बाबुराम शर्मा
चरिकोट, कात्तिक २८ गते । दोलखाको भीमेश्वर नगरपालिका–९ लाँकुरीडाँडास्थित डाङडुङेमा निर्माण हुँदै गरेको अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरीको काममा ढिलासुस्ती भएपछि दोलखावासी चिन्तित भएका छन् ।
गुरुयोजना ( मास्टर प्लान ) तयार भएर लामो यात्रा पार गरी आवश्यक पूर्वाधार बनिसके पनि निर्माणको काम ओझेलमा पर्न थालेपछि उनीहरु चिन्तित बनेका हुन् ।
यसको आठ वर्षे यात्रा र लगानी अब खेर नगइदिए हुन्थ्यो । दोलखा फिल्मसिटीका परिकल्पनाकार एवम् अभियन्ता वरिष्ठ कलाकार मदनदास श्रेष्ठले दुःखेसो पोख्दै भन्नुभयो । यसको गुरुयोजना निर्माणा भइसकेर यति धेरै काम भइसक्दा पनि काम अपेक्षाकृत तीब्रताका साथ अगाडि बढेको छैन । सङ्घीय सरकारले ढिलासुस्ती गरिरहेजस्तो लाग्छ ।
यसबीचमा लमजुङमा फिल्म सिटीका लागि पाँच हजार रोपनी छुट्याइएको हल्ला पनि आयो । तर कम्तिमा दोलखामा अगाडि बढेको काम सम्पन्न गरिदिए हुन्थ्यो । उहाँका अनुसार खिलराज रेग्मी नेतृत्वको तत्कालीन सरकारले दुई करोड रुपियाँ छुट्यायो । त्यसबाट ८० लाख रुपियाँ खर्चेर वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) भयो । वन मन्त्रालयले उपलब्ध गराएको जग्गालाई ‘नेपाल चलचित्र नगरी दोलखा–सिन्धुपाल्चोक’ नामकरण गरियो ।
सोही अनुसार १२ करोड ४५ लाख रुपियाँ खर्चेर ग्राभेल सडक कालोपत्रे पनि गरियो । बिजुलीका पोल गाडिए, खानेपानीको पाइप लाइन पु–याइयो ।
पहिला प्रस्तावित भएको पोखरामा जग्गा नपाएर फिल्म सिटी बनाउन सकिएको थिएन । दोलखामा जग्गा उपलब्ध गराउन म दिनरात नभनी खटेँ । उहाँले भन्नुभयो, दोलखाको लाँकुरी डाँडामा २५ सय रोपनी जग्गा पनि छनोट भयो । स्थानीय बासिन्दासँग १५ सय रोपनीको कागज तयार पारियो र सम्भाव्यता अध्ययन सकियो ।
ती सबै कामका लागि करिब ५० लाख रुपियाँ खर्च भइसकेको छ । लमजुङमा फिल्म सिटीका लागि पाँच हजार रोपनी छुट्याइएको हल्ला पनि आयो । तर कम्तीमा दोलखामा यसका लागि तय भएको आठवर्षे यात्रा र लगानी खेर नगइदिए हुन्थ्यो । उहाँले पुनः दुःखेसो पोख्नुभयो ।
उहाँले पूर्व स्मरण गर्दै भन्नुभयो, निर्देशक समाजले ०६८ सालमा दोलखामा ‘फिल्म सिटी अन्तर्रा्ष्ट्रियचलचित्र कार्यशाला’ आयोजना गरेको थियो । म, निर्देशक समाजका तत्कालीन अध्यक्ष केपी पाठक, चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष गणेश भण्डारीलगायत सहभागी थियौँ ।
त्यतिबेला पोखरामा फिल्म सिटी बनाउने कुरा थियो । तर, कार्यशालामा सहभागी सबैले दोलखाको प्राकृतिक सौन्दर्य देखेर यहीँ फिल्म सिटी बनाउने मनसाय व्यक्त गरे । आफ्नो जन्मथलो भएकाले मैले व्यवस्थापन गर्न सकिने बताएँ उहाँले भन्नुभयो ।
त्यसलगत्तै चलचित्र विकास बोर्ड, निर्देशक समाजलगायत सङ्घसंस्थाले केही काम पनि गरे उहाँले भन्नुभयो, देशकै पहिलो फिल्म सिटी गृहजिल्लामा निर्माण हुने कुराले मलाई खुसी लागेको थियो । स्थानीय स्तरबाट सात लाख ५० हजार, सरकारको दुई अर्ब र चीनबाट १२ अर्ब रुपैयाँ सहयोग हुने कुरा आएपछि म उत्साहित भएँ ।
पुरातात्विक, सांस्कृतिक र प्राकृतिक सम्पदाले धनी दोलखा र सिन्धुपाल्चोकको सीमामा निर्माण हुन थालेको फिल्म सिटीबाट दुवै जिल्लाको पर्यटकीय विकासमा पनि टेवा पुग्थ्यो ।
गुरुयोजना ( मास्टर प्लान ) अनुसार सिमेका विम जेभीले करिब पाँच अर्ब लागतको अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी (फिल्मसिटी) निर्माण हुने छ । समुद्र सतहदेखि तीन हजार चार सय मिटरको उचाइमा अवस्थित डाङडुङेडाँडामा ७६ दशमलव २५ हेक्टर क्षेत्रफलमा फिल्मसिटी निर्माण हुनेछ ।
पहिलो चरणमा करिब २५ करोड रुपियाँमा प्रशासनिक भवन निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको सिमेका विम जेभीका आर्किटेक्ट आभूषण पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार फिल्मको चाप र सङ्ख्याअनुसारको संरचना थप्दै जाने हो भने अन्तिमसम्म करिब १५ अर्ब रुपियाँ खर्च लाग्ने गुरुयोजनाले देखाएको छ ।
गुरुयोजना अनुसार फिल्मसिटीमा बसोबाससहितको प्रशासनिक भवन, इन्डोर सुटिङ स्टुडियो, पोस्ट प्रडक्सन युनिट, मनुमेन्टल एभिन्यू, गेस्ट हाउस, विभिन्न जातजातिको थिमाटिक भिलेज, हेलिप्याड र करिब ७५ रोपनी क्षेत्रफलमा पोखरी निर्माण हुनेछ ।
यस्तै फिल्मसिटीमा पार्किङ,पाँचतारे होटल, ट्रेनिङ सेन्टर र आउटडोर सुटिङका लागि त्यहाँ उपलब्ध प्राकृतिक सम्पदालाई प्रयोग गर्न सकिने गुरुयोजनामा उल्लेख छ ।