logo
२०८२ भाद्र १२ बिहीवार



दश वर्षमा पनि बनेन कमला नदीमा पुल

फिचर |
खुला |


दश वर्षमा पनि बनेन कमला नदीमा पुल
मदन भण्डारी लोकमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिकास्थित कमला नदीमा निर्माणाधिन पुल । तस्बिर - बाबुराम देवकोटा, सिन्धुली


बाबुराम देवकोटा
सिन्धुलीमाढी, असार ३१ गते । मदन भण्डारी लोकमार्ग अन्तर्गत सिन्धुलीको कमला नदीमा १० वर्षअघि निर्माण सुरु भएको पक्की पुल अझै सम्पन्न हुन सकेको छैन । कमला नदीमा निर्माणाधीन पुल समयमा नै सम्पन्न नहुँदा दुधौली नगरपालिका–२ रतनपुरका बासिन्दा जोखिम मोलर बाढीमा हेलिएर नदी वारपार गर्न बाध्य छन् । बर्सादकाे  समयमा कमला नदी वारपार गर्दा पाइने हैरानीबाट दिक्क भएका स्थानीय पुलका पिल्लरहरू हेरेर चित्त बुझाउँदै आएका छन् ।

स्थानीयका अनुसार समयमा पुल निर्माण सम्पन्न नहुँदा पुलका पिल्लरहरू धसिँदैगएका छन् । देशैभरि काम नगरेर चर्चा कमाएको पप्पु कन्स्ट्रक्सन र लुम्बिनी निर्माण सेवा जेभीले उक्त पुलको निर्माण गर्ने ठेक्का पाएका थिए । पप्पुको तीव्र विरोध भएपछि जेभीमै रहेको लुम्बिनीले काम थालेको थियो । धीमा गतिमा पुलको काम हुँदा निर्माण सम्पन्न कहिले हुने, कुनै टुङ्गो नभएको स्थानीय रेखराज दाहालले दुःखेसो पोख्नुभयो ।

उहाँका अनुसार तामझामका साथ भएको पक्की पुलले कमला पारिका बासिन्दालाई हर्षित बनाएको थियो । तर यतिका वर्षसम्म पनि पुलको काम आधा पनि सकिएको छैन । विश्व बैङ्कको सहयोगमा ३२ करोडको लागतमा निर्माण सुरु भएको ५४६ मिटर लम्बाइको उक्त पुलको पिल्लरको काम सकिएको सात वर्ष बितिसकेको छ ।

हेटौँडा—सिन्धुली—गाईघाट—चतरा (मदन भण्डारी लोकमार्ग) वैकल्पिक सडक खण्डअन्तर्गत पर्ने उक्त पुल दोहोरो लेनको छ । दुधौली नगरपालिका प्रमुख घनश्याम राउत निर्माण कम्पनीलाई ताकेता गर्दा–गर्दा आजित भएको बताउनुहुन्छ । ‘एउटाले काम गरेन भनेर अर्कालाइ जिम्मा दिएको, कामको गति उस्तै छ,’ उहाँले भन्नुभयोे, ‘हामीले अब एक वर्षभित्रमा सम्पन्न गर्न भनेका छौँ ।’

सडक आयोजनाका अनुसार २०७३ साल असार २८ गतेसम्ममा निर्माण सम्पन्न गर्ने गरी पप्पु–लुम्बिनी जेभीले २०६८ असार ३१ गते सम्झौता गरेको थियो । उनीहरूको आन्तरिक सहमति अनुसार उक्त पुल निर्माण भने पप्पु कन्ट्रक्सनले एक्लै गर्दै आएको थियो । पप्पुले तोकिएको समयमा पुल निर्माण नसकी अलपत्र बनाएपछि जेभीमै रहेको लुम्बिनी कन्ट्रक्सनले पुल बनाउने जिम्मा लिएको थियो ।

लुम्बिनी कन्ट्रक्सनका शङकर राउतका अनुसार पुल निर्माणको काम अहिले ७० प्रतिशत सकिएको छ । लकडाउनको घोषणासँगै भारतबाट ल्याउनु पर्ने निर्माण सामग्री ल्याउन नपाएर अहिले निर्माण कार्य रोकिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कतिपय निर्माण सामग्री भारतमा मात्र पाईन्छ । नेपालमा पाईने निर्माण सामग्री ल्याउन त कुनै गाह्रो छैन । कतिपय निर्माण सामग्री भारतमा मात्र भएकाले काम रोकिएको हो ।’ अब आउने फागुन महिनासम्म निर्माण कार्य सक्ने लक्ष्य रहेको उहाँले सुनाउनुभयो ।

ठेकेदार राउतका अनुसार पुलका १४ वटा स्पान मध्ये छ वटाको काम सकिएको छ । दुई वटा स्पानको आधा मात्रै काम भएको छ । अरु छ वटा स्पानमा भने काम नै सुरु भएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?