केपी शर्मा ओली
आज जुन २१ । वर्षभरिकै लामो दिन । सन् २०१५ मा संयुक्त राष्ट्रसङ्घले यस हिमवत् खण्डबाट हजार वर्षअघि प्रारम्भ भएको योगलाई विश्वव्यापी रूपमा संस्थागत रूपमा मनाउने प्रचलनकै रूपमा प्रारम्भ गरेपछि सुरु भएको अन्तर्राष्ट्रिय योग दिवस छैटौँ वर्ष भएको छ र हामी छैटौँ योग दिवस मनाइरहेका छौँ ।
प्राचीन कालदेखि हाम्रो दिनचर्या, अभ्यास र सामाजिक जीवनको एउटा अङ्ग रहँदै आएको छ– योग र आयुर्वेद । आज अन्तर्राष्ट्रिय रूपमा दुनियाँले यसको महŒव, वैज्ञानिकता, आवश्यकता र औचित्यलाई स्वीकार गरेको छ ।
यस अवसरमा म संयुक्त राष्ट्रसङ्घलाई हार्दिक धन्यवाद भन्न चाहन्छु र योगलाई अन्तर्राष्ट्रियकरण गर्न र संयुक्त राष्ट्रसङ्घको मञ्चबाट अगाडि बढाउन योगदान गर्नुहुने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु ।
आज राष्ट्रिय योग अभ्यासक्रम नामक योगसम्बन्धी एउटा अभ्यास भयो अथवा यसलाई हामीले प्रोटोकल भनेका छौँ । यसको पुस्तकाकारमा शुभारम्भ भएको छ । यस अवसरमा म खुसी व्यक्त गर्न चाहन्छु । यसमा योगदान गर्नुहुने सम्पूर्ण महानुभावमा हार्दिक धन्यवाद भन्न चाहन्छु ।
धेरै हजार वर्ष अगाडि हिमवत् खण्डबाट सैैभ्य दर्शन, मानव इतिहासलाई अगाडि बढाउने सन्दर्भमा वाद्यवादन, सङ्गीत, नृत्य, योग, आयुर्वेदजस्ता कुराका असाधारण ज्ञान, अभ्यास र अनुसन्धान अगाडि बढेका थिए । योगलाई व्यवस्थित ढङ्गले अगाडि बढाउने पतञ्जलीजस्ता योगगुरुका कुरा गरौँ अथवा योगलाई ध्यानको स्तरमा उठाउने बुद्धजस्ता ध्यानगुरुका कुरा गरौँ, ज्ञानगुरुका कुरा गरौँ यी सबै धर्तीका यसै भूभागबाट प्रारम्भ भएका थिए ।
वास्तवमा व्यायाम, प्राणायाम र ध्यान तीनवटा चिजको सम्मिश्रणबाट योग पूर्ण हुन जान्छ । हाम्रो यस भूभागबाटै सभ्यताको सुरुसँगै आदिकालबाटै उत्पत्ति, प्रयोग र विकास भएको र अहिलेसम्म पनि हुँदै आएको योग आज विश्वव्यापी बनेको छ । मानव जातिले स्वस्थ रहनका लागि योग अभ्यासको महŒव बुझ्दै गएको छ । यसमा हामी खुसी छौँ र हामी खुसी हुनुपर्छ र खुसियाली मनाउनुपर्दछ ।
यसले हाम्रो सभ्यता, संस्कृति, इतिहास गौरवपूर्ण छ भन्ने देखाउँछ । यो गौरव यत्तिकैे प्राप्त भएको होइन । यत्तिकै प्राप्त भएको थिएन । हाम्रा पूर्वजको मिहिनेत, दुःख, कष्ट, खोज अध्ययन, अनुसन्धान र बलिदान आदिको प्रतिफल हो यो । इतिहासमा हामीले प्राप्त गरेको गौरव ।
म आजको यस गरिमामय दिनमा यो भूगोलजहाँ सम्भावना थिए र ती पूर्वजहरू जसले योगदान गर्नुभयो उहाँहरूप्रति गर्वका साथ नमन गर्दछु ।
हामीले यो गौरव जोगाउनु छ र यसलाई माथि उठाउनु छ । हामी सर्वोपरि रूपमा हाम्रा पूर्वजले हजारौँ वर्ष लगाएर (पत्ता लगाएको भने पनि हुन्छ) मानव जातिको सर्वोपरि आकाङ्क्षा पूरा गर्ने सङ्कल्पमा आज लागिराखेका छौँ । मानव जातिको हरेक सचेत पुस्तामा अथवा हरेक पुस्ताका सचेत व्यक्तिले यसलाई प्राप्त गर्ने ध्येयमा आफ्नो योगदान पु¥याउनुपर्दछ । मानव हुनुको सार्थकता र मानव हुनुको कर्तव्य यसैमा छ । हामी आज यसैका लागि क्रियाशील छौँ ।
विडम्बना, हाम्रो यति गौरवपूर्ण इतिहास छ, यस्तो सुन्दर प्रकृति छ, यति उर्वर, औषधिमय, जीवनमय प्रकृति छ, हामी मिहिनेती विद्वान् पुर्खाका सन्तान हौँ तर पनि हामी पछाडि परेका छौँ र गरिबीमा कचेडिएका छौँ । अब यो अवस्था हामीलाई स्वीकार्य हुन सक्दैन । यसलाई हामीले बदल्नुपर्छ । बदल्न सकिन्छ । बदल्ने उपायहरू छन् र बदल्ने बाटाहरू छन् ।
त्यसैकारण हामीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा तय गरेका छौँ । यसलाई पूरा गर्ने सङ्कल्प पनि लिएका छौँ । हामी राष्ट्रिय आकाङ्क्षा तय गरेर अथवा हाम्रा समस्या चिनेर अथवा अझ बढी गन्तव्य ठम्याएर मात्र चुपचाप बस्दैनौँ । यी हाम्रा गन्तव्यमा पुग्नका लागि हामी क्रियाशील हुन्छौँ । नहिँडी, प्रयास नगरी गन्तव्यमा पुगिँदैैन । हामीसँग बलिया आधार, उर्वर र जीवनमय प्रकृति छ । प्रकट सम्भावनाको प्रयोग र विकास ल्याउन र थप प्रकट सम्भावनाको खोज, अध्ययन र अनुसन्धान गर्न तिनीहरूलाई पत्ता लगाउन, बाहिर ल्याउन र प्रयोग गर्न हामीले खोज, अध्ययन, अन्वेषण, अनुसन्धान गर्दै तिनलाई पनि प्रयोग गर्न शिक्षित र सक्षम मानव शक्ति चाहिन्छ र त्यो हामीले तयार गर्नुपर्दछ । यस प्रयोजनका लागि यस अर्थमा पनि शारीरिक वा मानसिक जुनसुकै हिसाबले पनि सचेत, सबल र सक्षम रहन स्वास्थ्य अनिवार्य पूर्वशर्त हो । हामीले सक्षम, योग्य अथवा स्वस्थ, शिक्षित जे जस्तो नागरिक खोजे पनि त्यसमा स्वास्थ्य पहिलो कुरा हुन्छ । यदि स्वस्थ छैन भने ज्ञान पनि काम लाग्न सक्दैन । स्वस्थ छैन भने अरू कुनै पनि कुरा काम लाग्न सक्दैन । त्यसकारण हामी स्वस्थ रहन सिक्नुपर्दछ । स्वस्थ रहने बाटो लिनुपर्दछ । स्वस्थ रहने प्रयास अगाडि बढाउनुपर्दछ । स्वस्थ रहनका लागि उचित आहार, उचित व्यायाम, उचित आरामको सन्तुलन आवश्यक छ । त्यसैकारण हामीले यी सबै कुराको सन्तुलन मिलाएर ‘स्वस्थ नेपाल, निरोगी नेपाल’ बनाउने भनेका छौँ । हाम्रो स्वास्थ्य नीतिको मूल पक्ष नै निरोगी नेपाल बनाएका छौँ । उपचार दोस्रोे पक्ष मात्रै हो तर हामी मानव जीवनलाई निरोगी बनाउन चाहन्छौँ । समाजलाई शारीरिक, मानसिक सबै हिसाबमा स्वस्थ
बनाउन चाहन्छौँ ।
आहार, व्यायाम र आरामको अन्योन्याश्रित सम्बन्ध छ । वैज्ञानिक, सन्तुलित र पूर्ण व्यायामको नाम नै योग हो । अघि मैले भने व्यायाम, प्राणायाम र ध्यान, तीनवटा चिज मिलेपछि पूर्ण योग बन्छ । व्यायाम, प्राणायाम र ध्यान योगका एउटाएउटा पक्ष हुन् । तीनवटै चिज मिलेपछि पूर्ण बन्दछ । यो तीनवटा चिजको योगबाट शरीरलाई, मस्तिष्कलाई स्वस्थ रहन योगदान गर्दछ ।
व्यायाम, प्राणायाम र ध्यान कस्तो अवस्थामा कति र कसरी गर्ने यसको हामीले जानकारी राख्नुपर्दछ । व्यायाम, प्राणायाम कस्तो अवस्थाको व्यक्तिले, कुन उमेरको व्यक्तिले आन्तरिक अवस्था, शारीरिक अवस्था कस्तो रहेको व्यक्तिले कुन व्यायाम कुन मात्रामा कुन विधिका साथ गर्नुपर्दछ ? यस कुराको जानकारी भएन भने प्रत्युत्पादक पनि हुन सक्दछ । त्यसमा हामीले योगलाई दोष दिन मिल्दैन । हामीले आफ्नो ज्ञानको कमी अथवा त्यसलाई व्यवहार गर्ने कुरामा कमी, अभ्यास गर्ने कुरामा कमीको कारणले प्रतिफल उल्टो भएको हुनसक्छ । बिरुवामा पानी लगाउनुपर्छ तर लगाउँदा धेरै पानी भयो भने पनि बिरुवा मर्नसक्छ ।
हरेक कुरा त्यस्तै हो । तसर्थ हामीले व्यायाम, योग गर्दा कसरी गर्ने, के गर्ने भन्ने कुरा प्रारम्भिक रूपमा गुरुबाट सिक्नु वाञ्छनीय हुन्छ । जसले अभ्यास गरेको छ, जानकारी लिएको उनीहरूबाट सिक्न जरुरी हुन्छ । योग पुस्तकबाट पनि सिक्न सक्छौँ । साधारण जानकारीबाट सिक्न सक्छौँ तर त्यो पर्याप्त नहुन सक्छ । त्यसकारण छोटै समयका लागि भए पनि कसरी योग गर्ने भन्ने कुराको सन्दर्भमा अरूसँग सिक्नु वाञ्छनीय हुन्छ ।
मानव, जीव, प्रकृति, वनस्पति सबैको अस्तित्व र सन्तुलन इको सिस्टमको चिन्तन, प्रवृति र सम्भावनालाई योगले वृद्धि गर्दछ किनभने यसले धर्तीप्रतिको बुझाइ, प्रकृतिप्रतिको बुझाइ, प्रकृतिको समग्रताप्र्रतिको बुझाइ, मानव जीवन र अरू जीव तथा वनस्पतिसँगको अथवा प्रकृतिसँगको अन्तरसम्बन्धको बुझाइ बुझ्न सक्छ । यसर्थ यो हरहिसाबले उपयोगी छ ।
योग सबै उमेरका सबै प्रकारका व्यक्तिलाई जुनसुकै पेसा व्यवसाय अपनाउने व्यक्तिलाई पनि उपयोगी हुन सक्दछ तर मैले अघि नै भनेँ त्यसका निम्ति कस्तो योग कति बेला कुन तरिकाले गर्ने भन्ने कुराको जानकारी हामीले लिनुपर्दछ ।
स्वस्थ, ताजा, औषधिमय, सन्तुलित खाना र हाम्रा पूर्वजले हजारौँ वर्ष लगाएर खोज अध्ययन, अनुसन्धान गरेको र व्यवहारबाट उपयोगी सिद्ध गरेका जडीबुटीलाई हामी आयुर्वेदिक औषधि भन्न सक्छौँ । त्यस्ता औषधि हामीसँग छन् । त्यस्ता औषधिको सेवन उपयोगी हुन सक्दछ ।
मैले शरीरको प्रतिरोध क्षमता निरोगी रहनका लागि भनँे । मैले हाम्रा भान्छाको सन्तुलित र औषधिमय खाना परिकारको चर्चा गरँे । केही विद्वान्ले बेसारको मजाक उडाए । कतिले अदुवाको मजाक उडाउलान्, कतिले पिप्लाको मजाक उडाउलान्, कतिले अरू विषयको मजाक उडाउलान् । म उहाँहरूलाई सुझाव दिन चाहन्छु, हाम्रा भान्छामा हामीले प्रयोग गरेका औषधि चरक सिद्धान्त, जो आयुर्वेदको सम्बन्धमा एउटा धेरै महŒवपूर्ण कुरा हो । एक ढङ्गले भन्ने हो भने आधारग्रन्थ भनेजस्तै हो ।
यी सिद्धान्त यत्तिकै प्रतिपादन भएका होइनन् । ऋषि चरकले हजारौँ वर्षदेखि मिहिनेत गरेर प्रतिपादन भएका हुन् । आफ्ना पूर्वजले कमाएका अनुभव, गरेका प्रयोगका निष्कर्ष तिनीहरूलाई समेटेर त्यो संहिता निर्माण गरेका हुन् । ती कुराहरू हाम्रा पूर्वजले पहिलेदेखि हाम्रा भान्छामा औषधिका रूपमा कुनकुन प्रयोग गर्नुपर्छ भन्ने कुरा ल्याएका हुन् । हामीले पूर्वजका खोजप्रति मजाक उडाउने ? कम्तीमा यो सब्जीमा बेसार किन हालेको ? अदुवा किन हालेको ? मेथी किन पड्काएको ? मरिच किन खान्छौँ ? जस्ता कुरा घरमा जसले भान्छा तयार गर्छ, ऊसँग सोधे पनि हुन्थ्यो ।
आयुर्वेद र योग हाम्रा असाधारण सम्पत्ति हुन् । यिनीहरूलाई अगाडि बढाऔँ र हाम्रो जीवनलाई निरोगी बनाऔँ ।
आजको योग दिवसले हामी सबैलाई हाम्रा पूर्वजले असाधारण खोज, अध्ययन, अनुसन्धान र त्यहाँबाट प्राप्त गरेका उपलब्धिप्रति गर्व गर्ने, तिनको प्रयोग गर्ने र निरोगी नेपाल निर्माण गर्ने प्रेरणा देओस् । यहाँको हावापानी त्यस अनुकूलको छ । त्यसकारण योग अभ्यास, यसको निरन्तरता, त्यसको उचित, वैज्ञानिक ढङ्गले परिपालन गर्ने कुरालाई अगाडि बढाऔँ । हामी सबैलाई यस कामका निम्ति आजको दिवसले प्र्रेरणा देओस् ।
(प्रधानमन्त्री ओलीले छैटौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा २०७७ असार ७ गते व्यक्त गर्नुभएको विचार)