logo
२०८१ बैशाख १३ बिहीवार



शिक्षकको कुटाइबाट विद्यार्थी घाइते

शिक्षा |
खुला |
प्रदेश |


शिक्षकको कुटाइबाट विद्यार्थी घाइते


अमृतप्रसाद पौडेल
बेनी, फागुन १५ गते । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा रहेको एक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी शिक्षकको कुटाबाट घाइते भएका छन् । बेनीबजारमा रहेको प्रकाश माध्यमिक विद्यालयका लेखा विषयका शिक्षक नवीन घिमिरेले कक्षा १० मा अध्ययनरत १७ वर्षीय राजन पौडेललाई कुटपिट गरी घाइते बनाएको विद्यार्थीका अभिभावकले बताएका छन् ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका –५, देवीस्थान घर भई बेनी नगरपालिका –६, बस्ने भीमप्रसाद पौडेलले आफ्नो छोरा राजनलाई शुक्रबार शिक्षकले कुटपिट गरेको बताउनुभयो । शिक्षकको कुटपिटबाट विद्यार्थीको शरीर तथा टाउकोमा चोट लागेको बाबु भीमप्रसादको भनाइ छ ।

छोरालाई कुटपिट गर्ने शिक्षकलाई कारवाही हुनुपर्छ, ‘शरीरमा लौरोले जथाभावी कुटपिट गर्दा ठूलो चोट देखिएको छ’ पौडेलले भन्नुभयो । पौडेलले प्रकाश माध्यमिक विद्यालयमा शिक्षकलाई कारवाहीको माग गर्दै निवेदन दिनुभएको छ । विद्यालयबाट घर फर्किएपछि केही नखाई सुतेका राजनले शनिबार बान्ता गरेको र खाना खाने क्रममा मुखमा समेत रगत देखिएपछि उपचारका लागि बेनी अस्पतालमा ल्याइएको थियो । उपचारको क्रममा टाउको र शरीरमा चोट देखिएको विद्यार्थीका बाबुले बताउनुभयो ।

विद्यार्थीलाई उपचारका लागि अस्पतालमा ल्याइएको र एक्सरेसहित परीक्षण रिपोर्ट सबै सामान्य देखिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँ सिटीस्क्यान बेनी अस्पतालमा नहुने भएकाले पोखरा पठाइएकोमा सिटीस्क्यान रिपोर्ट पनि सामान्य देखिएपछि आइतबार बिहानै बिरामीलाई डिस्चार्ज गरिएको छ ।

विद्यार्थीलाई कुटपिट गर्ने बेनी नगरपालिका –२, ज्यामरुककोटका शिक्षक नविन घिमिरेले कक्षामा पढाइरहेकै समयमा विद्यार्थीले कागजमा ढुङ्गा बेरेर आफूलाई हानेको र अपशब्द बोलेकाले आफूले विद्यार्थीलाई कुटपिट गरेको स्वीकार गर्नुभयो । सोही दिन शिक्षक घिमिरेले विद्यार्थी पौडेलसँगै अन्य ४ जनालाई समेत कुटेको पीडित विद्यार्थी पौडेलको आरोप छ ।

पीडित विद्यार्थीका अभिभावक र आफन्तले कुटपिटमा संलग्न शिक्षकलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय म्याग्दीमा समेत निवेदन दिएका छन् । विद्यालयका सहायक प्रधानाध्यापक लेखबहादुर हमालले अभिभावकले विद्यालयमा निवेदन दिएको र आवश्यक अनुसन्धानपछि के गर्ने भन्ने निचोड निकालिने बताउनुभयो । विद्यार्थीका अभिभावकले विद्यालयका सहायक प्रअ हमाललाइ निवेदन बुझाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?