जयकृष्ण यादव
इनरुवा, साउन २९ गते । सुनसरीमा पछिल्लो केही दिनयता समुदायमा कोरोनाको सङ्क्रमण फैलिएको छ । सुनसरी र मोरङको प्रदेश र निकासद्वारको रुपमा रहेको इटहरीमा समुदाय स्तरमा कोरोना सङ्क्रमित बढ्न थालेको छ । सर्वसाधारणकै अटेरीका कारण समुदायमा कोरोना फैलिएको दाबी गरिएको छ । समुदायमा कोरोना सङ्क्रमित भेटिन थालेपछि सम्बन्धित स्थानीय तहले आफ्नो पालिकामा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रतिनिधिहरूको बैठकबाट निषेधाज्ञा गर्ने निर्णय गरे पनि अधिकांश व्यापारीहरूले निर्णय मानेका छैनन् । त्योसँगै सर्वसाधारणहरू पनि लखरलखर प्रहरीको आँखा छल्दै हिँड्ने क्रम रोकिएको छैन ।
लकडाउन शुरु भएपश्चात् पनि सडक बजारमा भिडभाड बढेको भन्दै इटहरीकी उपप्रमुख लक्ष्मी गौतमले गुनासो गर्नुभयो । सर्वसाधारण र व्यापारीले अटेर गर्दा कोरोना समुदायमा फैलिँदै गएको बताएकी हुन् । बारम्बार आग्रह गर्दा पनि अटेरीपन देखाउँदा समस्या बढ्दै गएको उपमेयरको भनाइ छ । इटहरीमा जारी लकडाउनमा सबै उद्योग कलकारखाना तथा व्यवसायिक प्रतिष्ठानहरू बाहिरबाट बन्द गरे पनि भित्री रुपमा खोल्दा थप जोखिम बढ्न थालेको छ । अहिले इटहरीमा कोरोना सङ्क्रमणको दर बढ्दैगएको छ । कोरोना परीक्षण गर्न पीसीआर दिएर पनि हिँड्नाले थप जोखिम बढाएको छ ।
इटहरीमा चिया पसलदेखि बैङ्क तथा वित्तीय संस्थाहरू भन्ने खुल्लै रहेको पाइएको छ । स्थानीय तहको लकडाउन गर्ने निर्णयको अबज्ञा गर्दै इटहरीका प्रायः बैङ्कहरूले कर्मचारी बोलाएर आफ्नो गतिविधि जारी राखेका छन् । कोरोना सङ्क्रमण रोक्न भन्दै गरिएको लकडाउनमा बैङ्कहरू खुल्लै रहदा बैङ्कमा कार्यरत कर्मचारीहरू भने उच्च जोखिममा परेका छन् । जिल्लाभर लकडाउन भई निषेधाज्ञासमेत जारी भएको अवस्थामा बैङ्क तथा वित्तीय संस्थाहरूले कर्मचारी बोलाई आफ्नो गतिविधि जारी राखेका छन् ।
इटहरी उपमहानगरपालिकाले समेत वडा कार्यालयहरू खुल्ला गरेर काम गराइरहेको छ । आफ्नै निर्णयविपरीत उपमहानगरले कर्मचारीलाई बोलाएर काम गराइरहेको पाइएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न आएकी एक महिलामा कोरोना सङ्क्रमण देखिएपछि उनी बसेको बुद्ध चौकको एक होटल सिल गरिएको छ । उदयपुरबाट आन्द्राको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आइपुगेकी २३ वर्षीय महिलामा बुधबार आन्द्राको शल्यक्रिया गर्नुपूर्व पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएपछि उनी बसेको होटल सिल गरिएको धरान १८ का वडाध्यक्ष प्रवीण राईले बताउनुभयो । बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बुद्ध चौकमा रहेको एक होटेललाई स्वास्थ्य सुरक्षाको हिसाबले सिल गरिएको र बिरामीलाई बीपीको आइसोलेसनमा भर्नाका लागि पठाइएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताउनुभयो ।
बुद्धचौक क्षेत्रको होटेलमा गएको साउन २१ गतेदेखि सङ्क्रमित महिला बसेको हुनाले होटेल सञ्चालकसहित ८ जनाको बिहीबार स्वाब लिएको छ । कोरोना सङ्क्रमित बसेका होटलसहित आसपासका तीन घरमा अहिले स्यानिटाइज गर्नुको साथै सिल गरिएको वडाध्यक्ष राईले बताउनुभयो । सो क्षेत्रमा हिँड्डुलमा कडाइ गर्ने पनि बताइएको छ ।
उता धरान उपमहानगरपालिका-९ का २४ वर्षीय महिला वडा सदस्यमा कोरोना पुष्टि भएको छ । उहाँको साउन २४ गते धरान १५ मा स्वाब सङ्कलन गरेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो । उता दुहबीमा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएकाहरूमा दुहबी नगरपालिका वडा नं. ६ का ६७ वर्षीय महिला, वडा नं. १० का ४२ वर्षीय पुरुष छन् । त्यसैगरी, दङ्गा गण दुहबीका ३५ वर्षीय पुरुष र ३२ वर्षीय पुरुष रहेको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख विन्देशरप्रसाद महतोले बताउनुभयो ।