logo
२०८१ बैशाख ७ शुक्रवार



कङ्गोमा इबोला सङ्क्रमित देखिए, चार जनाको मृत्यु

फिचर |
अन्तर्राष्ट्रिय |


कङ्गोमा इबोला सङ्क्रमित देखिए, चार जनाको मृत्यु


कङ्गो, जेठ २० गते । अफ्रिकी राष्ट्र प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इक्वाटियर प्रान्तको वाङ्गाता क्षेत्रमा प्राणघातक इबोला भाइरसको सङ्क्रमण फैलिएको सरकारले जनाएको छ । स्वास्थ्य मन्त्रालयले वाङ्गातामा इबोला सङ्क्रमित छ जना फेला परेको जनाएको छ । सङ्क्रमित छ जनामध्ये चार जनाको मृत्यु भएको र दुई जना उपचारका क्रममा रहेका छन् ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिमा इबोलाको सङ्क्रमण देखिएको हो । सङ्गठनका महानिर्देशक टेड्रोस अधानोमले आम मानिसले सामना गर्नु परिरहेका सङ्क्रामक एवम् प्राणघातक रोगहरू कोविड–१९ मात्र नरहेको यसले पुष्टि गरेको छ भन्नुभयो ।
उहाँले कोविड–१९ महामारीका बारेमा हामी सबैको ध्यान गए पनि डब्लुएचओले मानव स्वास्थ्यमा जोखिम निम्त्याइरहेका अरु रोगतर्फ पनि ध्यान दिइरहेको बताउनुभयो ।
सन् १९७६ मा पहिलोपटक इबोला देखिएदेखि हालसम्म यो एघारौँ पटक देखिइसकेको छ ।
डब्लुएचओकी अफ्रिकाका लागि क्षेत्रीय स्वास्थ्य निर्देशक डा. माट्सीडिसो मोएटीले अहिले विश्वव्यापी रुपमै कोविड–१९ को महामारी देखिए पनि विगत २ वर्षदेखि अफ्रिकी स्वास्थ्य संस्थासँग मिलेर इबोला प्रसार रोक्न विशेष रुपमा कार्य भइरहेको बताउनुभयो ।
उहाँले इबोला फैलिएको क्षेत्रमा विशेषज्ञ सहितको टोली पठाउन लागिएको पनि जानकारी दिनुभयो । डब्लुएचओले यसअघि नै एमबान्डाकामा स्वास्थ्यकर्मीको टोली पठाइसकेको र कन्ट्याक्ट ट्रेसिङ (रोगी व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको पहिचान) को काम भइरहेको जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कङ्गोमा इबोला देखिनुको अर्थ इबोला भाइरस कङ्गोका जङ्गली जनावरमा अद्यापी रहेको पुष्टि भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?