logo
२०८१ मंसिर १३ बिहीवार



दशकअघि बाँकेमा आतङ्क मच्चाउने यादव पक्राउ

खुला |


दशकअघि बाँकेमा आतङ्क मच्चाउने यादव पक्राउ


गोविन्द शर्मा
बाँके, असार ९ गते । एक दशकसम्म बाँकेमा हत्या, अपहरण र बम विष्फोटबाट आतङ्क मच्चाउँदै आएका भूमिगत सशस्त्र समूहका व्यक्तिलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय बाँकेले हत्या, अपहरण, बम विष्फोटलगायत आधा दर्जन बढी अपराधमा संलग्न डुडुवा गाउँपालिका साविक बनकट्टी -५ का धर्मा सिंह भन्ने राजेश यादवलाई मङ्गलबार बिहान ३ बजे उनकै घरबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेमा मङ्गलबार पत्रकार सम्मेलन गरी यादवलाई सार्वजनिक गरेको हो ।

उनलाई सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले भारतबाट घरमा आएको सूचनाको आधारमा यादवलाई तरबार, चक्कुसहित पक्राउ गरिएको जानकारी दिनुभयो ।
पक्राउ परेको व्यक्ति विगतमा भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह) समूहमा आबद्ध भएको प्रहरीले जनाएको छ ।

यादवले नेपालगञ्ज २१ पुरैनीका छन्दविक्रम मल्लको अपहरण र हत्यासँगै थप आठ वटा अपराधमा संलग्न भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वि. सं. २०६६ भदौ २१ गते घरबाट अपहरण भएका मल्लको भोलिपल्ट उदयपुरमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । छन्दका भाइ विजय मल्लले यादव, राकेश लोनिया, दिपु, उपेन्द्र पाण्डेलगायतविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिनुभएको थियो ।

यादव पक्राउ परेपछि ढिलै भएपनि न्याय पाइने आशा पलाएको छन्दका भाइ विजयले बताउनुभयो । यसैगरी यादव संलग्न भएका अन्य अपराधमा २०६६ पुस १ गते विजय भण्डारीलाई रकम माग गरी अपहरण गर्ने धम्की दिएको मुद्दामा फरार रहेका यादव २०६६ पुस १७ गते हातहतियार तथा खरखजाना मुद्दामा पनि फरार भएको प्रहरीले जनाएको छ ।

यसैगरी २०६५ भदौ १७ गते राजबहादुर सिंहलाई गोली प्रहार गरी घाइते बनाएको ज्यान मार्ने उद्योग मुद्दामा पनि यादव फरार थिए । यस्तै, २०६८ माघ ४ गते होलिया -२ की नन्ना यादवलाई गोली हानेको हत्या गरेको अभियोगमा कर्तव्य ज्यान मुद्दामा फरार थिए । प्रहरीका अनुसार २०६८ मङ्सिर १४ गते मालपोत कार्यालय बाँकेमा बम विष्फोट गराएका यादवलाई २०७२ मङ्सिर १८ गते जिल्ला अदालतले छ महिना कैद र पाँच हजार जरिवाना गरेको छ । सोही दिन भूमि सुधार कार्यालय बाँकेमा बम विष्फोट गराएका यादवलाई जिल्ला अदालतले छ महिना कैद र पाँच हजार जरिवानाको सजाय गरेको छ ।

यस्तै, २०६८ चैत ६ गते साविक गनापुर -९ स्थित प्रकाश अधिकारीको फैक्ट्रीमा बम विष्फोट गराएका यादवलाई २०७२ मङ्सिर १८ गते जिल्ला अदालतले छ महिना कैद र पाँच हजारको सजाय सुनाएको छ । यसैगरी २०७० पुस १३ त्रिभुवनप्रसाद कुर्मीलाई फिरौती रकम नदिएपछि अपहरण गर्ने धम्की दिएपछि अपहरण मुद्दामा २०७१ फागुन १७ गते जिल्ला अदालतबाट चार वर्ष कैद र तीस हजार रुपियाँ जरिवानासमेत भएको प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?