आजभोलिको शिक्षाप्रति अभिभावक र विद्यालय/कलेज सञ्चालकका चिन्ता एउटै छ, छोराछोरीले पढाइमा ध्यान दिएनन्, कक्षामा गएर फिटिक्कै पढ्दैनन्, दुःखजिलो गरेर पढे पनि रोजगारी पाइँदैन वा पाइयो भने पढाइ एकातिर, रोजगारी अर्कैतिर हुन्छ । अझ कोरोनाका कारण करिब करिब सबै क्षेत्र अस्तव्यस्त बनिसकेको अहिलेको अवस्थामा पढ्ने, पढाउने र रोजगारीसम्बन्धी सबै काम निकै चुनौतीपूर्ण बनिसकेको छ । हरेक उमेर समूहका नागरिकका फरक फरक व्यथा छन्, चिन्ता छ र सुनौलो भविष्यको कल्पनामा टोलाउनुको विकल्प छैन ।
यस्ता थुप्रै निरासाबीच हिजोआज कीर्तिपुर क्षेत्रमा अड्डा जमाएर पढाइमा व्यस्त रहेका विद्यार्थीको चालचलन नियाल्ने हो भने अलि फरक अनुभव दिलाउँछ । एकनाससित पढिरहने उक्त क्षेत्रका विद्यार्थीका गतिविधिले पढाइमा मन जाने÷नजाने सबैलाई एक पटक लोभ्याएरै छाड्छ । उच्च शिक्षा नसकिँदासम्म त्यतै बसेर पढिरहने र रोजगारीमा समेत सफलता हात पारेपछि मात्रै घर फर्कने विद्यार्थीका कथाले त झन् जतिसुकै कमजोर विद्यार्थीलाई पनि एक पटक मेहनत गरेर पढौँ पढौँ लाग्ने बनाउँछ ।
कीर्तिपुर नयाँबजारमा सात वर्षदेखि डेरा गरेर बसिरहेका दार्चुलाका कृष्ण धामी यस्तैमध्येका एक पात्र हुनुहुन्छ । उहाँको दैनिकीले जो कोहीलाई पनि हरेक क्षेत्रमा उद्देश्य प्राप्ति गर्ने हो भने कति कटिबद्ध भएर लाग्नुपर्छ र लक्ष्य भेट्टाउन कठिन छैन भन्ने पाठ सिकाउँछ । धामीले गाउँकै विद्यालयबाट एसईई उत्तीर्ण गर्नुभयो । त्यसपछि थप अध्ययनका लागि राजधानी काठमाडौँ आउनुभयो । सुरुका वर्षदेखि नै कीर्तिपुरमा भाडाको कोठामा बस्दै आउनुभएका उहाँले गत वर्ष त्रिविबाट एमबीएस तह उत्तीर्ण गर्नुभयो । एसईई उत्तीर्ण गरेदेखि नै उहाँ रोजगारीमा पनि लाग्नुभएको थियो । यसबाट उहाँलाई पढाइसँगै दैनिकी चलाउन पनि सहज भएको थियो । एमबीएसको पढाइ सकिएसँगै उहाँको जागिरे यात्रा पनि तत्कालका लागि रोकिएको छ । अर्थात् अब भने पक्का जागिर खाने योजनाका साथ उहाँ पुरानो रोजगारी छोडेर सरकारी जागिरको तयारी गर्न बिहानदेखि बेलुकासमम घुँडा धसेर अध्ययनमा व्यस्त हुनुहुन्छ ।
पढ्दै जागिर गर्दा बचत गरेको थोरै रकमबाट अहिले धामीको दैनिक खर्च टरिरहेको छ । अबको एक–दुई वर्षभित्रमा जसरी पनि सरकारी जागिरमा नाम निकालेरै छोड्ने अठोट उहाँको छ । दैनिक पढाइको तालिकाबारे उहाँ भन्नुहुन्छ, “बिहान सबेरै उठेर त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयमा पढ्न आउँछु । खाना पनि नजिकैको क्यान्टिनमा खान्छु (जहाँ ९० रुपियाँमा दाल, भात, तरकारी, अचार खान पाइन्छ) । दिउँसोको खाजा पनि त्यतै खाएर बेलुका मात्रै कोठा फर्कन्छु ।” कहिलेकाहीँ त दुई–चार दिनसम्म साथीको घरमा गएर पढ्ने र फेरि साथी लिएर दुई–चार दिन आफ्नो कोठामा सँगै बसेर पढ्ने गरेको धामी बताउनुहुन्छ । घरपरिवारबाट पनि आफ्नो योजनामा पूर्ण साथ पाएकाले योजनाअनुसार नै गन्तव्यमा पुगिनेमा उहाँ ढुक्क हुनुहुन्छ ।
यतिखेर कीर्तिपुरको चउर तथा पारिलो घाम लाग्ने हरेक ठाउँमा विद्यार्थी पढ्नमै व्यस्त देखिन्छन् । किताबकापीका साथमा भुइँमा ओछ्याउन घरबाट म्याटसमेत विद्यार्थी आफैँले लिएर आउँछन् । धामी त एक प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । पढेपछि विश्वविद्यालय परिसरमै सञ्चालित खाजाघरमा सामान्य खाजा खाएर फेरि पढाइमै जुट्ने विद्यार्थीको गतिविधिले त्यस क्षेत्रको शैक्षिक वातावरणलाई थप मोहित बनाएको छ । उक्त क्षेत्रमा घुम्न जाने जो कोहीलाई पनि त्यहाँ अध्ययन गरिरहेका विद्यार्थी देखेर आनन्द महसुस हुन्छ । अध्ययनमा व्यस्त विद्यार्थीकै कारण हिजोआज काठमाडौँमा बसेर पढ्ने नै हो भने कीर्तिपुर क्षेत्रमा डेरा गरेर बस्नुपर्छ भन्ने मान्यता स्थायी हुँदै गएको छ ।
अझ जाडो मौसममा त घाममा बदाम र सुन्तलासँगै सामूहिक छलफल गर्दै पढ्दा सम्झन सजिलो हुने र एकअर्काको समस्या समाधानमा पनि सजिलो हुने भएकाले यो क्षेत्रमा विद्यार्थीको उपस्थिति बाक्लो भएको उनीहरूको अनुभव छ । नेपाल राष्ट्र बैङ्कको अधिकृतको तयारीमा लाग्नुभएका दिनेश अधिकारी भन्नुहुन्छ, “घरमा बसेर जति पढे पनि सम्झन निकै कठिन हुन्छ तर समूहमा बसेर पढेपछि जस्तै कठिन विषय पनि सहजै पार लाग्दो रहेछ ।”
विश्वविद्यालयका अधिकांश केन्द्रीय विभाग उतै रहेको तथा प्राध्यापकसँग पनि दैनिक भेटघाट हुने हुँदा विद्यार्थीलाई पढाइमा थप हौसला मिल्ने गरेको छ । अधिकारी भन्नुहुन्छ, “पढ्दा पढ्दै विद्यार्थीलाई सानोतिनो समस्या आयो भने शिक्षकलाई नै भेटेरसमेत समाधान गर्न सकिन्छ ।” त्यसबाहेक केन्द्रीय पुस्तकालयमा बसेर त्यहाँभित्र रहेका सामग्रीको भरपुर प्रयोग गर्न सकिने भएकाले पनि त्यतातर्फ पढन्तेहरूको आकर्षण बढिरहेको छ ।
केन्द्रीय पुस्तकालयमा बसेर पाँच करोडभन्दा बढी स्रोत सामग्री प्रयोग गर्न सकिन्छ । जसमा अडियो, भिडियो, जर्नल, शोधग्रन्थ लगायतका छन् । केन्द्रीय पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठ पनि विद्यार्थीमा पढ्ने बानीको विकास हुँदै गएको बताउनुहुन्छ । पछिल्ला दिनमा विद्यार्थीको पढाइप्रतिको लगाव देखेर विश्वविद्यालयका पदाधिकारीले समेत चासो राख्ने गरेको श्रेष्ठको भनाइ छ । विश्वविद्यालय परिसरमा देखिने चहलपहलले पढ्ने नै हो भने कीर्तिपुर नै पुग्नुपर्छ भन्ने मान्यता झन् बलियो भएको उहाँको भनाइ छ ।
विश्वविद्यालय परिसर मात्रै होइन, कीर्तिपुर क्षेत्रका घरमा भाडामा बस्नेहरू पनि राति अबेरसम्म पढ्ने र दिनमा पनि पढाइमै व्यस्त रहने गरेका छन् । विद्यार्थीको पढाइप्रतिको लगावले पछिल्लो समय कीर्तिपुरका हरेक घरमा बस्नेहरूबीच कसले पहिला सरकारी जागिरमा नाम निकाल्ने भन्ने प्रतिस्पर्धा नै चल्ने गरेको स्थानीय युवराज रेग्मी बताउनुहुन्छ । लोकसेवा आयोग वा संस्थानले खुला प्रतिस्पर्धाका लागि विज्ञापन आह्वान गरेको समयमा त झन् विद्यार्थीबीच वल्लो र पल्लो घरमा बसेर कसले ढिलो समयसम्म पढ्ने भन्ने तँछाडमछाड नै चल्ने गरेको रेग्मी बताउनुहुन्छ ।
अहिले नेपाल राष्ट्र बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल टेलिकमसहित लोकसेवा आयोगले खुला प्रतिस्पर्धाबाट जनशक्ति छनोटका लागि विज्ञापन आह्वान गरेका छन् । ती निकायबाट विज्ञापन आह्वान भएपछि त झन् पढन्ते विद्यार्थीको चाप बढेको पुस्तकालयका प्रमुख श्रेष्ठ बताउनुहुन्छ । लोकसेवा आयोगकै परीक्षाको तयारीमा जुट्नुभएका स्याङ्जाका श्याम पाण्डे यतिखेर कीर्तिपुरको शैक्षिक माहोल क्याम्पस पढ्दाको भन्दा धेरै चर्को भएको बताउनुहुन्छ । “यहाँ पढ्न आउनेहरूले सरकारी जागिर खुलाएका अधिकांश निकायमा फाराम भरेका हुन्छन् । एक ठाउँमा नभए अर्को ठाउँमा त भइहाल्छ नि भनेर विद्यार्थी तयारीमा लागेका हुन्छन्,” पाण्डे भन्नुहुन्छ, “पहिलो पटक नाम ननिस्के पनि अर्को पटक निस्किहाल्छ नि भन्ने विश्वासका साथ विद्यार्थी पढाइमा जुट्ने गरेको देखिन्छ । एकै वर्षमा दर्जनभन्दा बढी परीक्षा दिएर असफल भएका विद्यार्थी पनि यहाँ बसेर तयारीमा जुटेका छन् ।”
‘पुस्तकालयमा तँछाडमछाड’
पूर्णलाल श्रेष्ठ
प्रमुख केन्द्रीय पुस्तकालय, त्रिवि
पढाइकै तिर्सना मेटाउन अहिले दैनिक सयौँ विद्यार्थी बिहानै केन्द्रीय पुस्तकालय आउने गर्नुहुन्छ । समयमै नआउने हो भने बस्न कुर्सी अभाव हुने र भित्र छिर्नै नपाउने त्रासका कारण विद्यार्थी हरेक दिन बिहानै लाइन लाग्ने गरेका हुन् । पुस्तकालयभित्र विशेष र सामान्य गरी दुईथरी अध्ययन कक्ष छन् । विशेष कक्षमा विद्यार्थीको आकर्षण बढी छ । यसमा तीनवटा कोठा छन् । एउटा कोठामा ४० जना बस्न पाउँछन् । तीनवटा कोठामा १२० जना मात्रै अटाउँछन् । यो कक्ष बिहान ६ देखि बेलुका ६ बजेसम्म खुल्छ । यसमा बिजुली, पानी, शौचालय तथा आरामदायी कुर्सी छन् । इन्टरनेट सुविधा पनि छ । साथै आफ्नै पुस्तक लगेर पढ्न पनि पाइन्छ ।
अर्को कक्ष भने बिहान ९ बजे मात्रै खुल्छ । यहाँ विद्यार्थीले आफैँ पुस्तक लिएर जान पाउँदैनन् । सामान्य कक्षमा विद्यार्थीबाहेक जो कोही पनि आएर पढेर जान पाउँछ तर आफ्नै सामग्री लिएर प्रवेश गर्न पाउँदैन । यही भएर पनि विशेष कक्षमा विद्यार्थीको आकर्षण बढी छ । विशेष कक्षमा पढ्ने अधिकांश विद्यार्थी सरकारी जागिरको तयारी गर्ने हुन्छन् । सबैको उद्देश्य एकै हुने भएकाले पनि त्यहाँ बसेर पढ्दा थप आनन्द आउने भएकाले विद्यार्थीको आकर्षण बढेको हो । कोरोना सङ्क्रमण नभएको भए त झन् विद्यार्थी चाप धेरै हुन्थ्यो ।