logo
२०८२ भाद्र १८ बुधवार



भैरहवामा भदौ ५ गतेसम्म बन्दाबन्दी

फिचर |
खुला |


भैरहवामा भदौ ५ गतेसम्म बन्दाबन्दी


लक्ष्मण पौडेल
भैरहवा, साउन ३१ गते । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भदौ ५ गतेसम्म बन्दाबन्दी घोषणा गरेको छ । सिद्धार्थनगर क्षेत्रभित्र कोरोना सङ्क्रमण फैलिँदै गएपछि नगरपालिकाले भैरहवामा भदौ ५ गतेसम्म बन्दाबन्दी घोषणा गरेको हो ।
नगरपालिकाको कोरोना भाइरस उपचार, रोकथाम, नियन्त्रण समितिले शनिबार राति १२ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म सम्पूर्ण नगर क्षेत्रलाई बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।
बन्दाबन्दीको अवधिमा स्वास्थ्य सेवा, दमकल, सरसफाइ तथा अन्य अत्यावश्यक सेवाहरू सञ्चालन हुने नगरप्रमुख हरिप्रसाद अधिकारीले बताउनुभयो । नगरपालिकाका अनुसार स्वास्थ्यसम्बन्धी सबै कार्यहरू, दमकल, विद्युत, सरसफाइ, खानेपानी र अत्यावश्यक सेवा सञ्चालन गर्ने जनप्रतिनिधि, कर्मचारीहरूले प्रयोग गर्ने सवारीसाधनहरूको साथमा परिचय पत्र हुनुपर्नेछ । त्यस्तै, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूधजन्य पदार्थहरूको बिक्री वितरण आवश्यक दूरी कायम गरी बिहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।
त्यसैगरी बैङ्क, वित्तीय संस्था, सहकारी संस्थाहरूले थोरै कर्मचारीमार्फत विद्युतीय माध्यमबाट मात्र सेवा सञ्चालन गर्ने र काउण्टर सर्भिसहरू बन्द गर्नुपर्ने नगरप्रमुख अधिकारीले बताउनुभयो ।
“बन्दाबन्दीको अवधिमा औद्योगिक तथा निर्माणजन्य कार्यमा संलग्न कर्मचारी तथा श्रमिकहरूको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने, सुरक्षा मापदण्ड पालना गराउने दायित्व सम्बन्धित रोजगारदाताको हुने र सोको पालना नभएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही अगाडि बढाइने छ” उहाँले भन्नुभयो ।
बन्दाबन्दी अवधिमा सिद्धार्थ राजमार्ग हुँदै जाने सवारीसाधनहरू नगर क्षेत्रभित्र रोक्न नपाइने र खाद्यजन्य पदार्थको लोड-अनलोड गर्ने ढुवानीका साधनले सुरक्षा अपनाई सुरक्षाकर्मीको रोहवरमा बेलुकी ७ बजेदेखि ११ बजेसम्म गर्ने पाउनेछन् ।
सिद्धार्थनगर क्षेत्रभित्रका नापी, मालपोत, आन्तरिक राजस्व कार्यालय र अन्य सरकारी कार्यालयहरू सम्बन्धित कार्यालय प्रमुखहरूले अत्यावश्यक सेवाका लागि मात्र आवश्यक कर्मचारीहरू मात्र उपस्थित हुने गरी व्यवस्थापन मिलाइने नगरप्रमुख अधिकारीले जानकारी दिनुभयो ।
त्यस्तै बन्दाबन्दीको अवधिमा ठेला, साइकल जस्ता साधन प्रयोग गरी कुनै पनि व्यापार गर्न नपाइने तथा फुटपाथ, सडकपेटी, मायादेवीलगायत हाटबजारमा कुनै पनि वस्तु वा सेवा बिक्री गर्न नपाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले बताउनुभयो । बन्दाबन्दी अवधि सुरु हुनुअघि नै सिद्धार्थनगरमा आउनुपर्ने व्यक्तिहरू आइसक्न र सिद्धार्थनगर छोड्नुपर्ने व्यक्तिहरूले छोडिसक्न नगरपालिकाले आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?