कन्हैयालाल केशरी
पर्सा, साउन ३२ गते । कोरोनाको उच्च जोखिममा रहेको पर्सा जिल्लामा थप सर्तकता अपनाउन आइतबार दिउँसोदेखि नेपाली सेना परिचालन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले आइतबार दिउँसो २ बजेदेखि भदौ १३ गते राति १२ बजे सम्मका लागि वीरगन्ज महानगरपालिका क्षेत्रभित्र जनपथ प्रहरी र सशस्त्र प्रहरीको सहयोगार्थ सेना परिचालन गर्ने निर्णय भएको बताउनुभएको छ ।
उहाँले पर्सा जिल्ला कोरोनाको उच्च जोखिममा रहेकोले साउन १० गतेदेखि जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा आदेश जारी गरेकोमा सोको अवज्ञा भई सर्वसाधारणहरूको भिडभाड तथा चहलपहल बढ्दै गएपछि नियन्त्रण गर्न तथा कोभिड १९ नियन्त्रण र रोकथामका लागि सेना परिचालन गरिएको बताउनुभयो ।
पर्सा जिल्लामा साउनयता नारायणी कोभिड अस्पतालमा गरिएको पीसीआर परीक्षणमा प्रत्येक दिन कोरोना सङ्क्रमितहरूको सङ्ख्या थपिदैँंगएको र कोरोनाबाट २५ जनाको मृत्युसमेत भइसकेको छ ।
यसैबीच, कोरोना सङ्क्रमित भई वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि साउन २२ गते भर्ना भएका वीरगन्ज महानगरपालिका वार्ड न. १३ मुर्लीका ५५ वर्षीय लालबहादुर प्रसाद कलवार कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भइ घर नपुग्दै मृत्यु भएको छ ।
हेल्थ केयरमा उपचार गराइरहेका कलवारको दोस्रो पीसीआर रिपाेर्ट नेगेटिभ आएपछि चिकित्सक उदयनारायण सिंहले शनिबार राति उहाँलाई डिस्चार्ज गरिएकाे बताउनुभयाे । डिस्चार्ज गरिएका कलवारको स्वास्थ्य अवस्था राम्रो नभएको तर उनी कोरोना सङ्क्रमणमुक्त भइसकेकाले उहाँलाई कोभिड अस्पतालमा राखेर उपचार गर्न ठिक नभएकोले थप उपचारका लागि अन्य अस्पतालमा लगन सुझाव डा. सिंहले उहाँका परिवारजनलाई दिएपछि थप उपचारका लागि नारायणी वयोधा अस्पताल भर्ना गरेको चार घण्टाभित्र उहाँको मृत्यु भएको परिवारजन तथा अस्पताल प्रशासनका विष्णु पटेलले बताउनुभयो ।