logo
२०८१ बैशाख २७ बिहीवार

  लयमा फर्कदै कोरोनाले थलिएको चलचित्र क्षेत्र  



‘लकडाउनले निर्मातालाई समीक्षाको समय दियो’

मनोरञ्जन |


‘लकडाउनले निर्मातालाई समीक्षाको समय दियो’


काठमाडौं, मङ्सिर २५ गते । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको असर अन्य क्षेत्रमा जस्तै चलचित्रमा ठूलो क्षति पुर्यायो । कोरोनाले चलचित्र क्षेत्रको व्यापार ठप्प बनायो । यो नकारात्मक अवस्थाबीच चलचित्र निर्माताले समीक्षा गर्ने समय भने प्रशस्त पाए ।

यसलाई चलचित्र क्षेत्रका विज्ञले सकारात्मक प्रभाव भनेका छन् । ‘सकारात्मक विषय भन्नुपर्दा फिल्म मेकरले आफूले आफूलाई समीक्षा गर्ने समय पाए । फिल्म चल्यो कि चलेन, दर्शकले मन पराए कि पराएनन् भनेर व्यस्त रहने चलचित्र निर्मातालाई यी र यस्तै विषयमा अपडेट हुने समय तथा अवसर मिल्यो’, चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दयाराम दाहालले भन्नुभयो । तर, कोरोना महामारीले सकारात्मक भन्दा नकारात्मक असर धेरै ठूलो रहेको तथ्याङ्क बोर्डले देखाएको छ । लकडाउनले कोरोनापछि मानिसको रुचि कता मोडियो भन्ने विश्लेषण गर्न पनि समय मिलेको छ । चलचित्र निर्मातालाई कोरोनाकालमा परिमार्जन हुने समय मिलेको दाहालले बताउनुभयो । ‘निर्मातालाई यो समयले ठूलो अवसर दिएको छ’, दाहालले भन्नुभयो ।

कोरोना संक्रमणपछि फिल्मकर्मीलाई आत्मसमीक्षा गर्न सिकाएको दाहालले बताउनुभयो । यसले अब बन्ने फिल्मको गुणस्तर सुधार हुने उहाँको विश्वास छ । ‘अब बन्ने चलचित्रको गुणस्तर सुधार हुनेछ भन्ने मलाई विश्वास छ’, दाहालले भन्नुभयो, ‘चलचित्र निर्माताले अब परिवर्तनशील भएर काम गर्नुहुन्छ । यसले फिल्मको गतिलाई बढाउने छ।’

महामारीले नेपाली फिल्म निर्माणमा ९० करोड जोखिममा गएको दाहालले जानकारी दिनुभयो । प्रदर्शन र वितरणतर्फ कोरोनाले १ अर्ब २० करोड नोक्सान भएको छ । ‘कारोनाले चलचित्रमा मानसिक असर नै गरेको छ’, बोर्डका कार्यकारी अध्यक्ष दाहालले भन्नुभयो, ‘फिल्म मेकिङ बन्दभयो, प्रदर्शन बन्दभयो । चलचित्रकर्मी बेरोजगार भए, सम्पूर्ण चलचित्रको फ्लो ब्रेक नै भयो ।’

कोरोना महामारीको समयमा ३४ वटा तयारी फिल्म प्रदर्शनमा रोकिएका थिए । १५ फिल्मको रिलिज मिति नै फाइनल भइसकेको थियो । त्यस्तै १६ फिल्म निर्माणकै क्रममा रोकिए, १४ वटा आधा छायांकन भएर रोकिए भने १८ वटा फिल्म छायांकनमा जान नपाएर रोकिए । यो अवधिमा ६५ वटा फिल्म डम्प नै भएको तथ्याङ्क बोर्डसँग छ ।

२० महिनाको अवधिमा नयाँ फिल्म बन्न नसक्दा झण्डै १५० वटा फिल्मको घाटाभयो । सुरु गर्न घोषणा गरिएका फिल्म पनि रोकिए । यसले नेपाली चलचित्र क्षेत्रमा ठूलो घाटा निम्त्याएको दाहालको भनाइ छ ।
‘यसले चलचित्र उत्पादमा मात्र होइन, चलचित्र क्षेत्रमा आर्थिकसँगै पेशागत असर परेको छ’, उहाँले भन्नुभयो । केही निर्मातालाई लकडाउनले पलायनको अवस्थामा पुर्याएको दाहालले बताउनुभयो ।

‘कोरोना महामारीले चलचित्र क्षेत्रलाई शून्यमा झारिदिएको थियो । अहिले विस्तारै फरक तरिकाले गुणस्तरीय ढंगले अघि बढ्न केही समय लाग्छ’, उहाँले भन्नुभयो । यस्तै, महामारीको समयमा नेपाली चलचित्र डिजिटल प्लेटफर्मबाट रिलिज भएका थिए । यसरी रिलिज भएका फिल्म १० प्रतिशत पनि सफल हुन सकेनन् । ‘डिजिटल प्लेटफर्ममा सिनेमा हेर्ने नेपालीे कार्डको प्रयोग गनुपर्छ’, दाहालले भन्नुभयो, ‘१० प्रतिशत नेपालीले मात्र कार्डको प्रयोग गर्छन् । जबसम्म दर्शकले कार्ड सिस्टमबाट पैसा तिर्ने सक्दैनन् तबसम्म डिजिटल प्लेटर्फम राम्रो हुन सक्दैन ।’

कस्तो छ चलचित्रको पछिल्लो अवस्था

कोरोना महामारीको जोखिम अझै टरेको छैन । यसले सिनेमा क्षेत्र सुधार भइहाल्ने अवस्था नरहेको उहाँको भनाइ छ । ‘सिनेमा क्षेत्रमा भीडभाड हुनु सामान्य हो’, दाहाल भन्नुहुन्छ, ‘महामारीको जोखिम कायम रहेकाले अझै सचेत बन्नुपर्छ ।’ कोरोना महामारीपछि साना लगानीका फिल्म सञ्चालनमा आए पनि ठूलो लगानीको जोखिम मोल्न निर्माता डराएको देखिन्छ ।

दोस्रो लहरपछि डाँडाको वरपिपल, धुन्धकारी रिलिज भए। निर्माता संघले धुम ४, साजन लगायत चार वटा चलचित्र प्रदर्शन गरिसकेको छ ।
चलचित्र वितरक करण श्रेष्ठका अनुसार माघ १९ गते ‘म यस्तो गीत गाउँछु २’, फागुन ६ गते ‘आकाशे खेती’, फागुन २७ गते ‘सम्लालिन्छ मेरो मन’ पुस २ ‘चपली हाइट ३’, चैत्र ४ गते ‘चिसो एष्ट्रे’ चैत्र १८ गते ‘पासो’ चैत २५ ‘ए मेरो हजुर ४’ फिल्महरुको प्रदर्शन मिति तोकिसकेको छ । त्यसपछि ‘छक्का पञ्जा ४’ ‘मनसँग मन’, ‘माइकल अधिकारी’, ‘तीन जन्तु, ‘भुत घर’, ‘घिन्ताङ्ग’, ‘सुस्केरा’, ‘विच्छेद’, ‘हेल्लो काशीराम’ फिल्म प्रदर्शनको तयारीमा छन् ।

‘नेपाली फिल्मको तुलनामा भारतीय फिल्मले बढी व्यापार गर्छ भन्ने बुझाई गलत हो । कुनैले गर्ला आफ्नो ठाउँमा छ’, दाहालले भन्नुभयो, ‘हिन्दी फिल्मका १०१ व्यानरलाई नेपाली सिनेमाले साइड लगाएको रेर्कड छ ।’ नेपालमा नेपाली सिनेमाले नै बढी व्यापार गर्ने उहाँले बताउनुभयो ।

कोरोनापछि हल सञ्चालन भएपछि बलिउड फिल्म ‘सूर्यवंशी’ हेर्न दर्शकको घुँइचो लागेको थियो । ‘नेपाली फिल्म प्रदर्शनमा ढिला हुँदा बलिउडसँग डराएर नभई हलमा पुगेपछि दर्शक नआउने जोखिमले हो’, दाहालले भन्नुभयो । फिल्मको संख्यामा होइन, गुणस्तरमा जोड दिनुपर्ने दाहालले बताउनुभयो। फिल्मको कथा अनुुसार हलमा दर्शकको संख्यामा फरक पार्ने उहाँको अनुभव छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?