logo
२०८१ बैशाख १५ शनिवार



दिवाखाजा कार्यक्रमले विद्यालयमा विद्यार्थी नियमित हुन थाले

शिक्षा |
खुला |


दिवाखाजा कार्यक्रमले विद्यालयमा विद्यार्थी नियमित हुन थाले
खाजा खाँदै गोदावरी–४ मा रहेको दूर्गा मावि हाटखोलीका बालबालिका



भवानी ऐर
कैलाली, चैत २२ गते । गोदावरी नगरपालिकाभित्रका विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी देखिएको छ । खाजा कार्यक्रम लागू भएपछि विद्यालयमा विद्यार्थीको उपस्थिति नियमित भैइरहेको सम्बन्धित विधालयका प्रधानाध्यापकहरुले बताउनुभएको छ ।

दिवा खाजा कार्यक्रम प्रभावकारी देखिएको भन्दै दुर्गा मावि हाटखोलीका प्रधानाध्यापक कर्णवहादुर साउदले विद्यालयमा खाजा खुवाउन थालेपछि भोक लागेकै कारण बीचमा पढाइ छाडेर घर जाने प्रवृत्तिको अन्त्य भएको बताउनुयो । दिवा खाजा कार्यक्रम सामुदायिक विद्यालयमा एकदमै प्रभावकारी छ, उहाँले भन्नुभयो– ‘बच्चाहरु छ, सात घण्टासम्म भोकै बस्ने गरेका थिए, खाजा कार्यक्रम लागू भएपछि थोरै भए पनि राहत भएको छ, विद्यार्थी भागेर जाने समस्याको अन्त्य भएको छ ।’

नगरपालिकाको मापदण्डअनुसार प्रति विद्यार्थीलाई १५ रुपैयाँका दरले खाजा खुवाउन सामूहिक रुपमा बनाउँदा पुग्ने भए पनि खाजा बनाउने तथा भाँडा माझ्ने जनशक्ति व्यवस्थापनमा भने कठिनाइ भइरहेको उहाँले बताउनुभयो । हालसम्मको प्रयास राम्रो भएको र यसलाई अझै व्यवस्थित गरेर केही रकम वृद्धि गर्न सके उद्देश्यअनुरुपको नतिजा आउने उहाँको भनाइ थियो ।

यस्तै, नगरपालिकाको वडा नम्बर २ मा रहेको दुर्गालक्ष्मी नमुना माविका प्रधानाध्यापक शिवराज जोशीले आफ्नो विद्यालयामा आउँदो शैक्षिकसत्रमा छुट्टै भान्सा कोठाको व्यवस्था गरी उक्त कार्यक्रमलाई थप व्यवस्थित गर्ने बताउनुभयो ।

उता, गोदावरी नगरपालिका ८ मा रहेको समैजी माविका प्रधानाध्यापक कुन्ती ओलीले पनि दिवा खाजा कार्यक्रम विद्यालयमा प्रभावकारी देखिएको भन्दै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विधार्थी प्रायः सबै कमजोर पारिवारिक अवस्थाका हुने भएकाले पनि दिवा खाजा लाभदायक भएको बताउनुभयो ।

‘हामीसँगका प्रायः सबै विद्यार्थी निम्न पारिवारिक अवस्थाका नै छन्, उहाँले भन्नुभयो– ‘घरबाट खाजा कसैले बोकेर ल्याउँदैनन्, दिउँसोको समयमा भोक लाग्यो भन्दै घर जान्थे अहिले त्यो समस्या कम भएको छ ।’

गत शैक्षिक सत्रसम्म खाजा बापतको १५ रुपियाँ विद्यार्थी हाजिरीको आधारमा नगद नै दिने गरिएको तर, नगद दिँदा त्यति प्रभावकारी नभएको उहाँको भनाइ छ । समैजी माविमा खाजा खुवाउने जिम्मा लिएकी उषा बोगटीले आफूहरुले नगरपालिकाले उपलब्ध गराएको सूचीबमोजिम नै खाजा खुवाउँदै आएको बताउनुभयो । एउटा विद्यार्थीलाई १५ रुपैयाँको २५० ग्राम बराबर खाजा खुवाउँदै गरेको उहाँको भनाइ छ ।

गोदावरी नगरपालिकाभित्र रहेका ५७ सामुदायिक विद्यालयमध्ये ५४ विद्यालयमा दिवा खाजा कार्यक्रम लागू रहेको गोदावरी नगरपालिका शिक्षा प्रमुख वसन्त खत्रीले जानकारी दिनुभयो । दिवाखाजा प्रभावकारितासम्बन्धी नगरपालिकाले सबै सामुदायिक विद्यालयमा अनुगमन गर्दै आएको भन्दै उहाँले कार्यक्रमबाट नौ हजार बालबालिका लाभान्वित भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?