logo
२०८१ बैशाख २७ बिहीवार



एसईईको टुङ्गोपछि शैक्षिक सत्रको निधो

शिक्षा |


एसईईको टुङ्गोपछि शैक्षिक सत्रको निधो


शेषकान्त पण्डित

काठमाडौँ, जेठ ११ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको टुङ्गो लागेपछि मात्र नयाँ शैक्षिक सत्रबारे निर्णय हुने भएको छ । एसईईले समग्र शैक्षिक कार्यक्रम नै प्रभावित पार्ने भएकाले नयाँ शैक्षिक सत्रबारे निर्णय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय केही समय पर्खने भएको हो ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले नयाँ शैक्षिक सत्र असारदेखि प्रारम्भ गर्ने निर्णय सरकारले गरे पनि कोरोना महामारीका कारण अवस्था फेरिन सक्ने बताउनुभयो । सङ्क्रमण कसरी जान्छ भन्ने आधारमा नै धेरै कुराको टुङ्गो लाग्ने उहाँको भनाइ छ ।

एसईईबारे अध्ययन जारी
एसईई परीक्षा सञ्चालन सम्बन्धमा अध्ययन गर्न राष्ट्रिय परीक्षा बोर्डबाट गठित कार्यदल अध्ययन र सुझाव सङ्कलन गर्ने क्रममै रहेको जनाइएको छ । मन्त्रालयका प्रवक्ता शर्माले अध्ययन कार्यदलले प्रतिवेदन बोर्डमा पेस गर्ने र बोर्डको सिफारिस प्राप्त भएपछि यस विषयमा निर्णय हुने जानकारी दिनुभयो ।
यसअघि सरकारले जेठ १३ देखि एसईई सञ्चालन गर्ने निर्णय गरेको थियो तर कोभिड सङ्क्रमण बढेपछि अर्को सूचना नभएसम्म परीक्षा रोकिएको छ । कक्षा १२ को परीक्षा पनि हाल रोकिएको छ ।

फरक–फरक अभ्यास
नयाँ शैक्षिक सत्रको सुरुआत तथा हालको शैक्षिक सत्रमा पठनपाठनका सम्बन्धमा स्थानीय तहका फरक–फरक अनुभव आएको मन्त्रालयले जनाएको छ । केही स्थानीय तहले पठनपाठन पूरा गरी परीक्षासमेत लिइसकेको तर ढिलो गरेर पठनपाठन सुरु गरेका स्थानीय तहमा भने पठनपाठन नै पूरा हुन नसकेको जानकारी आएको प्रवक्ता शर्माले बताउनुभयो ।
कोरोनाका कारण केही स्थानीय तहमा कात्तिकपछि त केहीमा त्यसभन्दा पनि ढिलो पठनपाठन सुरु भएका कारण एकरूपता कायम हुन नसकेको उहाँको भनाइ छ । ढिला गरी पठनपाठन सुरु भएका स्थानीय तहका विद्यालयले अन्तिम वार्षिक परीक्षासमेत लिन बाँकी छ ।
सरकारले जेठभित्र अन्तिम वार्षिक परीक्षा सक्न र असारबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने कार्यतालिका बनाएको थियो । विद्यार्थीको सिकाइ उपलब्धि हासिल हुन नसक्ने भन्दै सरकारले चैतमा सकिने शैक्षिक सत्र यस पटकको जेठसम्म पु-याउने निर्णय गरेको थियो । शैक्षिक सत्र दुई महिना लम्ब्याइए पनि दोस्रो लहरको सङ्क्रमण फैलिएपछि त्यो योजनासमेत कार्यान्वयन हुन समस्या आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?