जनार्जन खत्री
सर्लाही, जेठ २६ गते । सर्लाहीमा सोमबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी १२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार ब्रह्मपुरी गाउँपालिकाका ४३ जना, विष्णु गाउँपालिकाका ३४ जना, ईश्वरपुर नगरपालिकाका १८ जना, चक्रघट्टा गाउँपालिकाका १५ जना, बलरा नगरपालिकाका नाै जना र रामनगर गाउँपालिकाका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित सबै भारतबाट आएर सम्बन्धित पालिकाको विभिन्न क्वारेन्टाइनमा बसिरहेकाहरू हुन् ।
नयाँ सङ्क्रमितलाई स्थानीय स्तरमै आइसोलेटेड गरेर राखिने प्रमुख जिल्ला अधिकारी जिसीले बताउनुभएको छ । सोमबार १२० जना थपिएसँगै सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३६९ पुगेको छ । यसअघि आइतबार जिल्लामा ७४ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
जिल्ला सदरमुकाम मलङ्गवाबाट १७५, हरिपूर्वाबाट १६०, चन्द्रनगरबाट १४९, कौडेनाबाट ११६, लालबन्दीबाट ५० र हरिवनबाट पठाइएको २९ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाएको दुई हप्ता पुग्न लाग्दासमेत प्राविधिक कारणले नतिजा आउन सकेको छैन ।