logo
२०८१ जेष्ठ ४ शुक्रवार



किसानलाई हाते ट्याक्टर वितरण

अर्थ |
खुला |
प्रदेश |


किसानलाई हाते ट्याक्टर वितरण


बेलिना थापा
लमजुङ, फागुन ३ गते । लमजुङको क्व्होलासोंथर गाउँपालिकाका किसानलाई हाते ट्याक्टर वितरण गरिएको छ । गाउँपालिकाले कृषिमा यन्त्रीकरण गरी लागत घटाउने र उत्पादन बढाउन किसानलाई हाते ट्याक्टर प्रदान गरेको बताएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८–७९ मा विनियोजन गरेको ५ लाख रुपियाँ बजेटमा ट्याक्टर खरिद गरी किसानलाई वितरण गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत त्रिलोकचन्द्र गुरुङले बताउनुभयो । कृषिलाई यन्त्रीकरणसँग जोड्न र उत्पादन बढाउन अनुरोध उहाँले गर्नुभएको छ ।

गाउँपालिका कृषि शाखा प्रमुख श्रीकान्त न्यौपानेले बर्खा र हिउँद गरी दुवै समय चलाउन मिल्ने २ वटा चक्कासहित किसानलाई हाते ट्याक्टर प्रदान गरिएको बताउनुभयो । डिजेलबाट चल्ने ६ हर्सपावर र ७ हर्सपावर गरी २ प्रकारको ट्याक्टर वितरण गरिएको बताउनुभयो । एउटाको ६५ हजार रुपियाँ मूल्य पर्ने ट्याक्टरलाई ५० प्रतिशत अनुदान दिई ३२ हजार ५ सय रुपियाँ गाउँपालिकाले ब्यहोरेको र बाँकी किसान आफैंले लगानी गरेको उहाँले बताउनुभयो ।

गाउँपालिकाले हरेक बर्ष हाते ट्याक्टर वितरण गर्दैआएको छ । गतवर्ष पनि हाते ट्याक्टर वितरण गरिएको सो कार्यालयले जनाएको छ । यसले किसानलाई थप सहज बनाएपछि चालु आर्थिक वर्षमा पनि कार्यक्रमलाई निरन्तरता दिइएको गाउँपालिकाको भनाई छ । यस बर्ष १२ जना किसानको आवेदन परेकोमा ९ जनालाई विरतण गरिएको छ ।

गतवर्ष १७ जनाको निवेदन परेकोमा ८ जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको थियो । ब्यवसायिक रुपमा कृषि क्षेत्रमा लागेकालाई मध्येनजर गरी ट्याक्टर वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेकाअनुसार पछिल्लो समय गोरु पाउन मुस्किल परेको र युवा पुस्ता विदेश पलायन भएकाले खेतीयोग्य जमिन बाँझो बनेको स्थानीयको गुनासो छ । हाते ट्याक्टरले बाँझो खेत जोत्न सहज हुने भएकाले कृषकलाई हाते ट्याक्टरको व्यवस्था गरिएको उहाँले बताउनुभयो । बाँझो जग्गामा सहज रुपमा खेती गर्न गाउँपालिकाले ट्याक्टर सहयोग गरेको उहाँले बताउनुभयो । विदेश गएका युवालाई गाउँमै फर्काएर कृषि कर्ममा आकर्षित गराउन र स्वरोजगार बनाउन पनि हाते ट्याक्टरले सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?