logo
२०८१ बैशाख ८ शनिवार



दुई दर्जन अविष्कार अन्तिम चरणमा

मुख्य समाचार |


दुई दर्जन अविष्कार अन्तिम चरणमा


काठमाडौँ, फागुन १५ गते । प्रविधि विकास वा आविष्कारका लागि तीन वर्षको समय पर्याप्त होइन, न त लामो नै । त्यस अवधिमा भएको १० करोड रुपियाँ खर्च पनि धेरै होइन । जनस्तरबाट जम्मा भएको रकम आधार मान्ने हो भने त यो रकम निकै हो पनि ।

समय, खर्चको स्रोत र रकमका आधारमा नतिजा हेर्दा अझ सन्तोषजनक आधार देखिन्छ । राष्ट्रिय आविष्कार केन्द्रले विकास वा आविष्कार गरेका दुई दर्जन औजार तथा उपकरण परीक्षण अन्तिम चरणमा छन् । केही परीक्षणमा सफल भएर प्रयोगमा आइसकेका छन् । केन्द्रका अध्यक्ष डा. महावीर पुनका अनुसार केन्द्र स्थापना भएको तीन वर्ष भएको छ । अहिलेसम्म १५ करोड सङ्कलन र १० करोड रुपियाँ खर्च भएको छ । स्वदेश तथा विदेशमा बसेका नेपाली तथा विदेशीको सहयोगबाट केन्द्र चलेको छ ।

शिशुलाई न्यानो उपहार
केन्द्रले स्वास्थ्य, कृषि र कृषि उद्यम तथा बजारका लागि आवश्यक प्रविधिको अनुसन्धान र विकास गर्दै आएको छ । केन्द्रले न्यानो नानी (शिशुलाई बिजुलीबाट न्यानो पार्ने उपकरण) निर्माण गरेर परीक्षणका लागि विभिन्न अस्पतालमा पठाइसकेको छ । अस्पतालले त्यसलाई रुचाएका छन् । यो उपकरण भारतमा इन्जिनियरिङ विषय पढेर आएका विद्यार्थीको समूहले बनाएको हो ।

पछिल्लो समय अस्पतालमा प्रयोग हुने एक्स–रे, गामाक्यामरा, एमआरआई, सिटीस्क्यानलगायत सबै प्रकारका उपकरणको गुणस्तर परीक्षण गर्ने उपकरण पनि केन्द्रले ल्याएको छ । यो उपकरण ८७ लाख रुपियाँ मूल्यमा अमेरिकाबाट दुई साता अघि मात्रै ल्याइएको अध्यक्ष पुनले जानकारी दिनुभयो । अहिले ठुल्ठूला अस्पतालले गुणस्तर परीक्षण गराउन भारतबाट विज्ञ झिकाउने गरेका छन् । साना लगानीका अस्पतालले भने परीक्षण नै गराउँदैनन् । यस्ता उपकरण परीक्षण नगराउँदा अस्पतालअनुसार एकै बिरामीको रक्त परीक्षणलगायतका रिपोर्ट फरक–फरक आउने गरेको छ । केन्द्रले अब त्यो समस्या समाधान गर्ने योजना बनाएको छ ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा मेकानिकल इन्जिनिरिङ अध्ययन गरिरहेका छ जना विद्यार्थीको समूहले रोटरी क्लब अफ विराटनगरको अनुरोधमा मोटरसाइकलको इन्जिनबाट चल्ने एम्बुलेन्स बनाउँदै छ । मोटरसाइकलसँगै बिरामी सुत्न मिल्ने ओछ्यान जोडिएको छ । ओछ्यानमा पाङ्ग्रा पनि जोडिएको छ । त्यसका लागि क्लबले हिरो होन्डा कम्पनीको नयाँ मोटरसाइकल किनेर दिएको हो ।
एम्बुलेन्स निर्माणमा खटिनुभएका शरद ओलीले भन्नुभयो, “एम्बुलेन्स तराई क्षेत्रका समथर भू–भागमा चलाउन मिल्नेगरी बनाइएको छ । परीक्षण सफल भए थप दुई सयवटा एम्बुलेन्स बनाउने योजना छ ।”

कफी भुट्ने उपकरण
पछिल्लो समय टर्कीमा १५ वर्ष सेवा गरेर फर्कनुभएका ताप्लेजुङका राजेश लिम्बूले केन्द्रमा बनाउनुभएको कफी भुट्ने उपकरणको परीक्षणसमेत भएको छ । पोखराका एक व्यवसायीले १४ लाख रुपियाँमा उक्त उपकरण किन्ने प्रतिबद्धतासमेत जनाइसकेका छन् । केन्द्रको स्रोत साधन प्रयोग गरेर बनाइएको हुनाले यो उपकरण बिक्रीबाट आउने केही पैसा लिम्बूलाई दिइने र बाँकी रकम केन्द्रकै काममा खर्च गरिनेछ । कफी भुट्ने उपकरण अहिले नेपालमा इटाली, जापान, थाइल्यान्ड, भारत, चीनलगायतका मुलुकबाट आयात गरिन्छ ।

उपकरणअनुसार मूल्य पनि फरक–फरक छ । “तर, हामीले बनाएको उपकरण विदेशबाट ल्याउँदाभन्दा आधा सस्तो पर्छ,” लिम्बूले भन्नुभयो । केन्द्रले हरियो चियाको पात सुकाउने, नान रोटी बनाउने विद्युतीय उपकरण बनाएको छ भने खुवा पकाउने उपकरण निर्माणको काम पनि अन्तिम चरणमा पु-याएको छ । केन्द्रमा अरू पनि नयाँ उपकरण बनाइदिनुप-यो भन्दै दैनिक १० वटासम्म अनुरोध आउने गरेका छन् । खेतिपातीमा प्रयोग गर्नेदेखि घरायसी काममा प्रयोग हुने साना प्रकारका थुप्रै औजार निर्माण भइसकेका छन् ।

विदेशबाट सामान ल्याउँदा महँगो पर्ने भएकाले यतै बनाइदिन विदेशमा बस्ने नेपालीले समेत नमुना पठाउने गरेका छन् । “तर, सीमित स्रोत र साधनका कारण अनुरोध गर्नेमध्ये १० प्रतिशतको माग पनि पूरा गर्न सकेका छैनौँ,” पुनले भन्नुभयो ।केन्द्रमा नयाँ प्रविधि र उपकरण थपिँदै छन् । केहीअघि नेपालका लागि इजरायल दूतावासको सहयोगमा अत्याधुनिक प्रयोगशाला बनेको छ । केन्द्रले भर्खरै मात्र ५० लाख रुपियाँमा फलाम काट्ने उपकरण (लेजर मेसिन) पनि किनेको छ । अन्य उपकरण किन्ने प्रक्रिया अघि बढेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?