बेलिना थापा
लमजुङ, असार ३० गते । बाढीपहिरोले लमजुङका १४६ घरपरिवार विस्थापित भएका छन् । आइतबार रातिदेखि निरन्तर परेको बर्षाका कारण घर डुवाउन र भत्काउन थालेपछि १४६ घरपरिवार विस्थापित भएका हुन् । ५ सय ७४ जना प्रभावित भएका छन् । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार मध्यनेपाल नगरपालिकामा मात्रै १ सय ९ घर विस्थापित भएका छन् । ति घरपरिवारका ४0७ जना विस्थापित भएको उहाँले बताउनुभयो ।
मध्यनेपाल नगरपालिकासंगै मस्र्याङदी गाउँपालिका, दोर्दी गाउँपालिका, क्व्होलासोंथर गाउँपालिका, बेंसीशहर नगरपालिकाका ३७ घरका १ सय ६७ जना विस्थापित भएका छन् । स्थानीयका अनुसार केहीको घर डुबाएको छ । केहीको घर भत्केको छ । केहीको घर बाढीपहिरोको उच्च जोखिममा परेको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाका अनुसार सबैभन्दा बढी क्षती मध्यनेपालमा भएको छ । मध्यनेपालको वडा नम्बर ६ रानीपानीको ३१ घरका १ सय १९ घर विस्थापित भएका छन् । ६ लामासोतीको २७ घरका १ सय ११ जना, ६ भदौरेका ११ घरका ३५ जना विस्थापित भएका छन् । यस्तै, मध्यनेपाल नगरपालिका ९ रातामाटेका २१ घरका ८५ जना, ६ को
मध्यनेपाल नगरपालिका ३ सूर्यपालका ५ घरका २४ जना, २ को पराजुलीटारका ३ घरका २० जना, ४ को चर्दीका १ घरको ३ जना, ६ को गुम्बाबेंसीको ९ घरका ४ जना, वडा नम्बर १ खवासगाउँका १ घरका ६ जना गरी १ सय ९ घरका ४ सय ७ जना छिमेकी, इष्टमित्र र विद्यालयमा स्थानान्तरण भएका छन् ।
मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेका अनुसार बाढीपहिरोले डुवानमा परेका र घर भत्केर बस्न नमिलेका नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । केही विद्यालय भवनमा बस्न नमानेपछि आफन्तकोमा गएर बसेको उहाँले बताउनुभयो । वडा नम्बर ६ का अध्यक्ष विष्णुभक्त पौडेलका अनुसार नगरपालिकाभित्रमा सबैभन्दा बढी वडा नम्बर ६ मा क्षति भएको छ । गाउँ माथिबाट आएको पहिरोेले वस्ती जोखिममा परोपछि वस्ती नै स्थानान्तरण गरिएको छ ।
राति परेको पानी र भल तर्काउन गाउँले घरबाट बाहिर निस्केको बेला सोमबार विहान ६ बजेतिर गाउँमाथिबाट चिराचिरा परेर पहिरो आएको र स्थानीयले पहिरो आएको थाहा पाउने वित्तिकै भागेका थिए । समयमै भाग्न सफल भएका कारण मानवीय क्षति नभएको उहाँले बताउनुभयो । वडामा मात्रै ५१ घर प्रभावित भएको र ३२ घरका स्थानीय इशानेश्वर माध्यमिक विद्यालयमा आएर बसेका छन् । अन्य इष्टमित्र र आफन्तकोमा बसेका छन् ।
यस्तै, दोर्दी गाउँपालिका ६ को १६ घरका ७२ जना, बेंसीशहर नगरपाकिला ११ चितिको २ घरका ११ जना, क्व्होलासोंथर गाउँपालिका ३ बगुमका १ घरको ३ जना, ७ भोजेंको ५ घरका २३ जना, ८ को २ घरको ६ जना विस्थापित भएका छन् ।
मस्र्याङदी गाउँपालिका ८ भुलभुलेको २ घरका ७ जना, ९ सिम्पानीको २ घरका १७ जना, वडा नम्बर २ घनपोखराको १ घरका ९ जना, बेंसीशहर नगरपालिका ७ का १ घरका ३ जना, बेंसीशहर नगरपालिका १० को १ घरका ६ जना र दोर्दी गाउँपालिका ८ को ४ घरका १० जना विस्थापित भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा पशु चौपायमा पनि क्षति पुगेपनि तथ्यांक आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।