logo
२०८१ मंसिर १३ बिहीवार



सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या १७५ पुग्यो, आज २७ जना थपिए

फिचर |
खुला |


सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या १७५ पुग्यो, आज २७ जना थपिए


जनार्जन खत्री
सर्लाही, जेठ २४ गते । सर्लाहीमा शनिबार फेरि २७ जना कोरोना सङ्क्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा स्वाब परीक्षण गर्दा रामनगर गाउँपालिकाका १३, विष्णु गाउँपालिकाका ११ र ईश्वरपुर नगरपालिकाका ३ जनामा सङ्क्रमण पाइएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो । भारतबाट आएर सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसेकाहरुमा सङ्क्रमण देखिएको प्रमुख जिल्ला अधिकारी जिसीले बताउनुभयो ।
एक हप्ता भन्दा अघि स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकाहरुको शनिबार बल्ल रिपोर्ट आएको हो । शनिबार २७ जना थपिएसँगै सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या १७५ पुगेको छ । जिल्लाको विभिन्न पालिकाको क्वारेन्टाइनमा बसेकाहरुको स्वाब सङ्कलन गरेर पठाएको हप्ता दिन नाघिसक्दा समेत रिपोर्ट आएको छैन । ल्याबमा पालो कुर्नु पर्दा रिपोर्ट आउन समय लागेको प्रमुख जिल्ला अधिकारी जिसीले बताउनुभएको छ ।
रिपोर्टमा ढिलाई हुँदा क्वारेन्टाइनमा कष्टपूर्ण किसिमले बस्नु परिरहेको त्यहाँ रहेकाहरुले गुनासो गरेका छन् । सर्लाहीका २० वटा स्थानीय तहमध्ये हालसम्म १५ वटा स्थानीय तहमा सङ्क्रमित भेटिएका छन् । लालबन्दी र बरहथवा नगरपालिका एवं चन्द्रनगर, बसबरिया र चक्रघट्टा गाउँपालिकामा अहिलेसम्म सङ्क्रमित भेटिएका छैनन् ।
ईश्वरपुर नगरपालिकामा शनिबार पहिलो पटक सङ्क्रमित भेटिएका छन् । भारतको मुम्बईबाट आएर बयलवासस्थित नारायण माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ३ जनामा सङ्क्रमण पुष्टि भएको मेयर मनोजकुमार देवकोटाले बताउनुभयो । पछिल्लो समय सङ्क्रमित बढ्दै गएपछि आइसोलेसन वार्डको अभावमा सङ्क्रमितलाई जहाँको त्यहीँ क्वारेन्टाइन स्थलमै आइसोलेटेड गरेर राख्न थालिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?