नवीन शिशिर विक
बागलुङ, साउन ३१ गते । बागलुङमा पहिलो पटक जनप्रतिनिधिलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा भएको स्वास्थ्य परीक्षणमा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गाना र बडिगाड गाउँपालिका–६ का वडाध्यक्ष मौसम क्षत्रीमा सङ्क्रमण पुष्टि भएको हो ।
आन्तरिक तथा बाह्य जिल्लाको बैठक, भेटघाटमा गत दुई सातादेखि सक्रिय जिसस प्रमुख ढुङगानालाई कन्ट्याक्ट ट्रेसिङ र क्वारेन्टिन व्यवस्थापनमा खटिएका वडाध्यक्ष क्षत्री जोखिम क्षेत्रको आधारमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
दुई साताको अवधिमा समन्वय प्रमुख ढुङ्गाना आफ्नो परिवार भेट्न चितवन हुँदै सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय काठमाडाैँ, पोखरामा पुग्नुभएको थियो । मन्त्रालयका सचिवसँग सामान्य भेट भएर फर्केको समन्वय प्रमुखले बताउनुभयो । मन्त्रालयमा बस्ने समय नभएको हुँदा उठेरै कुराकानी गरेर फर्केको उहाँको भनाइ छ ।
लकडाउन भएदेखि नै जिल्लाका विभिन्न क्वारेन्टिन तथा आइसोलसन अनुगमनमा पुगेको थिएँ’ उहाँले भन्नुभयो, ‘अन्तिम समयमा कसरी सङ्क्रमण भयो, पत्तो भएन ।’ सङ्क्रमण पुष्टि भए पनि आफूलाई कुनै लक्षण नभएको उहाँले बताउनुभयो ।
दुवै जना स्वाब सङ्कलनदेखि नै होम क्वारेन्टिनमा बस्दैआएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताउनुभयो । ‘दुवै जना होम क्वारेन्टिनमा रहेकाले थप जोखिम नहुन सक्छ’’ उहाँले भन्नुभयो, ‘अस्पतालको आइसोलेसन बस्ने वा होम आइसोलेसन बस्ने उहाँहरूले निर्णय गर्नुहुन्छ ।’’
जनप्रतिनिधिमा सङ्क्रमण भेटिएपछि जिल्लामा लकडाउन घोषणा गरेर जोखिम क्षेत्रको स्वास्थ्य परीक्षण गर्नुपर्नेमा माग उठ्न थालेको छ । बागलुङमा हालसम्म समुदायस्तरका नौ जनाको सङ्क्रमण भेटिएको छ । जसमा दुई जना जनप्रतिनिधि, चार जना स्वास्थ्यकर्मी, एक जना सुरक्षाकर्मी र दुई जना क्वारेन्टिनका भान्से रहेका छन् ।
जिल्लामा हालसम्म सङ्क्रमितको सङ्ख्या २६५ पुगेको छ । सङ्क्रमितमध्ये २४५ जना निको भएर घर फर्केका छन् भने एक जनाको मृत्यु भएको थियो ।