logo
२०८१ जेष्ठ ५ शनिवार



प्राध्यापकले उत्तरपुस्तिका नबुझाउँदा !

शिक्षा |


प्राध्यापकले उत्तरपुस्तिका नबुझाउँदा !


सूर्यप्रसाद पाण्डे

काठमाडौँ, पुस ११ गते । प्राध्यापकले परीक्षण गर्न लगेका उत्तरपुुस्तिका समयमै फिर्ता नगर्दा त्रिभुवन विश्वविद्यालयले गर्ने परीक्षाको नतिजा प्रकाशनमा ढिलाइ हुने गरेको छ ।
त्रिविमा सामान्यतया परीक्षा सम्पन्न भएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्ने नियम छ । तर, स्नातक तहका केही विषयको परीक्षा सकिएको एक वर्ष बितिसक्दा पनि नतिजा प्रकाशन भएको छैन । त्रिविको कमजोरीले विद्यार्थीमा मानसिक असर पर्ने गरेको छ ।

स्नातक तह दोस्रो वर्षको केही विषयको परीक्षा गत फागुनमै सकिएको थियो । सोही तहका केही विषयको परीक्षा गत भदौमा सम्पन्न भएको थियो । परीक्षा सञ्चालन भइरहँदा कोरोना सङ्क्रमण फैलिएपछि जारी गरिएको बन्दाबन्दीका कारण बाँकी परीक्षा भदौमा सारिएको थियो ।

दोस्रो वर्षको परीक्षा दिएर तेस्रो वर्षको पढाइसमेत सकिइसकेको छ । तर, अघिल्लो वर्षकै नतिजा नआउँदा आफूहरूलाई तनाव भएको विद्यार्थीको गुनासो छ । कलङ्कीस्थित सिद्धार्थ मल्टिपल कलेजमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत कविता सुवेदीले भन्नुभयो, “दोस्रो वर्षको परीक्षा दिएको एक वर्ष हुन लाग्दा पनि नतिजा आएको छैन । तेस्रो वर्षको पढाइ सकिइसक्यो । अब कहिले परीक्षा दिएर नतिजा आउने हो । त्रिविको पारा सम्झँदा पनि दिक्क लाग्छ । ”

परीक्षा नियन्त्रक पुष्पराज जोशीले नतिजा सार्वजनिक गर्न अझै केही साता लाग्ने जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयमा काम गर्ने कर्मचारी अभावका कारण समयमै नतिजा सार्वजनिक गर्न नसकिएको हो । उहाँले कार्यालयमा हाल रहेका कर्मचारीमध्ये सबै सूचना प्रविधिमा अभ्यस्त नहुँदा पनि समस्या आएको जानकारी दिनुभयो ।

प्राध्यापकबाट उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणमा ढिलो हुँदा पनि समयमै नतिजा प्रकाशन गर्न नसकिएको हो । उहाँले भन्नुभयो, “तुलनात्मक रूपमा परीक्षणभन्दा सम्परीक्षणमा बढी समस्या हुने गरेको छ । ” एक जना प्राध्यापकले परीक्षण गरेको उत्तरपुस्तिका अन्य प्राध्यापकबाट पुनः परीक्षण गरिने कार्य सम्परीक्षण हो ।

पनिकाकै गोप्य शाखाका एक कर्मचारीका अनुसार कुनै विषयमा प्राध्यापकले सम्परीक्षण गर्न लगेको उत्तरपुस्तिका तीन महिनासम्म पनि फिर्ता नगर्ने प्रवृत्ति छ । यस्तो समस्या व्यवस्थापन सङ्कायअन्तर्गतका विषयमा धेरै छ ।
कतिपय अवस्थामा प्राध्यापकले उत्तरपुस्तिक परीक्षण गर्न घर लगेर अन्य व्यक्तिलाई नै परीक्षण गर्न लगाउने गरेको गुनासो पनि त्रिविमा छ । घरमा लगेको उत्तरपुस्तिका हराएपछि विद्यार्थीको दोहो-याएर परीक्षा गरिएको उदाहरण पनि त्रिविमा प्रशस्तै छ । तर, यस्तो घटनामा पनिकाका पदाधिकारी खुलेर प्राध्यापकको विरोध गर्न सक्दैनन् ।

केही वर्षअघि पब्लिक युथ क्याम्पसमा अध्ययनरत विद्यार्थीको उत्तरपुस्तिका हराएपछि दोहो-याएर परीक्षा सञ्चालन गरिएको थियो । कर्मचारी अभावको समस्या समाधानका लागि विश्वविद्यालय नेतृत्वलाई पटक–पटक अनुरोध गर्दा पनि सुनुवाइ भएको छैन । परीक्षा नियन्त्रक जोशीले भन्नुभयो, “अब छिट्टै कर्मचारी अभाव पूर्ति गर्ने आश्वासन पाएको छु । कर्मचारी पाएको तीन महिनाभित्रमा सबै नतिजा सार्वजनिक गर्छु । ”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?