logo
२०८१ बैशाख २३ आईतवार



प्रश्न बनाउँदा चरम लापरबाही

शिक्षा |


प्रश्न बनाउँदा चरम लापरबाही


काठमाडौँ, फागुन ९ गते । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कानुन विषयको प्रश्नपत्र निर्माणमा चरम लापरबाही भएको पाइएको छ । प्रश्न निर्माण गर्नेदेखि त्यसलाई अन्तिम रूप दिने अधिकारीले ध्यान नदिँदा यस्तो समस्या आएको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आइतबार एलएलबी प्रथम वर्षको ‘ल अफ कन्ट्र्याक्ट’ (३०५) विषयको परीक्षा सञ्चालन गरेको थियो । पाठ्यक्रमअनुसार यो विषयको सय पूर्णाङ्कमा परीक्षा सञ्चालन गर्नुपर्छ । समय तीन घण्टा दिनुपर्छ तर परीक्षार्थीलाई वितरण गरिएको प्रश्नपत्रमा ५० पूर्णाङ्क मात्रै छ । समय पनि डेढ घण्टा मात्रै लेखिएको छ ।

प्रश्नपत्रमा सातवटा प्रश्न सोधिएको छ तर तीनवटा मात्रै हल गर्न भनिएको छ । पूर्णाङ्क ५० लेखिए पनि उत्तीर्णाङ्क तोकिएको छैन । प्रश्नपत्रमा समस्या देखेपछि प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस केन्द्रबाट परीक्षा दिएका परीक्षार्थीहरूले विरोध गरेका थिए ।
क्याम्पसका एक प्राध्यापकका अनुसार केही परीक्षार्थीले प्रश्नपत्र च्यात्दै अरूलाई पनि परीक्षा नदिन हौस्याएका थिए । तर तत्काल क्याम्पस प्रशासनले त्यसो नगर्न अनुरोध गर्दै यसबारे परीक्षा नियन्त्रण कार्यालयमा जानकारी गराएको थियो । पनिकाले पनि तत्कालै परीक्षा स्थगित गर्नुको सट्टा प्रश्नपत्रमा सोधिएका सातवटामध्ये पाँचवटा प्रश्नको समाधान गर्न लगाउने र परीक्षार्थीले चाहेको अवस्थामा तीन घण्टा नै समय उपलब्ध गराउन सम्बन्धित परीक्षा केन्द्रलाई निर्देशन दिएको थियो ।

नेपाल ल क्याम्पसका प्रमुख डीएन पराजुलीले परीक्षा नियन्त्रण कार्यालयको त्रुटिका कारण प्रश्नपत्रमा समस्या आएको बताउनुभयो । उहाँका अनुसार आइतबार सञ्चालन गरिएको परीक्षा तीन वर्षे एलएलबीको नयाँ पाठ्यक्रमअनुसार भर्ना भएका विद्यार्थीका लागि हो । तर पुरानो शैलीमा प्रश्न सोधिएकाले समस्या भएको उहाँले बताउनुभयो । कानुन विषयको पठनपाठन त्रिविका मुलुकभरका छवटा क्याम्पसमा हुन्छ । कसरी बन्छ प्रश्न ?

पनिकाले विभिन्न चरणको अध्ययनपछि मात्रै परीक्षामा वितरण गर्ने प्रश्नपत्र तयार पार्छ । पहिलो चरणमा विषयविज्ञ लगाएर प्रश्नपत्रको सेट तयार पारिन्छ । एउटा विषयको प्रश्नका लागि तीन जनासम्म विज्ञलाई फरक फरक सेट तयार पार्न लगाइन्छ । उनीहरूलाई प्राश्निक भनिन्छ । प्राश्निकले तयार पारेको प्रश्नपत्रलाई फेरि मोड्युलर (उच्च तहका विज्ञ)ले अध्ययन गरेर मात्रै छपाइका लागि पठाइन्छ । तर यी दुवै चरण पार गर्दा पनि प्रश्नपत्रमा त्रुटि देखिनु गम्भीर लापरबाही भएको त्रिविकै प्राध्यापकहरूको भनाइछ । परीक्षा नियन्त्रण कार्यालयले भने कम्प्युटरमा टाइपिङ गर्दा त्रुटि भएकाले प्रश्नपत्रमा समस्या आएको बताएको छ । तर परीक्षा केन्द्रहरूमा तत्कालै खबर गरेर सय पूर्णाङ्कमै परीक्षा दिन लगाइएको पनिकाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?