logo
२०८१ बैशाख २६ बुधवार



स्कुटरलाई ठक्कर दिएको भन्दै एम्बुलेन्सलाई अवरोध, बिरामीको बाटोमै मृत्यु, युवक प्रहरी हिरासतमा

फिचर |
खुला |


स्कुटरलाई ठक्कर दिएको भन्दै एम्बुलेन्सलाई अवरोध, बिरामीको बाटोमै मृत्यु, युवक प्रहरी हिरासतमा


रामहरि गजुरेल
नुवाकोट, असोज १६ गते । अस्पताल लिएर हिँडेको एम्बुलेन्सलाई एक युवाले जवर्जस्ति रोकेकै कारण नुवाकोटमा एक महिलाको उपचार नपाएर बाटोमै मृत्यु भएको छ । रसुवाको उत्तरगया गाउँपालिका–२ की २५ वर्षिया ईन्द्रकुमारी तामाङलाई बोकेर आएको एम्बुलेन्सले आफ्नो मोटरसाइकललाई छोएको भन्दै मंगलवार साँझ एक स्थानीय युवाले अवरोध गर्दा अस्पताल पुग्नै नपाई मृत्यु भएको हो ।
घरमा अकस्मात बिरामी भएर ढलेपछि साँझ एम्बुलेन्समार्फत् ति महिलालाई तत्कालै नुवाकोट सदरमुकाम विदुरस्थित अस्पताल ल्याउने क्रममा ढुंगे बजारका आयुश रिमालले आफ्नो इस्कुटरलाई छोएको भन्दै सोही निहुँमा बीचबाटोमै रोकेका थिए ।
मृत्युको मुखमा रहेकी इन्द्रकुमारीलाई छिटोभन्दा छिटो उपचारको खाँचो रहेको अवस्थामा रिमालले आफुलाई क्षतिपूर्ति दिनुपर्ने सर्त राखेर करिब आधा घण्टासम्म एम्बुलेन्सलाई अघि बढ्न नदिएकै कारण उनको मृत्यु हुन पुगेको थियो । सदरमुकामस्थित अस्पताल पुग्नुभन्दा अघि एक किलोमिटरको दूरिमा रहेको विदुर–१ ढुंगेबजारमा आफ्नै घरअगाडि एम्बुलेन्सलाई अवरोध गरिएको थियो । जसका कारण बिरामीले अकालमै मृत्युवरण गर्नुपरेको आफन्त तथा परिवारले बताएका छन् । ‘हामीले जे भन्छौ सबै कुरा मान्छौँ । हामीसँगै अस्पताल हिँड तर, बिरामीको अवस्था चिन्ताजनक छ भन्दा पनि छाडिएन’, मृतक महिलाका श्रीमान् रोहन तामाङले गुनासो पोख्नुभयो । पछि उनै रिजालले एम्बुलेन्सले आफूलाई ठक्कर दिएकोले क्षतिपूर्ति दिलाइदिन भन्दै प्रहरी बोलाएको र प्रहरीले पनि लाइसेन्स नभएको बहानामा थप समय अवरोध गरेको चालक रहेका सुवास तामाङले वास्तविकता बताए ।
रिमालको स्कुटर भने सामान्य छोएको बाहेक एम्बुलेन्स नै छेक्नुपर्ने गरी ठूलो दुर्घटना भने नभएको प्रहरीको भनाई छ । केही समयपश्चात् मानविय संवेदना बुझिदिन परिवारले पटक–पटक प्रहरीलाई अनुरोध परेपछि बिरामी बोकेको एम्बुलेन्स छोडियो । तर, विदुरस्थित अस्पताल चक्रदेव पोलिक्लिनिक ल्याइपुग्नासाथ चिकित्सकले मृत घोषणा गरिदिएका थिए ।
आफ्नो बिरामी बचाउने सम्भावना हुँदाहुँदै बीचबाटोमा रोकेका कारणले नै गुमाउनुपरेकोले उचित क्षतिपूर्ति र दोशीलाई कानुन बमोजिम कारबाही हुनुपर्ने माग स्थानियवासी, आफन्त र परिवारले राखेका छन् । मंगलबार साँझदेखि रातभरसम्म आफन्त र स्थानियहरु आन्दोलनमा उत्रिएपछि सदरमुकाम विदुर तनावग्र्रस्त बन्न पुगेको थियो । ‘बिरामीका लागि एक–एक सेकेण्डको महत्व हुन्छ । यस्तो आपतकालीन अवस्थामा एक व्यक्तिले जवर्जस्ति अवरोध पु¥याउँदा हाम्रो बिरामीको ज्यान गयो’, मृतकका एक आफन्तले भन्नुभयो–‘क्षतिपूर्तिसहित दोशीलाई कारबाही गरेर हामीलाई न्याय नदिए जिल्ला नै ठप्प पार्नेगरी आन्दोलन चर्काउँछौँ ।’ उनीहरुले स्थानिय प्रशासन र प्रहरीलाईसमेत चेतावनी दिएका छन् ।
यस्तो अवस्था निम्तिने खतरासँगै व्यक्तिकै कारणले भएको अवरोधबाट बिरामीको ज्यान गएको पाएपछि प्रहरीले रिमाललाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । साथै प्रहरीले यसलाई एक गम्भिर घटनाको रुपमा लिँदै जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायव उपरिक्षक डिएसपी राजेश थापाको संयोजकत्वमा बुधवार एक छानविन समिति नै गठन गरेको छ । जसमा जिल्ला प्रशासनका प्रशासकिय अधिकृत, नागरिकहरुको तर्फबाट उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष इन्द्रबहादुर पण्डित, पिडित परिवारका प्रतिनिधि र जिल्ला ट्राफिक प्रहरी प्रमुख विकल भट्टराईसहित सम्मिलित पाँच सदस्यित समितिले तीन दिनभित्र घटनाको सत्यतथ्य छानविनसहितको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीसमक्ष पेश गर्ने निर्णयसमेत भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।
‘रिमालले मानवीय संवेदनशीलता नै भुलेर एम्बुलेन्सजस्तो आपतकालीन सवारी साधन रोकेर कानुन नै हातमा लिएको भन्ने विषय आयो र यसकै कारण बिरामीको मृत्यु भएको हो भने कारबाही गर्नेछौँ’, प्रहरी प्रमुख काफ्लेले बताउनुभयो । तर, प्रहरीले एम्बुलेन्सका चालकसँग लाइसेन्स मागेको स्विकार गर्दै उहाँले त्यसैका कारणले आफूहरुले एम्बुलेन्स रोकेको भन्ने आरोप सत्य नभएको प्रतिक्रिया दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?