मधुसुधन तिमल्सिना
काभ्रे, चैत ३ गते । पनौती नगरपालिका वडा न ७ बसपार्क क्षेत्र तनावग्रस्त बनेको छ । सोमबार दिउँसो टिपरको ठक्करले पैदलयात्री आमाछोरीको मृत्यु भएपछि पनौती क्षेत्र तनाव ग्रस्त भएको हो ।
खानीखोला गाउँपालिका वडा न १ की ३३ बर्षीय जुनीमाया गोले र उहाँकी तीन बर्षीय छोरी स्मारिका गोलेलाई टिपरले ठक्कर दिदाँ मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौडेलले पनौती क्षेत्र तनावग्रस्त भएपछि थप प्रहरी परिचालन गरिएको बताउनुभयो । उहाँका अनुसार आन्दोलनकारीले ढुङ्गामुढा अझै पनि गरिरहेका छन ।
हामी आन्दोलन नियन्त्रणमा लिने प्रयासमा छौँ । उहाँले थप्नुभयो, आन्दोलन नियन्त्रण लिन अहिले सम्म पाँच राउण्ड अश्रूग्यास र दुई राउण्ड हवाइफायर गरिएको छ । आन्दोलनकारीले ढुङ्गामुढा गर्दा चार प्रहरी घाईते भएको एसपी पौडेलले जानकारी दिनुभयो । तर आन्दोलनकारीले भने २० भन्दा बढी अश्रूग्यास र हवाइफाइर भएको बताएका छन । आन्दोलनकारी एक दर्जन भन्दा बढी घाईते भएको स्थानीयले जनाएका छन ।
करिब साँढे चार बजे बा ५ ख ५४८० नम्बरको टिपरले आमाछोरीलाई ठक्कर दिएको थियो । ठक्करबाट सख्त घाईते हुनुभएको उहाँहरुलाई शिरमेमोरियल अस्पताल बनेपा लगिएको थियो । तर डाक्टरले आमा छोरीलाई नै मृत घोषणा गरेको थियो । सयौको सख्यामा रहेका आन्दोलनकारीहरुले टिपरको दादागिरी बन्द गर, मान्छे मार्न पाईदैन, चालकलाई कारवाही गर लगायतका नारा लगाइरहेका छन । प्रहरीले चालक नवराज थापा र टिपरलाई नियन्त्रणमा लिएको जनाएको छ ।