logo
२०८१ असोज ७ सोमवार



लमजुङमा नेपाली सेना कृषि विज्ञान संस्थान स्थापना

शिक्षा |
खुला |


लमजुङमा नेपाली सेना कृषि विज्ञान संस्थान स्थापना



बेलिना थापा
लमजुङ, साउन २५ गते । लमजुङको बेंसीसहर नगरपालिका वडा नं. २ बगालेगाउँमा नेपाली सेना कृषि विज्ञान संस्थान स्थापना गरिएको छ ।
नेपाली सेनाको कल्याणकारी योजना अन्तर्गत सैनिक कल्याणकारी कोषद्धारा स्थापित उक्त कृषि विज्ञान संस्थानको सोमबार नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति थापाले सैनिक कल्याणकारी कोषको अधिनमा रहेर शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको बताउनुभयो । उक्त संस्थानमा सैनिक र गैर सैनिक परिवारका सन्ततिले सर्वसुलभ रुपमा गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने बताउनुभयो । परम्परागत नभई आधुनिक कृषि प्रणालीमा जोड दिन आवश्यक रहेकाले संस्थान स्थापना गरिएको बताउनुभयो । कृषि विज्ञान संस्थाले कृषि क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्ने बताउनुभएको छ । नमुना कृषि अध्ययन केन्द्र निर्माण गरी कृषिमा आधुनिकीकरण, व्यवसायीकरण गर्ने र विकसित राष्ट्रको प्रविधि अबलम्बनमा जोड दिनुभएको छ । अब कृषिमा नयाँ क्रान्ती ल्याउन सकिने, सैनिक र नागरिकको सम्बन्ध विस्तार हुने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका शिक्षा सचिव रामप्रसाद थपलियाले जिवन निर्वाह भन्दा पनि व्यवसायीक कृषिमा लाग्नुपर्ने बताउनुभयो । व्यवसायीक कृषिको विकासका लागि कृषि विज्ञान संस्थानको ठूलो भूमिका रहने बताउनुभयो । उहाँले लमजुङको संस्थानलाई नमुना, उत्कृष्ट बनाउनुपर्ने, पहिलो रोजाई बनाउनुपर्ने भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
साउन २६ गतेबाट लागुहुने गरी तोकिएको नेपाली सेनाका कायम मुकायम प्रधान सेनापति प्रभुराम शर्माले कृषि अनुसन्धान केन्द्रमा सबै नागरिकले अध्ययन गर्ने मौका पाउने भएकाले विदेश पुगेर घाममा काम गर्न नपर्ने र स्वदेशमै रोजगार सिर्जना हुने बताउनुभयो । कृषि महत्वपूर्ण कुरा भएकाले सबैले व्यवसायीकतामा जोड दिनुपर्ने बताउनुभयो ।
नेपाली सेना कृषि विज्ञान संस्थानका प्राचार्य श्यामकृष्ण घिमिरेका अनुसार उक्त संस्थान ४ सय ५० रोपनी क्षेत्रफलमा फैलिएको छ ।
प्रशासन तथा शैक्षिक क्षेत्रमा भवनलगायतको पूर्वाधार, छात्राबास, प्रयोगशाला निर्माण सम्पन्न गरेर सञ्चालन गरिएको छ । कृषि क्षेत्रमा फार्म स्थापना, फलफुल, तरकारी, मसला, नगदे बाली, अन्नबाली, फलफुलको बगैंचा चिया बगान स्थापना गरिएको गरिएको छ । पशुपालन क्षेत्रमा कुखुराफार्म, गाईफार्म, बाख्राको फार्म, बगुंर फार्म, माछापोखरी स्थापना गरिएको छ ।
संस्थानले बीएस्सी.एजीको अध्यापन गर्नका लागि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ । मंसिर महिनाबाट पठनपाठन सुरु हुने उहाँले बताउनुभयो । कार्यक्रममा बेंसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, वडा नं. २ का अध्यक्ष गणेश कँडेल, प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेल, प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्की, श्रीजंण गण उदीपुरका गणपति प्रमुख सेनानी जयराम थापा, शसस्त्र प्रहरी बल रानीकुवाका प्रहरी नायव उपरीक्षक नवराज थापा, अनुसन्धान प्रमुख कुमार बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।

लमजुङको बेंसीसहर नगरपालिका वडा नं. २ बगालेगाउँमा नेपाली सेना कृषि विज्ञान संस्थानको उद्घाटन गर्दै नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापा । तस्बिरः लमजुङ समाचारदाता ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?