्छ भन्ने चासो लाग्नु स्वभाविक हो । खसीको मासुलाई माटोको भाडामा राखेर आगोको भुङ्ग्रोमा पकाइन्छ । त्यसलाई स्वादिलो पार्न लोकल प्याज, लसुन, खुर्सानी र आफैंले पिसेर बनाएको मसला हालिन्छ । घरमा पाक्ने खसीको मासु भन्दा फरक स्वादका लागि कटियामा खसीको मासुमा लसुनको पोटी, सिङ्गो जिरा, खुर्सानी, ल्वाङ, सुकुमेल, दालचिनी, सबै नपिसी राखिन्छ । जसमा पानीको प्रयोग हुँदैन ।
एउटा कटिया पाक्न कम्तिमा आधा घण्टा लाग्छ । एकसाथ २० वटा कटिया तयार गर्न सकिने सञ्चालक ढकाल सुनाउनुहुन्छ । ‘एउटा कटिया पाक्न आधा घण्टा लाग्छ’, सञ्चालक ढकाल भन्नुहुन्छ, ‘कटिया हाउसमा एकसाथ आधा घण्टामा २० वटासम्म कटिया तयार गर्न सक्छौँ ।’
अहिले कटिया हाउसको सञ्चालक बन्नुभएका ढकालसँग मिडिया क्षेत्रमै काम गरेको अनुभव छ । मिडियामा काम गर्दागर्दै व्यवसायमा रुचि बढेको उहाँ सुनाउनुहुन्छ । ‘कामको दौरान विभिन्न ठाउँमा पुग्दा कटियाको स्वाद अर्गानिक लागेका कारण आफै व्यवसाय गर्ने सोच आयो’, उहाँले भन्नुभयो र्। रेष्टुरेन्ट खोल्न रुपेश अधिकारीले उहाँलाई प्रोत्साहन र सहयोग गर्नुभयो । त्यसपछि पाँच जनाको समूह मिलेर कटिया हाउस सञ्चालनमा आएको हो ।
पाँच जनाको सहकार्यमा करिब ८५ लाखसम्मको लगानी गरेर व्यवसाय सुरु भएको हो । कटिया बनाउनको लागि रौतहटबाटै ‘कुक’ ल्याएको उहाँ सुनाउनुहुन्छ । ‘उपत्यकामा कटिया बनाउने मान्छे नपाएपछि हामी कुक खोज्न रौतहट पुग्नुपर्ने अवस्था थियो’, ढकाल भन्नुहुन्छ, ‘अहिले हामीसँग कटिया पकाउने सीप भएका थुप्रै जना हुनुहुन्छ ।’
कटिया हाउसमा अहिले २० जना स्टाफ छन् । खानाको मूल्य १५० देखि एक हजार रुपैयाँसम्म पर्छ । ‘खानाको मूल्य १५० देखि १ हजार रुपैयाँसम्म पर्छ’, उहाँले भन्नुभयो । ढकालका अनुसार मटन कटियाको मूल्य ७५५ रुपैयाँ छ । लोकल चिकेन कटियाको मूल्य ६५० र बोइलर कटियाको मूल्य ५५० पर्छ ।
मटन र चिकेन नखानेलाई भेज कटिया
मटन र चिकेन नखानेहरूको लागि कटिया हाउसमा भेज कटिया पनि पाइन्छ । भेज कटियामा च्याउ, पनिरदेखि आलु र काउलीसम्म प्रयोग हुने ढकाल सुनाउनुहुन्छ । ‘मासु नखाने आगन्तुकका लागि हामी च्याउ, पनिर, आलु काउली र गाँजरबाट भेज कटिया बनाएर नयाँ स्वाद चखाउछौँ’,
रेस्टुरेन्ट वार्षिक ५० लाख सम्मको आम्दानी हुने उहाँ बताउनुहुन्छ । ‘रेष्टररेन्टबाट यति नै आम्दानी हुन्छ भन्ने अनुमान गर्न सकिँदैन’, ढकाल भन्नुहुन्छ, ‘वार्षिक ५० लाखसम्म आम्दानी हुन्छ ।’
नेपाली खानालाई प्रोत्साहन गरेकाले अतिथिको चासो कटिया हाउसमा हुने गरेको उहाँको अनुभव छ।
कटियासँगै थकाली खाना रोजाइमा पर्ने उहाँले सुनाउनुभयो । ‘हामीले खुवाउने गरेको कटिया मात्र होइन, थकाली खानाको स्वाद पनि उत्कृष्ट छ’, ढकाल भन्नुहुन्छ, ‘पैसा जहाँ कमाइन्छ त्यहाँ रमाइलो हुन्छ । व्यवसायमा लागेको कुनै गुनासो छैन ।’