सुजल श्रेष्ठ
प्यूठान, वैशाख ३० गते । यसअघि दुई जनामा आरडीटी पोजेटिभ आएकाको पीसीआर रिर्पोट नेगेटिभ आएको भोलिपल्ट पुनः थप ११ जनामा आरडीटी पोजेटिभ देखिएको छ । प्यूठान नगरपालिका–९ र १० वडाको क्वारेन्टाइनमा बसेका व्यक्तिमा आरडीटी पोजेटिभ आएको हो ।
प्यूठान नगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत दधिराम सुवेदीका अनुसार आठ जना पुरुष र तीन जना महिलामा आरडीटी पोजेटिभ देखिएको छ । उनीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि पठाउने उहाँले जानकारी दिनुभयो ।
मरन्ठानाको गुरीगाउँमा तीन जना, धगेमा एक जना, बुढादेवीमा सात जनामा आरडीटी पोजेटिभ देखिएको हो । उनीहरु २१ देखि ३८ वर्ष उमेर समुहका रहेका छन् । उनीहरु मध्ये एक जना लमजुङबाट र बाँकी काठमाडौंबाट आएका व्यक्ति हुन् । प्यूठान नगरपालिकाले गाडी रिर्जभ गरेर काठमाण्डौबाट मजदुर तथा विद्यार्थीलाई ल्याएको थियो । आरडीटी पोजेटिभ देखिएकाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी भैरहवा पठाउने तयारी गरिएको छ ।