लीलाराज झापाली
बिर्तामोड, असार २८ गते । अविरल वर्षाका कारण झापा गाउँपालिका १, २ र ३ का विभिन्न क्षेत्रमा डुबान हुँदा ५२ घरपरिवार विस्थापित बनेका छन् भने एक जनाको मृत्यु भएको छ । तीन वर्ष पहिले सोही गाउँपालिकामा आएको बाढीले ११ जनाको मृत्यु भएको थियो । यस वर्ष पनि लगातार आएको वर्षाका कारण स्थानीय कनकाई र बिरिङ नदीको सतह बढेर आउँदा सो गाउँपालिकाको सडकबारी, मिलनबस्ती, सिमलबारीलगायत सानो माईको तटीय क्षेत्रका बस्ती डुबानमा परेका हुन् ।
डुबानमा परेका केही स्थानीयलाई सशस्त्र प्रहरी बल बिओपी टाघनडुब्बा, इलाका प्रहरी कार्यालय कुमरखोदको टोलीले स्थानीयसँगको सहकार्यमा उद्धार गरी स्थानीय सेतुमारी प्राथमिक विद्यालयमा राखिएको छ ।
हाल सो क्षेत्रमा रहेका प्रायः विद्यालयहरूमा समेत क्वारेन्टाइन निर्माण गरिसकिएकोले थप बाढी पीडितलाई कहाँ राख्ने भन्ने चिन्ता थपिएको प्रहरीको भनाइ छ । झापामा सबैभन्दा बढी बाढीले जोखिम रहेको पालिका झापा गाउँपालिका भएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल बताउनुहुन्छ ।
लगातारको वर्षाका कारण थप गाउँहरू समेत जोखिममा रहेको र खोला तटीय क्षेत्रमा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा सार्न थालिएको सशस्त्र प्रहरी बल बीओपी टाघनडुब्बाका सशस्त्र प्रहरी निरीक्षक सचिन प्रधानले बताउनुभयो । सो क्षेत्र आसपासका वासिन्दालाई चुरे तथा पहाडी क्षेत्रमा भारी वर्षा भएकाले सचेत रहन भन्दै विभिन्न सञ्चारमाध्यम र मोबाइल एसएमएसबाट सर्वसाधारणलाई सचेत गराइएको थियो ।
झापा गाउँपालिकामा बिरिङ खोलाले बगाउँदा शनिबार साँझ एकजनाको मृत्यु भएको छ । झापा गाउँपालिका-५ निवासी ३५ वर्षीय राजेश गणेशको खोलाले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय कुमरखोदले जनाएको छ ।
मृतक गणेश छिमेकीको काजकृयामा सहभागी हुन खोला गएको र खोलामा नुवाउने क्रममा गणेशलाई खोलाले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । उनको शव केही किलोमिटर तल बाह्रदशी गाउँपालिकामा फेला परेको थियो ।
यता कनकाई नदीको बाढी बस्तीमा पस्दा गौरीगञ्ज गाउँपालिका-१ होकलाबारीमा ३० घर डुबानमा परेका छन् ।
कनकाईको बाढी नदी किनारको बाँध ओभरफ्लो भई बस्तीमा पसेको हो । बाढीले बस्तीसम्म जाने बाटोसमेत अवरुद्ध भएकाले उद्दार टोली पुग्न कठिनाइ भइरहेको जिल्ला प्रहरीका डीएसपी राकेश थापाले जानकारी दिनुभयो । यसैगरी, कनकाई नदीको बाढीले शिवसताक्षी–६ पुरानो शिवगञ्ज बजारका १० घर डुबानमा पारेको छ । नदी किनारको बाँध फुटाएर बाढी बस्तीतर्फ बस्दा १० घरका सबै सदस्यलाई सुरक्षित स्थानमा सारेको वडाध्यक्ष मनोज खुलालले बताउनुभयो । पानी परिरहेकाले थप १५० घर डुबानको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो ।
यसैबीच, कनकाई माई खोलाको धार परिवर्तन गरी गाउँमा कटान लाग्दा शिवसताक्षी नगरपालिका १० माइधारका नाै घर विस्थापित भएका छन भने उनीहरू सबैको घर बाढी कटानका कारण भत्काउनुपरेको शिवसताक्षी वडा नम्बर १० का वार्डअध्यक्ष कर्णबहादुर थापाले बताउँनुभयो । उनीहरू सबैलाई विभिन्न संघसंस्थाको सहयोगमा खाना खुवाउने काम भइरहेको थापाले बताउनुभयो ।
यता लगातारको अविरल वर्षासँगै आएको पालिया खोलाको बाढीले मेचीनगर–७ का नाै घर परिवार विस्थापित भएका छन् ।
पालिया खोलाको बाढीले मेचीनगर–७ स्थित सिद्वार्थ टोलका सुदिप सरकार, सोनु राजवंशी, जयप्रकाश शर्मा, मदन खड्का, नगेन्द्र मुखिया, प्रेमबहादुर थापा, सरिता सुनुवार, निर्मला परियार र पप्पु शर्माका नाै घर परिवार विस्थापित भएका हुन् ।
एक हप्तादेखि आएको पानीले उनीहरूको घर पूरै डुवानमा परेकाले शनिबार राति ९ बजे नगरपालिका र प्रहरीको सहयोगमा प्यारीभिट्टाको बसपार्कमा सारिएको थियो ।
बाढीले उक्त परिवारलाई थप जोखिम नहोस् भनेर मेचीनगर नगरपालिका र प्रहरीको सहयोगमा नाै घर परिवारका ४२ जनालाई रातिनै प्यारीभिट्टाको बसपार्कमा सारिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी राजेन्द्र पोखरेलले बताउनुभयो ।