logo
२०८१ बैशाख ७ शुक्रवार

   काँग्रेसको १४औँ महाधिवेशन   



छोटो कार्यतालिकामै सक्नुपर्ने

मुख्य समाचार |


छोटो कार्यतालिकामै सक्नुपर्ने


शेषकान्त पण्डित

काठमाडौँ, कात्तिक २८ गते । नेपाली काँग्रेसले एक महिनाको छोटो कार्यतालिकामा १४औँ महाधिवेशनको सबै प्रक्रिया पूरा गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । पार्टीको वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशन पूरा गर्न काँग्रेसलाई अब एक महिनाभन्दा लामो समय नमिल्ने भएको छ । कात्तिक २७ गते स्थगित वडा अधिवेशन सुरु गरेर आउँदो मङ्सिर २७ गतेसम्म पार्टीको केन्द्रीय नेतृत्व चयन गर्नुपर्ने जिम्मेवारी रहेको पार्टीका केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेव यादवले बताउनुभयो ।
कार्यतालिकाअन्तर्गत सिन्धुपाल्चोक, डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रसुवा र रौतहट गरी १४ जिल्लामा शनिबार वडा अधिवेशन भएका छन् । सर्लाहीमा निर्वाचन अधिकृतले राजीनामा दिएपछि नयाँ निर्वाचन अधिकृत पठाइएको छ । वडा अधिवेशन सकिएपछि ती जिल्लामा गाउँ, नगर अधिवेशन कात्तिक ३० गते तोकिएको छ । त्यसैगरी, प्रदेश सभा क्षेत्रीय अधिवेशन मङ्सिर ३ गते र जिल्ला अधिवेशन मङ्सिर १० गते हुनेछ ।
साथै, विभिन्न ४६ वटा जिल्लामा आउँदो मङ्सिर ३ गते प्रदेश सभा, मङ्सिर ६ गते क्षेत्रीय र मङ्सिर १० गते जिल्ला अधिवेशन गरिनेछ । पार्टीको वडा अधिवेशन भएर नगरपालिकासम्मको अधिवेशन भएका जिल्लामा यो कार्यतालिकाअनुसार महाधिवेशनको प्रक्रिया अघि बढ्ने जनाइएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ, सुनसरी, सिन्धुली, काभ्रे, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौँ, लमजुङ, तनहुँ र कास्की जिल्लामा यो कार्यतालिका लागू हुनेछ । साथै पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान, दाङ, बर्दिया, रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, डोटी, अछाम, बैतडी, डडेल्धुरा र कञ्चनपुर जिल्लामा यही कार्यतालिका लागू गरिने निर्वाचन समितिले जनाएको छ ।
जुम्लाको जिल्ला अधिवेशन मङ्सिर १ गतेका लागि तथा सोलुखुम्बु, दार्चुला र म्याग्दी गरी तीन जिल्लामा कात्तिक २७ गते प्रदेश सभा अधिवेशन र मङ्सिर १ गते क्षेत्रीय र जिल्ला अधिवेशन हुनेगरी तोकिएको छ । काँग्रेसको हालसम्म १३ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ ।

पार्टीले महाधिवेशन तयारीबारे छलफल गर्न आइतबार केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक पूर्ण रूपमा महाधिवेशनकेन्द्रित हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा पार्टीको महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, साङरगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्न विभिन्न समिति गठन गर्ने तयारी गरिएको छ ।
यसैबीच, काँग्रेसको केन्द्रीय निर्वाचन समितिले डडेल्धुरामा भएको वडा र पालिकास्तरको अधिवेशनलाई मान्यता दिने निर्णय गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन अधिकृतले विधानअनुसार नै गराएको निर्वाचनलाई मान्यता दिइएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?