logo
२०८१ मंसिर १५ शनिवार



बाँके र बर्दियाका थप २३ जना काेराेना निको भएर घर फर्किए

फिचर |
खुला |


बाँके र बर्दियाका थप २३ जना काेराेना निको भएर घर फर्किए
शनिबार नेपालगञ्जस्थित आइसोलेसनबाट डिस्चार्ज भएकाहरु । तस्विर ः सिराज खान । नेपालगञ्ज



सिराज खान
नेपालगञ्ज, असार १३ गते । बाँके जिल्लाका विभिन्न आइसोलेसन अस्पताल र सेन्टरहरूबाट शनिबार बाँके र बर्दियाका थप २३ जना काेराेना सङ्क्रमितहरू निको भएर घर फर्किएका छन् । तीमध्ये १८ जना बाँकेका र पाँच जना बर्दियाका रहेका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फाेकल पर्सन नरेश श्रेष्ठका अनुसार शनिबार मात्रै बाँकेको नेपालगञ्जस्थित आइसोलेसन सेन्टरबाट १२ जना, खजुरा क्यान्सर आइसोलेसन अस्पतालबाट दुई जना, आइसोलेसन सेन्टर खजुराबाट चार जना गरेर १८ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।
सोही प्रकारले बाँकेका आइसोलेसनमा रहेका बर्दियाका पाँच जना पनि निको भएर घर फर्किएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।

यसैगरी, शनिबार राप्तीसोनारी गाउँपालिकाका एक र कोहलपुर नगरपालिकाका एक गरेर दुई जना सङ्क्रमित पनि थपिएको भेरी अस्पतालले जनाएको छ ।
उता, कोहलपुर र खजुरामा परिक्षण गर्ने क्रमलाई बढाएर शनिबार ती दुवै ठाउँमा स्वाब सङ्कलन कार्य भइरहेको कोरोना फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।

बाँकेमा ३५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा हालसम्म ३०२ जना निको भएर घर फर्किसकेका छन् भने ४८ जना अझै विभिन्न आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।
बाँकेका दुई जनाको उपचारकै क्रममा मृत्युसमेत भएको कार्यालयले जनाएको छ ।

बर्दियाका पनि पाँच डिस्चार्ज भए, चार थपिए
शनिबार बर्दिया जिल्लाका पाँच जना सङ्क्रमित पनि निको भएर डिस्चार्ज भई घर फर्किएका छन् भने चार जनामा थप सङ्क्रमण पुष्टि भएको नेपालगञ्जस्थित भेरी अस्पतालले जनाएको छ ।
भेरी अस्पतालका अनुसार बाँकेका आइसोलेसन सेन्टरमा रहेका बर्दियाका पाँच जनालाई शनिबार डिस्चार्ज गरिएको छ ।

सोही प्रकारले बर्दिया ठाकुरबाबा-३ का एक जना, मधुवन-५ का दुई जना र गेरुवा-२ का एक जना गरी चार जना सङ्क्रमित शनिबार थपिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?