logo
२०८० चैत्र १५ बिहीवार



चाडपर्वमा पनि पठनपाठन

शिक्षा |
मुख्य समाचार |


चाडपर्वमा पनि पठनपाठन


शेषकान्त पण्डित

काठमाडौँ, कात्तिक ४ गते । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण घरमै बसेर अध्ययन (होम स्कुलिङ) गरेका विद्यार्थीले चाडपर्वका बेलामा समेत आफ्नो पठनपाठनलाई निरन्तरता दिने भएका छन् । सरकारले वैकल्पिक विधिलाई पठनपाठनको मूलधारका रूपमा स्वीकृति दिएको तथा निर्धारित समयमै पठनपाठन पूरा गरी शैक्षिक सत्रसमेत दुपयोग गर्नुपर्ने भएकाले चाडपर्वको बिदा छोट्याएर पढाइ अघि बढाउने योजनामा विद्यालयहरू जुटेका छन् ।
ललितपुरको आदर्श सौल युवक माध्यमिक विद्यालयका प्रधानाध्यापक सरोजभक्त आचार्य यस पटक कात्तिक ६ देखि १६ गतेसम्म मात्रै विद्यार्थीलाई बिदा दिने र अरू बेला अनलाइन कक्षा नियमित सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस पटक चाडपर्वको मुखैमा पनि बालबालिकाको कक्षा नियमित गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । सरकारले आगामी चैतमा यस वर्षको शैक्षिक सत्र पूरा गर्ने भनेकाले पनि विद्यार्थीको पढाइमा केही कसिलो बनाउनुुपर्ने अवस्था रहेको जनाइएको छ । बिदा कम दिने नै आफूहरूको नीति रहेको उल्लेख गर्दै प्रअ आचार्यले निर्धारित समयमा कोर्स पूरा गर्न आफूहरूलाई हम्मेहम्मे पर्ने स्थिति देखिएको बताउनुभयो । कोर्स पूरा गर्न नसकिने अवस्था भएको खण्डमा सरकारको निर्देशनअनुसार पाठ्यक्रम छोट्याउनुपर्ने उहाँको भनाइ छ । विद्यार्थीको पठनपाठन अघि बढाएर आगामी मङ्सिरमा पहिलो सत्रको परीक्षा लिने कार्ययोजना विद्यालयले बनाएको छ ।
कलङ्कीस्थित जनपथ माध्यमिक विद्यालयका प्रधानाध्यापक जितबहादुर लामिछाने सामुदायिक विद्यालयका अनलाइन कक्षामा हालै मात्र विद्यार्थी जोडिने क्रम बढ्दै गएकाले केही दिन कक्षा अझै नियमित हुने बताउनुहुन्छ । दशैँमा बढीमा १० दिन मात्रै बिदा दिएर चाडपर्वमा समेत विद्यार्थीलाई घरमै बसेर गरिने अध्ययनलाई निरन्तरता दिन आफूहरूले आग्रह गरेको उहाँको भनाइ छ । कोरोना भाइरसका कारण धेरै महिना सार्वजनिक विद्यालयको कक्षा कोठा सञ्चालन हुन नसकेको अवस्थामा अब थप गतिका साथ पढाउनुपर्ने र विद्यार्थी तथा अभिभावकलाई पनि सोहीअनुसार जानकारी गराइएको उहाँ बताउनुहुन्छ । विद्यार्थीलाई चाडपर्वका बेलामा पनि पढ्न र परीक्षाका लागि समेत तयार हुने गरी आफूहरूले प्रशिक्षित गरेको जानकारी प्रअ लामिछानेले दिनुभयो । तिहारअघि नै पहिलो त्रैमासिक परीक्षा लिने योजना रहेको जनाइएको छ ।

छुटेका विद्यार्थी मुख्य चुनौती
सामुदायिक विद्यालयमा अध्ययन गर्ने तर हालको अनलाइन कक्षामा अध्ययन गर्न छुटेका विद्यार्थीलाई कसरी समेट्ने भन्ने कुरा यति बेला सबैभन्दा मुख्य समस्याका रूपमा रहेको जनाइएको छ । प्रधानाध्यापकहरूले अनलाइन कक्षामा छुटेका विद्यार्थीलाई विद्यालयमै बोलाएर दशैँको अवधिको गृहकार्य दिएको र सहजीकरणको प्रयास गरिएको जनाएका छन् । प्रअहरूका अनुसार माथिल्लो कक्षामा अनलाइनमा विद्यार्थीको उपस्थिति राम्रै भए पनि तल्लो तहमा न्यूून उपस्थिति छ ।
निजी विद्यालयले भने पठनपाठन प्रभावकारी रूपमा अघि बढाइएको र समयमै शैक्षिक सत्र सदुपयोग गर्न कुनै समस्या नरहेको जनाएका छन् ।

कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाउन निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुसार अध्यापन कार्य अगाडि बढाउन निर्देशन दिएको छ ।
कक्षा ११ को स्वीकृत नयाँ पाठ्यक्रमअनुसार मात्र विद्यार्थी भर्ना गराउन र विद्यार्थीको मूल्याङ्कन पनि सोहीअनुसार गर्न मन्त्रालयले सोमबार सबै विद्यालयलाई निर्देश गरेको हो ।
कतिपय विद्यालयले पुरानै पाठ्यक्रमअनुसार अध्यापन गराएको पाइएपछि मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी सरकारको निर्देशनअनुसार नै नयाँ पाठ्यक्रम लागू गराउन निर्देशन दिएको हो । मन्त्रालयका तर्फबाट उपसचिव विदुरकिरण गिरीले जारी गर्नुभएको विज्ञप्तिमा कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुसार अध्यापन गरे नगरेको अनुगमन गर्न स्थानीय तहलाई समेत आग्रह गरिएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?