भोटराज राई
उदयपुर, फागुन २९ गते । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्तटोलीले उदयपुरको कटारी नगरपालिका १ खसिबासको जंगलबाट बालिका अपहरणको सूचनाको आधारमा घटनामा संलग्न १४ जनाको समुहलाई बिहिबार ठूलो मात्रामा हातहतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्ने ६ महिलासहितको उक्त समुह नेकपा माओवादी विप्लब समूह रहेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल ५ नंं. हे.क्वा. उदयपुरका एसपी गाहरधन राईका अनुसार धनुषा जिल्लाको गणेशमानचारनाथ नगरपालिका ५ गौरीनाथकी १४ वर्षिया बालिका करिना मोक्तान हिजो अपहरण परेको सूचनाको आधारमा प्रहरीको संयुक्तटोलीले बालिकासहित १४ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा २० वर्षिया मुस्कान राई, २८ वर्षीया विवेश खड्का, १६ वर्षिया रिता कार्की, २० वर्षिय विकास राई, १७ वर्षिय आयुष मगर, १८ वर्षिय अविमान तामाङ, २० वर्षिया आशिका लामा, १६ वर्षिया रञ्जना राई, १९ वर्षिया अनिता राई, १९ वर्षिया अनुस्का राउत, १७ वर्षिया सपना राई, ४६ वर्षिया मणिराज राई, १५ वर्षिय आशिस श्रेष्ठ रहेका छन् ।
जंगलमा घेराहाली पक्राउ गरिएका उनीहरुको साथबाट पेस्तोल ३ थान, सकेटबम ११ थान, प्रेसरकुकर १ थान, म्यागजिन ३ थान, खुकुरी २ थान, डेटोनेटर ३ मिटर बरामद भएको एसपी राईले बताउनुभयो । घेराहाली पक्राउको क्रममा दोहोरो भिडन्त नभएको प्रहरीले जनाएको छ ।
बालिका मोक्तानलाई एकदिनअघि घरबाटै १२÷१३ जनाको संख्यामा आएको समुहले घरबाटै अपहरण गरेको सूचनापछि हिजैदेखि प्रहरीको संयुक्तटोलीले धनुषाहुदै सिन्धुली, सप्तरी लगायतका जिल्लामा खोजी गर्दै उदयपुरमा पक्राउ गर्न सफल भएको २ नं. प्रदेशका प्रहरी प्रमुख डीआइजी प्रधुम्न कार्कीले जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुलाई धनुषा प्रहरीलाई बुझाउन पठाइएको र अपहरण परेकी बालिकालाई परिवारलाई जिम्मा लगाउन परिवारसंग सम्पर्क भईरहेको जनाइएको छ ।
२ नं. प्रदेशका प्रहरी प्रमुख डीआइजी प्रधुम्न कार्कीका अनुसार बालिका अपहरणको कारण खुलिनसकेको भएपनि पार्टीको गतिविधिमा संलग्न गराउन जबरजस्ती अपहरण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले यो एउटा ठूलो सफलताको काम गरेको उहाँले बताउनुभयो ।
जिल्ला इन्चार्ज पनि पक्राउ
यसैबीच नेकपा माओवादी नेत्रविक्रम चन्द (विप्लप) समूहका उदयपुर जिल्ला सेक्रेटरी तथा ईञ्चार्ज पक्राउ परेको छ । उदयपुरगढी गाउँपालिका–७ अधेरीबाट जिल्ला ईञ्चार्ज जितबहादुर पुलामी मगर विहिबार विहान करिब ६ बजे पक्राउ परेको हो ।
पालिकाको वडा नंं–४ निबासीस्थानीय चित्रबहादुर खपाङी मगरको घरमा लुकिछिपी बसेको विशेष सुचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले बताउनुभयो ।
मगरको साथबाट तीनथान मोवाईल र विभिन्न दस्तावेजहरु बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान भईरहेको जनाएको छ ।