logo
२०८१ मंसिर १२ बुधवार



भारतबाट आएका थिए दैलेखका आठ सङ्क्रमित, चार हजारलाई क्वारेन्टाइनमा राख्न समस्या

फिचर |
खुला |


भारतबाट आएका थिए दैलेखका आठ सङ्क्रमित, चार हजारलाई क्वारेन्टाइनमा  राख्न समस्या


कमल शर्मा
दैलेख, जेठ १२ गते । सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार दैलेखको कोरोना सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । सोमबार सङ्क्रमित पुष्टि भएका दैलेखको नारायण नगरपालिकाका दुई जना, गुराँसका दुई जना र डुङ्गेश्वर गाउँपालिकामा तीन जना र गत जेठ ५ गते दैलेखको आठबीस नगरपालिका वडा नं. १ का ३५ वर्षीय युवक कोरोना सङ्क्रमित गरी कर्णाली प्रदेशको दैलेखमा आठ जना कोरोना सङ्क्रमित पुगेका छन् । त्यस्तै, सुर्खेतका तीनजना गरी कर्णालीमा ११ कोरोना सङ्क्रमित पुगेका छन् ।
दैलेखमा कोरोना सङ्क्रमण भएका पुरुष र महिला भारतका विभिन्न सहरबाट नेपाल आएको बताइएको छ । उनीहरूलाई शुक्रबार नारायण नगरपालिकाले नेपालगञ्जको रुपैडिहा नाकाबाट उद्धार गरी ल्याएको थियो । उनीहरूसँग ६०१ जना सँगै आएका थिए ।
नारायण नगरपालिकामा फेला परेका नयाँ सङ्क्रमित १५ र १८ वर्षीय पुरुष हुन् । डुङ्गेश्वर गाउँपालिकामा एकजना महिला र दुईजना पुरुष हुन् । उनीहरू पनि केही समयअघि मात्र भारतबाट डुङ्गेश्वर आएको खुलेको छ । सोमबार भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा दैलेखका एकजना महिलासहित पाँचजनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखकै गुराँस गाउँपालिकाका दुई जना पुरुष छन् ।

बन्दाबन्दीमा भित्रिए चार हजार बढी स्थानीय
कोरोना भाइरस सङ्क्रमणलाई न्यूनीकरण गर्न सरकारले गरेको बन्दाबन्दीको समयमा समेत दैलेखमा चार हजार नागरिक जिल्ला भित्रिएको बताइएको छ । जिल्ला प्रशासन कार्यालयले  दैनिक दुई सयदेखि एक हजारसम्म नागरिक जिल्ला भित्रिएको जानकारी दिएको छ । सरकारले लकडाउन गर्नुपूर्व १४ सय भन्दा बढी स्थानीय तहमा आएको विवरण जिल्ला प्रशासनमा भए पनि अन्य नाकाबाट सात सयभन्दा बढी नागरिक जिल्ला भित्रिएका थिए । जिल्ला स्वास्थ्य कार्यालय, दैलेखले स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा राखेका १३ सय जनाको आरडिटी परीक्षणमा ४८९ जनाको स्वाब सङ्कलन गरेको स्वास्थ्य सेवा कार्यालय, दैलेखले जानकारी दिएको छ । स्वास्थ्य कार्यालय, दैलेखका खोप अधिकृत एवम् सूचना अधिकारी थीरप्रसाद रेग्मीले अहिलेसम्म आठ जनामा आरडिटी पाजेटिभ र आठ जनामै पिसिआर पोजिटिभ देखिएको बताउनुभयो । उहाँले जिल्लाका ११ स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या अझै दुई हजारभन्दा बढी रहेको छ । जिल्ला प्रशासनले दिएको जानकारी अनुसार दुई हजार ९५ जना अहिले पनि क्वारेन्टाइनमा बसेकका छन् ।

व्यवस्थापनमा चुनौती 
भारत सरकारले रेल सेवा सुचारु गरी धमाधम नेपालका नाकाहरूमा ल्याएर नेपालीलाई छोड्ने रणनीतिका कारण अहिले नेपालका स्थानीय तह समस्यामा परेका छन् । २० वर्षभन्दा बढी भारतमा परिवारसहित बसेकाहरूसमेत नेपालमा फर्कन थालेपछि स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनसमेत अपुग भएकाे छ । नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले कोरोनाको महामारीका कारण भारतबाट धेरै नागरिक आइरहेको बताउँदै उनीहरूको उद्धारसँगै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन लागेको बताउनुभयो । उहाँले भारतलगायत अन्य जिल्लाबाट आएका नागरिकको व्यवस्थापनमा अहिले ठूलो चुनौती बनेको बताउनुभयाे । त्यसका लागि कार्यालयका सबै काम स्थगित गरेर क्वारेन्टाइन निर्माण र उनीहरूको व्यवस्थापनमा लागेको बताउनुभयो ।
महाबु गाउँपालिका, दैलेखका अध्यक्ष जङ्गबहादुर शाहीले अहिलेसम्म पाँच सयभन्दा स्थानीय गाउँपालिकामा आइसकेको बताउँदै अन्य आएको खण्डमा कसरी राख्ने भन्ने समस्या भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?