logo
२०८२ भाद्र १२ बिहीवार



लमजुङमा जीप दुर्घटना हुँदा सात जना घाइते, एकको अवस्था गम्भीर

फिचर |
खुला |


लमजुङमा जीप दुर्घटना हुँदा सात जना घाइते, एकको अवस्था गम्भीर


बेलिना थापा
लमजुङ, साउन ३ गते । लमजुङको बेंसीशहर नगरपालिका-१, गाईखुरे झरनानजिकै शनिबार साँझ ६ बजेतिर जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । गाईखुरे झरनाबाट फर्कने क्रममा ग ३ च १५२५ नम्बरको बोलेरो जीप सडकबाट खसेर दुर्घटना हुँदा बेंसीशहर नगरपालिका-८, नारायणस्थानमा बस्दैआएका ४२ वर्षीय बालकृष्ण श्रेष्ठ लगायत उहाँका परिवारका पाँच जना, छिमेकी र आफन्तका दुई जना घाइते भएका छन् । बालकृष्णले चलाएको उक्त जीप सडकबाट करिब १५ मिटर तल खस्दा उहाँकी श्रीमती ३५ वर्षीया सीता श्रेष्ठ गम्भीर घाइते हुनुभएको छ ।
प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाका अनुसार गम्भीर घाइते सीतालाई लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार हुन नसकी पुरानो मेडिकल कलेज चितवन रिफर गरिएको छ । घाइते हुनेमा बालकृष्णका छ बर्षीय छोरा विनायक श्रेष्ठ, १३ वर्षीया छोरी स्मृति श्रेष्ठ, ११ वर्षीया छोरी स्नेह श्रेष्ठ, बालकृष्णका भाइको छोरा आठ वर्षीय युनिक श्रेष्ठ र छिमेकी गोविन्द श्रेष्ठको छोरी १३ वर्षीया स्मृति श्रेष्ठ रहेका छन् । घाइते पाँच जनाको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको र घाइते बालकृष्ण श्रीमती सीतासँगै उपचारको लागि चितवन गएको प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताउनुभयो ।
शनिबारको दिन गाईखुरे झरनामा परिवारसहित घुमेर फर्कने क्रममा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । घुम्तीमा मोड्ने क्रममा जीपको चक्काले ठाउँ छोड्दा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?