जनार्जन खत्री
सर्लाही, जेठ १७ गते । सर्लाहीमा शनिबार थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार भारतीय सीमावर्ती क्षेत्रमा पर्ने पर्सा गाउँपालिकाका १२ जना, विष्णु गाउँपालिकाका चार जना र कौडेना गाउँपालिकाका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित सबै १७ जना भर्खरै भारतबाट आएका हुन् ।
सम्बन्धित पालिकाहरूको क्वारेन्टाइनमा रहेका सङ्क्रमितहरूलाई सदरमुकाम मलङ्गवामा रहेको सन्त अल्पाईन रामनारायण यादव नर्सिङ्ग कलेजको भवनमा निर्माण गरिएको आइसोलेसनमा ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी जिसीले बताउनुभयो । शनिबार १७ जना थपिएसँगै सर्लाही जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ६० पुगेको छ ।
शुक्रबार मात्रै जिल्ला सदरमुकामस्थित एक दैनिक पत्रिकाकी सम्पादक र रेडियोका प्राविधिकसहित कौडेना गाउँपालिकाका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सर्लाहीमा भारतबाट आउनेहरूको सङ्ख्यामा वृद्धि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । पालिकाहरूलाई अहिले भारतबाट फर्किएकाहरूको व्यवस्थापन गर्न हम्मेहम्मे नै परेको छ । क्वारेन्टाइनको क्षमता भन्दा धेरैलाई कोचामकोच गरी राखिँदा समस्या भइरहेको त्यहाँ बसिरहेकाहरूले गुनासो गरेका छन् ।
सर्लाहीमा भारतबाट फर्किएकामध्ये स्वाब सङ्कलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौँ पठाइएका पाँच सय बढीको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय, मलङ्गवाले जनाएको छ । शुक्रबार जिल्लाको गौडेता नगरपालिकाबाट मात्रै भारतबाट फर्किएका २९१ जनाको स्वाब सङ्कलन गरिएको थियो ।