दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन ३१ गते । पर्सामा थप २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको शुक्रबार राति अबेर आएको परीक्षण रिपोर्टअनुसार पर्साका २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले शुक्रबारमा आएको परीक्षण रिपोर्टअनुसार पर्साका २१ जना सङ्क्रमिता देखिएको जसमा वीरगञ्जस्थित उच्च अदालत जनकपुर अस्थायी इजलासको सरकारी वकिल कार्यालयका २८ वर्षका एक जना खरिदार, वीरगञ्ज बसर्पाकको होटल हिमाल एण्ड भान्सा घरमा कार्यरत ३५ वर्षीय एक जना कर्मचारीसमेत रहेको जानकारी दिनुभयो ।
अन्य थपिएका सङ्क्रमितहरूमा वीरगन्ज हेल्थ केयर अस्पतालका दुई जना कर्मचारी, वयोधा अस्पतालका एक जना कर्मचारी र वयोधा अस्पतालमै रहेको खाजा घरका एक जना र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका ५३ वर्षका उपप्रबन्धक रहनुभएको छ ।
त्यस्तै, वीरगञ्ज महानगरपालिका विभिन्न वडाका १३ जना सर्वसाधारण र पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं. ८, हरपुरका २३ वर्षका एकजना पुरुषमा सङ्क्रमण देखिएको मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले जानकारी दिनुभयो ।
शुक्रबार राति थपिएका २१ जनामा सङ्क्रमण पुष्टि भएसँगै पर्सामा सङ्क्रमितको सङ्ख्या एक हजार १८९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय, पर्साले जनाएको छ ।