गोकर्ण दयाल
बैतडी, कात्तिक ५ गते । बैतडीको दशरथ चन्द नगरपालिका वडा नम्बर ९ मा सडक खन्न गएको डोजर धपाउँन गएका र सडक खन्नेवीच झडप हुँदा डोजर तोडफोड भएको छ भने झडपमा परी आठ जना घाइते भएका छन् ।
बैतडीको देहिमाण्डौ गिरेगाडा सडक खण्डको सुन्नाखान हुँदै दशरथ चन्द नगरपालिका वडा नम्बर ९ पार्स जाने ग्रामीण सडक खन्न गएको जोडर जग्गा विवादका कारण तोडफोड भएको हो । डोजर तोडफोडसंगै स्थानीयबीच झडप समेत भएको हो ।
डोजर चालकसहित चार पक्राउ
सडक निर्माणका विषयमा गाउँलेबीच विवाद हुँदा डोजरले एक स्थानीय महिलालाई हुत्याउने डोजर चालक पक्राउ परेका छन् । डोजर चालकले महिलालाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका किशोर बोहरालाई नियन्त्रणामा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । बोहरामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसका साथै अन्य तीन जनालाई पनि पक्राउ गरी अनुसन्धान थालिएको छ । झडप गर्ने दुवै पक्षका गरी अन्य तीन जना पनि पक्राउ गरिएको भए पनि नाम भने खुलाइएको छैन ।
झडपमा परी धर्मानन्द जोशी, सन्तोष जोशी, दिनेश जोशी, भोज जोशी, नारायण जोशी, पुष्कर जोशी, डोजर चालक र सहचालक घाइते भएको सडक उपभोक्ता समितिका अध्यक्ष केशवदत्त जोशीले जानकारी दिनुभयो । घाईतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।
उपभोक्त समितिका अध्यक्ष जोशीले भन्नुभयो, “पाँचसय मिटर मात्र सडक खन्न बाँकी थियोे । दशरथ चन्द नगरपालिकाले पछि मुल्याङ्कन गरेर सडक खन्न अनुमति दिएको हो । सडक खन्न ठेकेदारको डोजर लगेर गाउँमा जाँदा स्थानीय दुर्गादत्त जोशी लगायतले आफ्नो जग्गामा सडक खन्न पाईदैन भनेर झडपमा उत्रिदा डोजर चालहसहित आठ जना घाईते भएका छन् । डोजर तोडफोड गरिएको छ”
सडक निर्माण गर्दा जग्गा पर्ने मध्येका दुर्गादत्त जोशीले बिना ईष्टमेट र बजेट नै नभई गाउँमा जथाभावी सडक खन्न डोजर आएपछि डोजर धपाउन खोज्दा झडप भएको स्वीकार गर्नुभयो ।
दुर्गादत्तले भन्नुभयो, “गत चैत महिनामै जिल्ला प्रशासन कार्यालयमा जथाभावी सडक खन्ने काम रोकिपाऊ भन्दै निवेदन समेत दिएका थियौं । नगरपालिकाले जग्गादातालाई खबर नै नगरेर गाउँमा डोजर पठाउने काम गर्दा झडा भएको हो । ”
यो विषयमा बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले दशरथ चन्द नगरपालिका वडा नम्बर ९ का स्थानीयको यसअघि नै निवेदन आएपछि दशरथ चन्द नगरपालिकालाई विवाद मिलाएर सडक खन्न पत्राचार गरेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो, “ सडक खन्दा सहकार्य, समन्वय र सहमति नभएको देखियो । यो विषयमा दुबै पक्षलाई बोलाएर छलफल भईरहेको छ । ”